+
+

सांगठनिक काममा खट्ने गरी कांग्रेसको १०० दिने अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १४:३५

२० भदौ, काठमाडौं। नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश तयार गरेको छ ।

१ असोजबाट सुरु हुने सांगठनिक विशेष अभियान १० पुसमा सकिने छ । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।

अभियान मार्फत जिल्ला पुगेका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक/सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्नुपर्नेछ । संगठनमा भएको विवाद समाधान गर्ने गरी तोकिएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्नुपर्ने हुन्छ ।

स्थानीय सरकार र पार्टीको वीचमा समन्वय हुन नसक्नुको कारण समेत केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गरिदिनु पर्नेछ । संगठन भित्र मुख्य गरी २० जिल्लामा समस्या रहेको नेताहले जानकारी गराएका छन्। जिल्ला अनुसार त्यहाँ भएको समस्या केन्द्रले जानकारी गराएर केन्द्रीय प्रतिनिधिलाई खटाउने भएको छ ।

७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जानकारी गराएको छ । केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ ।

सांगठनिक कमजोरीको पहिचान गरी प्रतिनिधिले आफ्नो तहबाट गर्नसक्ने समाधान निकाल्नु पर्दछ । महामन्त्री गगन थापाका अनुसार जिम्मेवारी लिएर गएको व्यक्तिले सम्बन्धित कार्यसमिति, सभापति वा केन्द्रबाट शीर्ष नेता बोलाएर भएपनि विवाद समाधान गरी फर्कनु पर्दछ ।

‘कतिपय ठाउँमा बैठक समेत बस्न सकेको छैन । एक अर्कामा मुख नहेर्ने अवस्था छ,’ पार्टी बैठकमा महामन्त्री थापाले भनेका थिए,‘तपाई जसले जिल्लामा जाने जिम्मेवारी पाउनुहुन्छ । त्यहाँ गएर बस्नैपर्दछ । विवाद मिलाउने कुरामा लाग्नुपर्दछ ।’

केन्द्रीय प्रतिनिधिले जिल्लामा पुगेर बैठक बसालेपछि मातहतका संरचनामा प्रतिनिधि खटाउने कार्यादेश समेत दिइएको छ । सय दिने अभियान सकेर आउनेले जिल्लागत प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिवेदनमा समावेश गर्नुपर्ने विषयहरुको ढाँचा समेत दिएर प्रतिनिधिलाई जिल्लामा पठाउने कांग्रेसले जानकारी गराएको छ ।

महामन्त्री थापा भन्छन्,‘जिल्लामा यो यो समस्या थियो । यो यो गरेर आएँ । अहिलेको अवस्था यस्तो छ भनेर भन्नसक्नुपर्दछ ।’ सय दिने अभियान सकिएपछि जिल्लाको वस्तुगत अवस्था बारे छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक डाकिने थापाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?