+
+

पाँचथर बम विस्फोट : घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २० गते ७:५५
घाइतेलाई काठमाडौं ल्याउँदै ।

२० भदौ, विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बम विस्फोटमा परी घाइते भएका बालकहरुलाई अधिकारकर्मीको पहलमा उपचारका लागि काठमाडौं पठाइएको छ । बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।

यसअघि बम विष्फोटमा घाइते भएका पवन राई र दिप्सन राईलाई उपचार गर्न कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । ती अस्पतालले काठमाडौं जान भने पनि उपचार खर्च अभावमा अभिभावकले फर्काएर फिदिममै लगेका थिए । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो ।

मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले उनीहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाएका हुन् ।

गत बिहीबार फालेलुङ गाउँपालिकाको डाडागाउँमा द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाई वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । उनीहरु दाजु-बहिनी हुन् ।

घाइतेको उपचारमा प्रदेश र संघ सरकारको बेवास्ता

बम विष्फोटमा बालक पवन राई र दिप्सन राई घाइते भएका थिए । घाइतेमध्ये दिप्सनको अवस्था गम्भीर छ । तर उनीहरुको उपचारमा प्रदेश र संघीय सरकारले चासो दिएको छैन ।

‘कोशी अस्पतालमा चिकित्सकले सिटीस्क्यान गरेर ल्याउनु भनेपछि पवनलाई आमाले फर्काएर फिदिम नै ल्याउनु भएछ, काठमाडौँ लैजानुपर्ने दिप्सनलाई पनि फिदिम नै फर्काइएको रहेछ’ सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘दुबै बालकको अवस्था जटिल देखेपछि उपचारका लागि पठायौं ।’

उनका अनुसार दुबै बालकलाई काठमाडौं विमानस्थलसम्म पुर्‍याउने जिम्मा स्थानीय सरकारले लिएको थियो । फालेलुङ गाउँपालिकाले भद्रपुरदेखि काठमाडौंसम्मको हवाई टिकट काटिदिएको थियो । काठमाडौंको विमानस्थलबाट भने सिविनले उपचारका लागि कीर्तिपुर अस्पतालसम्म पुर्‍याएको छ । प्रदेश र संघ सरकारले भने सहयोग गरेको जानकारी नभएको उनले बताए ।

‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका भोजपुरका प्रकाश राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टेलिफोन गरेर सहयोग गर्ने बचन दिएका थिए । तर पाँचथर बम विष्फोटको घटनाका घाइते र मृतकका परिवारका लागि कुनै कदम नचालेको भन्दै कोशी प्रदेश सरकारको आलोचना भएको छ ।

मृतक दिप्सन र प्रिन्सा सावा ।

दुई जना बालबालिकाको मृत्यु र दुई जना घाइते भएको घटनाका विषयमा सरकारले चासो नदिएको पाँचथरका प्रदेश सांसद तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘संसद बैठकमा मैले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिका लागि कुरा उठाएको छु, सरकारलाई लिखित रुपमा पनि आग्रह गरेको छु,’ उनले भने, ‘तर सरकारले अझै केही गरेको छैन, भाइरलको पछि दौडिरहेको छ । भाइरलको पछाडि सरकार, मन्त्री सांसद सबै लागेका छन् । अरु प्रकाश खोज्नतर्फ लाग्नु पर्ने हो नि, त्यस्ता प्रकाश त कति धेरै होलान् ।’

कोशी सरकारका प्रवक्ता भन्छन्-लिखित रुपमा आउनुपर्छ

कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बम विष्फोटका घाइतेको उपचारका लागि माग भए प्रदेश सरकारले सहयोग गर्ने बताउँछन् ।

तर अहिलेसम्म माग नआएको उनले बताए । ‘राज्यले घाइतेको उपचार गर्छ, तर सिडिओ कार्यालय मार्फत लिखित रुपमा आउनुपर्छ,’ उनले भने, ‘त्यो (बम विस्फोट) डिजास्टर नै हो, मृतकको हकमा क्षतिपूर्ति दिन्छौं ।’

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले भने केही दिन अगाडि नै जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको बैठक बसेर घटना विवरण प्रदेश र संघ सरकारमा पठाएको बताए । प्रदेश र संघ सरकारबाट छिट्टै राहत रकम प्राप्त हुने र पीडित परिवारलाई उपलब्ध गराइने उनले बताए ।

गत बिहीबार फालेलुङ-५ मा माओवादी कार्यकर्ता आइतराज केरुङको घरको आँगनमा सकेट बम विष्फोट भएको थियो । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा बिस्फोट भएको थियो । प्रहरीले बिस्फोट भएको ह्याण्डमेड सकेट बम द्वन्द्वकालको भएको बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?