+
+

ऋखार मन्दिरको तामा भाँडोमा कहिल्यै सुक्दैन पानी !

रासस रासस
२०८१ भदौ २० गते १६:३४

२० भदौ, म्याग्दी । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटन । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि सुन्दर मन्दिर ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको ऋखार मन्दिर परिसरमा एउटा दमाह आकारको तामाको भाँडोमा पानी जहिल्यै पानी हुन्छ । भाँडोको पानी कहिल्यै पानी नसुक्ने नौलो विशेषता रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्याल दाबी गर्छन् । उनका अनुसार वर्षौँदेखि मन्दिर परिसरमा रहेको उक्त भाँडोमा कतैबाट पनि पानी नराखे पनि भाँडोमा सधैं भरिभराउ हुने गर्दछ ।

पूजाआजा र दर्शनका लागि पुगेका भक्तजनले सोहि भाँडोको पानीलाई पवित्रजलका रुपमा लैजाने गरे पनि भाँडो कहिल्यै नरित्तिने छन्त्यालले दाबी गरे ।

प्राकृतिक सुन्दरताको छटाले भरिएको चार हजार १० मिटर उचाइमा ऋखारको लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ ।

भक्तजन र स्थानीयको पहलमा ऋखार क्षेत्रमा अन्य मन्दिरसमेत निर्माण भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वर, गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला, घ्याँसीखर्क, दुवाडी, पात्लेखर्क हुँदै दुई दिनको यात्रामा ऋखार पुग्न सकिन्छ ।

मुस्कुराइरहेको आँखैमा ठोक्किने हिमाल र हरियालीले सजिएका अग्ला पहाडको सुन्दरताभित्र लुकेको ऋखार ऋषिले तपस्या गरेको प्रसिद्ध तपोभूमिका रुपमा रहेको ऋखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताए ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा अवस्थित रहेकाले वैशाखदेखि असोजसम्म पूजाआजा हुन्छ । ऋखार मन्दिरमा ऋषितर्पणी अर्थात् जनैपूर्णिमाको दिन बिशेष पूजा हुने गरेको छन्त्यालले जानकारी दिए । केही वर्षअघिसम्म कुइनेमंगले आसपासका बासिन्दाको कम चहलपहल हुने ऋखारमा पछिल्लो समय प्रचारप्रसारको कारण जिल्ला बाहिरबाट ठूलो सङ्ख्यामा पर्यटक र भक्तजन आउन थालेको उनको भनाइ छ ।

यस मन्दिरमा पूजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजन बढ्दै गएका छन्त्यालले सुनाए । यहाँ म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, नवलपरासी, काठमाडौँलगायत क्षेत्रबाट भक्तजन पुग्ने गर्छन् । दुर्गम र भौगोलिक रुपमा कठिन क्षेत्र पार गरी ऋखारमा पुगेका भक्तजन र पर्यटकलाई यस क्षेत्रबाट देखिने मनोरम दृष्यले लोभ्याउने गर्दछ ।

पहिलो पटक यहाँ पुग्नुभएका बेनीका दामोदर शर्माले धार्मिक महिमा र प्राकृतिक सुन्दरताले भरिएको ऋखारमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने बताए । उनले यहाँबाट देखिने दृष्यले आफू लोभिएको सुनाए ।

पौराणिक कथाअनुसार संसारको प्रलय भई जलमग्न हुँदा सत्यव्रत राजाले डुङ्गामाथि चढेर सप्तऋषि, महत्वपूर्ण जडिबुटी र आफ्नो सुरक्षा गरेको र कालन्तरमा उनीहरु यही क्षेत्रमा आएर विश्राम गरेको जनविश्वास रहेकोउनको भनाइ छ ।

‘यहाँ रहेको उक्त ढुङ्गालाई प्रयलकालको अवशेषका रुपमा लिने गरिन्छ भने सप्तऋषिको तपस्थली, हिउँले खारिएको ठाउँ र हजारौं फूलहरुले सजिएको रमणीय ठाउँ भएकाले यस क्षेत्रको नाम ऋखार रहनगएको किंवदन्ती छ’, छन्त्यालले भने ।

ऋखार धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताको दृष्टिकोणले पनि पर्यटकीय गन्तव्यको सम्भावनायुक्त ठाउँ रहेको सप्तऋषि युवा क्लबका संरक्षक अंकित पुनले बताए । मनोरम हिमाल, जङ्गली फूलले रंगिएका खर्क, हरियाली डाँडा, छलछल बग्ने झरना, खोलानाला, परम्परागत भेडाबाख्रा र गाईभैँसीको गोठले यस क्षेत्रको पदयात्रामा जाने जो कसैको मन लोभ्याउने उनको भनाइ छ ।

धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले ऋखार संरक्षण समिति गठन गरेर यसको विकास र प्रवर्द्धनको काम गर्दै आएका छन् । स्थानीयको अगुवाई, भक्तजन र समुदायको सहयोग तथा सरोकार भएकाको पहलमा दुवाडी, पात्लेखर्क, बगरखोलामा तिर्थयात्री भवन, ऋखार जाने बाटोमा पुल, पदमार्गलगायत संरचना निर्माणले गरिएको संरक्षक पुनले बताए ।

स्थानीय सरकार कार्यान्वयनमा आएसँगै रघुगंगा गाउँपालिका र वडा नं ८ को कार्यालयले ऋखारलाई धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रचारप्रसार र पूर्वाधार विकासलाई जोड दिएको छ । सरकारी निकाय र संरक्षण समिति, स्थानीय आमा समूह, युवा क्लबको समेत सक्रियता बढेको संरक्षक पुनले बताए ।

उनका अनुसार यहाँका सम्भावना र समस्या पहिचान गरी दीर्घकालीन र तत्कालीन पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउने कार्यलाई वडा कार्यालयले अघि सारेको छ । अप्ठ्यारा ठाउँमा पदमार्ग, खोलामा झोलुङ्गे पुल, प्रयाप्त आश्रयस्थललगायत पर्यटन पूर्वाधार निर्माणसँगै ऋखार हुँदै धवलागिरि हिमालको चेमाली आधार शिविरलाई व्यवस्थित पदमार्गले जोड्न सके यहाँ धार्मिक पर्यटकको आगमन बढाउन सकिने क्लबका संरक्षक पुनको भनाइ छ ।

अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको रघुगंगा–८ कुइनमंगलेको विकासमा ऋखार क्षेत्रको धार्मिक, पर्यटकीय पूर्वाधार विकासले महत्वपूर्ण सहयोग पुर्‍याउने ऋखार संरक्षण समितिका अध्यक्ष छन्त्यालले बताए ।

छन्त्याल समुदायको कला संस्कृति पर्यटकका लागि थप आकर्षक बन्न सक्ने भन्दै उनले यस क्षेत्रको विकासले समग्र रघुगंगा गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?