+
+

मन्त्री अधिकारीलाई सार्वजनिक माफी माग्न सहकारी पीडितको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते ९:१२

२० भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितहरुविरुद्ध दिएको अभिव्यक्तिको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विरोध जनाएको छ ।

बुधबार सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले बैंकबाट सस्तोमा ऋण लिएर सहकारीबाट महँगो ब्याज खानेहरु आन्दोलनमा रहेको अभिव्यक्ति दिएका थिए ।

बचत फिर्ताको माग गर्दै १६ महिनादेखि आन्दोलनरत सहकारी पीडितको घाउमा मन्त्री अधिकारीको अभिव्यक्तिले नुन-चुक लगाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको भनाइ छ ।

अभियानका अध्यक्ष कुशलभ केसीले मन्त्री अधिकारीको अभिव्यक्ति आपत्तिजनक र भ्रमपूर्ण भएको भन्दै अनलाइनखबरसँग भने, ‘मन्त्रीले पीडितको घाउमा मल्हमपट्टी लाउनुको सट्टा उल्टो नुन, चुक लगाउने र संयमित आन्दोलनकारीहरुलाई उत्तेजित पार्ने खालको अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’

मन्त्री अधिकारीले सहकारी पीडितको मानमर्दन र सहकारी सञ्चालकको संरक्षण गरेको आरोप समेत उनले लगाए । त्यसैले मन्त्री अधिकारीले सार्वजनिक माफी माग्नुपर्ने उनको माग छ । ‘समस्त सहकारी पीडितको मानमर्दन हुने गरी दिएको सार्वजनिक अभिव्यक्ति आपत्तिजनक र खेदजनक छ,’ केसीले भने, ‘सहकारी मन्त्रीज्यूलाई यसको तत्काल खण्डन गरी सार्वजनिक माफी माग्न र सम्झौता कार्यान्वयन गर्न सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ आह्वान गर्न चाहन्छ ।’

मन्त्री अधिकारीले बुधबार बिहान रेडियो अन्तर्वार्तामा पनि सहकारी पीडितको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको महासंघको गुनासो छ । मन्त्री अधिकारीले एउटा बाहेक सबै माग सम्बोधन भई कार्यान्वयन भइसकेको, पीडितलाई अरु पक्षले उचालेर र खर्च व्यहोरेर आन्दोलनमा उतारेको, बचत फिर्ताको लागि आफूकहाँ कुनै निवेदन नदिएको, १४५ भन्दा बढी सहकारी आफ्नो जिम्मेवारीमा नपर्ने जस्ता निम्नस्तरको अभिव्यक्ति दिएको महासंघको भनाइ छ ।

आन्दोलनमा हुँदाहुँदै उपचार नपाएर मृत्युवरण गरेको र बचत फिर्ता नपाएर आत्महत्या गरेको जस्तो मानवीय संवेदनशिल विषयमा मन्त्री अधिकारी हलुका पाराले प्रस्तुत भएको र आफ्नै रोहबरमा ६ महिना अगाडि भएको सम्झौताको एउटा बुँदा पनि कार्यान्वयन नभएको अवस्थामा मन्त्रीले झुठ बोलेको महासंघका अध्यक्ष केसीले बताए ।

उनले यही भदौ २३ गतेका लागि तय भएको पूर्वनिर्धारित विरोध कार्यक्रम यथावत रहेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?