+

पलेशाले नेपाललाई दिएको उपहार

२०८१ भदौ  १९ गते २१:२७ २०८१ भदौ १९ गते २१:२७
पलेशाले नेपाललाई दिएको उपहार

१९ भदौ, काठमाडौं । बुधबार पारालिम्पिकबाट कांस्यपदक सहित नेपाल फर्किएकी पलेशाको स्वगतमा हजारौंको भिड एयरपोर्ट पुगेको थियो ।

उनी स्वदेश फर्किदा एयरपोर्टमास्वागतका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी राखेप सदस्य सचिव टंकलाल घिसिङ, सञ्चार माध्यम र सर्वसाधारणको लर्को थियो । ‘यति धेरै मान्छेहरु, क्यामेराहरु ममाथि थियो । मलाई एकदमै सेलिब्रेटी जस्तो अनुभव भयो’, उनले भनिन् ।

नेपाल सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन थियो । यसपटक पलेशाले कांस्य पदकको उपहार दिइन् ।

पलेशा सन् २०२० को टोकियो ओलम्पिकमा नै पदक आशा गरेको खेलाडी थिइन् । त्यसबेला दुई वाउट जितेर पनि पदक जित्नबाट वञ्चित भइन् । यसपटक भने उनले पदक जित्ने आशा राखेकी थिइन् ।

पलेशाले पेरिस पारालिम्पिकको आफ्नो पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।

क्वार्टरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग ८–६ को अग्रता बचाउन नसक्दा स्वर्ण सम्भावना सकियो । पर्नान्डेजले बडी किकबाट लगातार चार अंक जोडेपछि पलेशा १०–८ ले पराजित हुन पुगेकी थिइन् ।

कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा उनले सर्बियाकी खेलाडीसँग एक समय ७–७ को बराबरी अवस्थाबाट पलेशा ८–७ ले पछि परेकी थिइन् ।

पलेशा ८–७ ले पछि पर्दा खेल सकिन ४९ सेकेन्ड बाँकी थियो । खेल सकिन २२ सेकेन्ड बाँकी रहँदा ११–८ को अग्रता बनाएकी उनले १५–८ ले जित्दै इतिहास रचेकी थिइन् ।

उनले चीनको हाङजाउमा भएको पारा एसियन गेम्समा कास्य पदक जितेकी थिइन् । चीनमा आर्किटेक्चर इन्जिनियरिङ पढ्दै गर्दा रातिको १०/११ बजेसम्म उनले प्रशिक्षण गर्थिन् । प्रशिक्षणको फल नै आज ओलम्पिक पदक जितेको उनले बताइन् ।

‘मैले एसियन गेम्समा कांस्य जित्दा मान्छेहरुले मलाई पेरिसमा पनि पदकको आश गर्छन् भन्ने थाहा थियो’, उनले भनिन् ।

पेरिस पारालिम्पिकमा स्वर्ण पदक जित्ने आशा राखेकी उनले सानो कमजोरीले जित्न नसकेको बताइन् । ‘क्वार्टरफाइनलमा सानो ग्यापले गर्दा मैले स्वर्ण जित्न सकिन’, उनी भन्छिन्, ‘मैले एक्लै प्रशिक्षण गरेर पनि मैले गरिरहेको छु । मैले मेरो देशलाई गौरवान्वित महसुस गराइरहेको छु ।’

पढाइ कि खेलकुद ?

खेलाडीको जीवनमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको खेल जीवन र पढाइलाई सँगै मिलाएर लैजानु पर्ने बाध्यता हो । चीनमा आर्किटेक्चर इन्जिनियरिङ पढिरहेकी पलेशाले पेरिस ओलम्पिकका लागि ६ महिना मेहनत गरेकी छिन् । उनी पढाइमा पनि निकै अब्बल छिन् ।

‘पढाइ र खेलकुदलाई सँगै लान एकदमै लामो सोच्नुपर्छ, असम्भव भने छैन अब झन् जिम्मेवारी थपिएको छ । अर्को पटक अब स्वर्ण नै ल्याउने हो कि भनेर आश गर्नु भएको छ । म पनि निकै डिटरमिन (संकल्पिकत) छु’, पलेशाले भनिन् ।
‘मेरो लागि सबैथोक त्यही नै थियो ।’

ओलम्पिकमा कास्य पदक जित्नु नेपालका लागि ऐतिहासिक थियो । अन्तिम खेलमा उनले जितेपछि कसरी खुशी मनाउने भन्नेबारे पनि सोचिसकेकी थिइन् । ‘जितेपछि जब गुरु उफ्रदै झण्डा लिएर आउनुभयो । त्यो मेरो लागि सबैथोक थियो । मेरो सपना थियो’, उनले भनिन् ।

पलेशा अबको दुई महिनापछि चीन फर्किनेछिन् र त्यहीँ पढाइसँगै खेललाई पनि निरन्तरता दिनेछिन् ।

स्वागतले बाबु दंग

काठमाडौंको बागबजारका प्रदीप गोवर्द्धन छोरीले ओलम्पिकमा पदक जितेपछि निकै खुशी छन् । छोरीले बुधबार स्वदेश फर्किँदा पाएको सम्मानले उनी दंग परे ।

‘यस्तो स्वागतमा म अहिलेसम्म आएकै थिइनँ । पहिलो पटक यस्तो भएको हो । झन् आफ्नो छोरीको भव्य स्वागत देख्दा निकै खुसी लागेको छ’, उनले अनलाइनखबरसँग भने ।

खेलकुद पलेशा गोवर्द्धन
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय