+

नेपाली फुटबलमा खेल न प्रशिक्षक

२०८१ भदौ  २० गते १२:३७ २०८१ भदौ २० गते १२:३७
नेपाली फुटबलमा खेल न प्रशिक्षक

२० भदौ, काठमाडौं । नेपालको पुरुष फुटबल टिमले पछिल्लो पटक विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेल यमनविरुद्ध साउदी अरेबियामा खेलेको थियो ।

जुलाई १२ (जेठ ३० गते ) भएको उक्त खेलमा नेपाललले लामो समयको गोलको खडेरी तोड्दै दुई गोल गरेको थियो भने कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालका लागि १०० औं क्याप जितेका थिए ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणबाटै बाहिरिसकेको छ । तर नेपालले सन् २०२७ मा हुने एएफसी एसियन कपको लागि तेस्रो चरणको छनोट खेल्न पाउनेछ । तेस्रो चरणको छनोटको खेल २०२५ मार्च अर्थात् चैतमा हुनेछ ।

त्यसअघि नेपालको पुरुष फुटबल टिमको कुनै आधिकारिक प्रतियोगिता छैन । तर फिफाले आधिकारिक प्रतियोगिताबाहेक पनि मैत्रीपूर्ण खेलहरुका लागि विभिन्न समयमा फिफा विन्डो छुट्याउने गर्छ । जसले गर्दा फिफाका सदस्य राष्ट्रहरुले मैत्रीपूर्ण खेलहरु खेल्ने अवसर पाउँछन् । कुनै देशले दुई वटा सम्म मैत्रीपूर्ण खेल खेल्छन् । कुनैले तीन देश समावेश गरेर थ्री नेसन्स कप फुटबल गर्छन् ।

तर नेपालको भने सेप्टेम्बर विन्डो अर्थात् सेप्टेम्बर महिनामा कुनै खेल खेल्ने तालिका छैन ।

फिफा सेप्टेम्बरका लागि ४ देखि २० तारिखसम्मको मिति छुट्याएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो मितिमा नेपालको कुनै खेल नहुने जनाएको छ ।

मैदानभित्र भन्दा मैदान बाहिरको खेलमा व्यस्त भएको एन्फाले सेप्टेम्बर विन्डोलाई सदुपयोग गर्न नचाहेको वा नसकेको भन्नेबारे एन्फा पदाधिकारीले समेत स्पष्ट जवाफ दिन सकेका छैनन् ।

अहिले दक्षिण एसियाका केही राष्ट्रहरु मैत्रीपूर्ण देखि देखि एएफसी एसियन कप क्वालिफाइङ प्ले राउण्डको खेलमा व्यस्त हुँदा नेपालको खेल भने कहिले होला भन्ने प्रश्न उब्जिएको छ ।

केही समयअघि दशरथ रंगशालमा भएको एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत भुटानको पारोविरुद्धको खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले खेलेका थियो । त्यही खेल बाहेक पछिल्लो समय अन्य खेल भएको छैन ।

अहिले दक्षिण एसियाका दुई राष्ट्र बंगलादेश र भुटान दुई मैत्रीपूर्ण खेल खेल्दैछन् । उनीहरुको खेल सेप्टेम्बर ५ र ८ मा भुटानमा हुनेछ । यस्तै श्रीलंकाले एएफसी एसियन कप २०२७ को क्वालिफिकेसन प्लेअफ राउण्डमा कम्बोडियासँग दुई खेल सेप्टेम्बर ५ र १० मा खेल्दैछ ।

भारतले सिरिया र मरिसस सम्मिलित इन्टरकन्टिनेन्टल कप खेल्दैछ । तर नेपालको भने कुनै खेल छैन ।

राष्ट्रिय टिम मुख्य प्रशिक्षकविहीन

राष्ट्रिय टिम मुख्य प्रशिक्षकविहीन छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता यमनसँगको खेलपछि नै सकिएको थियो । त्यसपछि उनलाई निरन्तरा दिने वा नयाँ प्रशिक्षक खोज्ने भन्ने एन्फाले निर्णय गरेको थिएन ।

एनेसले नेपालमै बस्न चाहे पनि एन्फाले गत साता बसेको कार्यसमिति बैठकले एनेसको सम्झौता नविकरण नगर्ने निर्णय गर्दै नयाँ प्रव लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

अहिले नेपालको खेल पनि छैन । प्रशिक्षक पनि छैन । मैदानभित्र भन्दा मैदान बाहिरको खेलमा व्यस्त भएको एन्फाले सेप्टेम्बर विन्डोलाई सदुपयोग गर्न नचाहेको वा नसकेको भन्नेबारे एन्फा पदाधिकारीले समेत स्पष्ट जवाफ दिन सकेका छैनन् । महासचिव किरण राई भन्छन्, ‘मैदानको अवस्था र मौसमको अवसथ्का कारण खेल हुन सकेन ।’

नेपालले सेप्टेम्बरमा थ्री नेसन्स कप खेल्ने वा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएपनि त्यसलाई मूर्तरुप दिन सकेन ।

एन्फाकै पदाधिकारी भने एन्फाको स्पष्ट योजना हुन नसक्दा खेल नभएको बताउँछन् । ‘टिमको प्रशिक्षण छैन । योजना छैन । तयारी छैन । मैदानको अवस्था यस्तो छ । कसरी खेल गर्नु ?‘ एन्फाका एक पदाधिकारी भन्छन् ।

एन्फाले देश बाहिर गएर मैत्रीपूर्ण खेल खेल्ने प्रयास गरे पनि सम्भव भएन । अब अक्टोबरमा नेपालमा साफ महिला च्याम्पियनसिप हुँदैछ । दशैँ तिहारको माहोल पनि आउँदैछ । त्यसैले अक्टोरमा पुरुषको खेल हुने सम्भावना कम छ ।

यस्तोमा एन्फाले आगामी नोभेम्बरमा पुरुष टिमको खेल खेलाउने योजना बनाइरहेको छ । ‘सके थ्री नेसन्स कप नसभए मैत्रीपूर्ण खेल खेल्ने योजना छ । त्यसमा पनि सबै राम्रो भए नेपालमै खेल्ने र नभए बाहिर जाने तयारी छ’, एन्फा स्रोतले भन्यो ।

त्यसपछि नेपालको खेल सिधै अर्को वर्ष मार्चमा हुने भएकोले पनि फुटबल खेलाडीलाई लयमै राखिराख्न पनि खेल हुनु जरुरी छ ।

फुर्सदमा खेलाडी

अहिले खेल नहुँदा खेलाडीहरु फुर्सदमा छन् । नेपालमा लिगको परिरामिड पनि राम्रोसँग चलेको छैन । ए डिभिजन लिग यो वर्ष गर्ने भनिएपनि कहिले हुने टुंगो छैन ।

नेपाल सुपर लिगका लागि असोज कात्तिकको मिति छुट्याएपनि हुने सम्भावना न्यून छ । त्यसैले खेलाडीहरु पलायन हुने समस्या पनि उस्तै छ ।

अहिले एन्फाले एन्फा महिला लिग सुरु गरेपनि त्यसले आवश्यक चर्चा पाउन सकको छैन ।

केही समयअघि नेपालमा साफ यू२० च्याम्पियनसिप आयोजना भएको थियो जसमा नेपाल उपविजेता बन्यो । यही सेप्टेम्बरमा भुटानमा साफ यू१७ च्याम्पियनसिप हुँदैछ ।

नेपालको एपीएफ क्लबले केही समयअघि एएपसी वुमन्स च्याम्पियन्स लिग खेल्दै इतिहास बनाएपनि प्रारम्भिक चरणबाट बाहिरियो । अब अक्टोबरमा काठमाडौंमा साफ वुमन्स च्याम्पियनसिप हुने तालिका छ ।

महिला फुटबल गतिविधि भइरहँदा पुरुषतर्फ भने न राष्ट्रिय टिमको खेल छ न त बी डिभिजन ए डिभिजन लिग हुने टुंगो छ ।

नेपाली फुटबल मुख्य प्रशिक्षक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय