
२० भदौ, काठमाडौं । सरकारले रुसमा छात्रवृत्तिमा पढ्न जान लागेका विद्यार्थीसँग जोखिमपूर्ण काममा नलाग्ने प्रतिवद्धता मागेको छ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रुसमा अध्ययन गर्न जान चाहने विद्यार्थी तथा अभिभावकलाई बिहीबार मन्त्रालयमा बोलाएर जोखिमपूर्ण काममा नलाग्ने प्रतिवद्धता माग गरेको हो ।
युद्धग्रस्त देश रुसमा छात्रवृत्तिमा अध्ययन गर्न छनोटमा परेका ४० जना विद्यार्थी तथा अभिभावकले जान दिन अनुरोध गरेपछि मन्त्रालयले प्रतिवद्धता मागेको हो ।
जोखिमपूर्ण र युद्धरत देशमा अध्ययन गर्न जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) माग गरिरहेका विद्यार्थी त्यहाँ गएर जोखिमपूर्ण काममा लागेमा सरकारमाथि लापरबाहीको आरोप लाग्न सक्ने भएकाले प्रतिवद्धता खोजेको शिक्षा सचिव दीपक काफ्लेले बताए ।
अभिभावकहरुले विद्यार्थीलाई जान दिनुपर्ने र उनीहरुको पढाइ अवधिभर नेपाल सरकारले निगरानीमा राख्न र नेपाल फर्कने वातावरण बनाउन अनुरोध गरेका छन् । विद्यार्थीले चाहेको विषय छात्रवृत्तिमा पढ्न पाउनुपर्ने भन्दै पढाइ सकिएछि स्वदेश फर्किने बताएका छन् ।
युद्धरत देशमा पढ्न जान दिदा विद्यार्थीको जीवन जोखिम पर्ने देखिएकोले एनओसी रोकेको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् । ‘विद्यार्थीको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले हामीले एनओसी रोकेको हो, आज जुन खुशी साथ जाँदै हुनुहुन्छ त्यहाँ गएर कोर्समा रहेर फर्कन अनुरोध छ’, बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भनिन् ।
विद्यार्थीलाई एनओसी दिन अभिभावकको अनुमति जरुरी रहेकाले अभिभावकको अनुमति लिन छलफलमा बोलाएको मन्त्री भट्टराईले बताइन् ।
मन्त्रालयले छात्रवृत्तिमा रुस जाने सबै विद्यार्थीका अभिभावकको अनुमति लिएर एनओसी शाखालाई एनओसी जारी गर्न पत्राचार गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4