+
+

प्रचण्डको अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना भयो : महासचिव पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १४:०५

२० भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असंसदीय र अराजनीतिक अभिव्यक्तिले तनाव सिर्जना गरेको आरोप लगाएका छन् ।

सुर्खेत विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पोख्रेलले सत्ताबाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलंका र बङ्गलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष प्रचण्डबाट अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेताको असंसदीय र अराजनीतिक अभिव्यक्ति दिंदा मुलुकको राजनीतिमा एक खालको तनाव सिर्जना भएको छ ।’

उनले प्रतिपक्षको भूमिकामा रहेका माओवादी अध्यक्ष प्रचण्डले संवेदनशीलता र संसदीय मर्यादाको ख्याल नगरेको बताए । ‘प्रतिपक्षीले श्रीलंका र बङ्गलादेशको उदाहरण दिंदै त्यो दिशातर्फ डोर्‍याउन खोज्नु अत्यन्त गैरजिम्मेवार कुरा हो,’ पोख्रेलले भने, ‘यसरी अभिव्यक्ति दिंदै हिंड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मूल्यमान्यतामा ध्यान दिनु जरुरी छ ।’

महासचिव पोख्रेलले आफ्नो आशय देशमा दुई दलीय व्यवस्था नभई फरक विचारका दुई ठुला दल भए पुग्छ भन्ने रहेको बताए । तर, कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत भने नगरेको बताए । ‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन, मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरू दल खोल्न नपाइने हो र ? तर, दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’ उनले भने ।

लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै महासचिव पोख्रेलले त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दाबी समेत गरे ।

युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको समेत उल्लेख गरे । ‘तर, तीनै तहका सरकारले काम गर्दै निराशालाई चिर्न राज्य तयार हुनुपछर्,’ उनले भने ।

साथै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताए । ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ,’ उनले भने, ‘यो हाम्रो लागि सबैभन्दा ठुलो चुनौतीको विषय बन्दै छ ।’

पोख्रेलले संविधान सुदृढ गर्नका लागि सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्ने कुरामा एमाले सकारात्मक रहेको बताए ।

पछिल्लो समय समानुपातिक प्रणालीका विषयमा शंका गर्दै भ्रम सिर्जना भएको बताउँदै उनले नेकपा एमाले समानुपातिक तथा समावेशितालाई यथावत् राखेर स्थायित्व खोज्ने पक्षमा रहेको स्पष्ट पारे ।

अर्को फरक प्रसंगमा, महासचिव पोख्रेलले सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको बताए । ‘उहाँहरूले बाहिर आएर भनेको सुनेका छौं र ? कथा बनाइयो । त्यो सत्य हैन,’ उनले भने ।

कांग्रेसको औपचारिक निर्णय यो समीकरण काँग्रेसको मेहनतको परिणाम भन्ने छ । महामन्त्रीको सहमति विपरीत पार्टीको त्यो निर्णय भएको होला ? पत्रकारले सोधेको प्रश्नमा पोख्रेलले प्रतिप्रश्न गर्दै भनेका थिए ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले सांसद रेखा शर्माको विषयमा उठाएको कुरालाई पार्टीले निर्णय नगर्ने बताए । ‘एक जना मेयरले आरोप लगाउँदैमा सबै सकिन्छ भन्ने होइन, यसमा अदालत छ, अरू निकाय छन् । उनीहरूले प्रमाणका आधारमा फैसला गर्छन्,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सांसद शर्माले घरमा बाल मजदुर राखेको भन्दै कानुनी दायरामा ल्याउन आग्रहसहितको फेसबुक स्ट्याटस लेखेका थिए । अहिले यो विषय सामाजिक सञ्जालमा पेचिलो बनेको छ ।

काठमाडौंका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच किन टकराब भइरहेको छ भन्ने पत्रकारको जिज्ञासामा महासचिव पोख्रेलले भने उक्त विषय प्रधानमन्त्रीसँग जोड्न आवश्यक नभएको बताए । ‘एउटा मेयरले लगाएको आरोपका विषयमा खासै बोल्न आवश्यक छैन । सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले यसको जवाफ दिनुपर्छ भन्ने छैन,’ उनले भने ।

महासचिव पोख्रेल एमाले कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?