+
+

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

रासस रासस
२०८१ भदौ २० गते १४:५३

२० भदौ, लमजुङ । लमजुङको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी असोज २८ गतेसम्म रहेको छ । तर हालसम्म ७० प्रतिशत मात्रै भौतिक प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।

बागलुङपानीबाट घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ०७८ असोज २९ गतेभित्र सक्नुपर्ने थियो । समयमा ठेकेदारले काम नगरेपछि ०७९ असोज २८ गतेसम्म काम सक्न पहिलो पटक म्याद थपिएको थियो । उक्त समयमा कामले गति लिन नसकेपछि ०८० चैत २२ गते पुनः दोस्रो पटक म्याद थप गरी आगामी असोज २९ गतेभित्र सक्ने सम्झौता भएको थियो ।

पछिल्लो पटक थप गरिएको म्याद सकिन डेढ महिना बाँकी छ । हालसम्मको कार्य प्रगति हेर्दा यसपटक पनि काम सम्पन्न हुने अवस्था छैन । कार्यालयका सब–इञ्जिनियर दीपक देवकोटाका अनुसार सो सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर कालोपत्रमध्ये हालसम्म तीन किलोमिटर सडक कालोपत्र भएको छ ।

‘स्ट्रक्चर’को काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्राभेलको काम बाँकी छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडकमा नाली निर्माण गर्न ३० प्रतिशत बाँकी छ ।

ठेकेदारको लापरबाहीका कारण सो कार्य लामो समय अलपत्र रहेकाले पटक–पटक म्याद थप गर्दासमेत सम्पन्न हुन सकेको छैन । उनका अनुसार छ मिटर चौडाइको कालोपत्र र एक मिटर चौडाइको नाली निर्माण हुनेछ ।

बागलुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र तथा ग्राभेलका लागि ३४ करोड ७७ लाख १४ हजार रुपैयाँमा ठेकेदार कम्पनीले ठेक्का लिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?