+
+

निजामती कर्मचारीको एउटा मात्र ट्रेड युनियन राख्न सांसदको जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:२१

२० भदौ, काठमाडौं। सांसदहरूले निजामती कर्मचारीमा एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवासम्बन्धी विधेयकको छलफलमा सांसदहरूले सरकारी कर्मचारीको एउटा मात्र ट्रेड युनियन उपयुक्त हुने बताएका हुन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले ट्रेड युनियन अधिकारको विषयमा फरक–फरक धारणा समितिमा रहेको स्मरण गरे । कोही ट्रेड युनियन राख्नै हुँदैन भन्ने, कोही एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्नुपर्छ भन्ने कोही अहिले भएकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने भन्ने रहेको उनले बताए ।

आफू व्यक्तिगत रुपमा भने एउटा मात्रै ट्रेड युनियन भए पुग्छ भन्ने पक्षमा रहेको सांसद पन्तले बताए । ट्रेड युनियनका विषयमा प्रमुख राजनीतिक दलका बीचमा सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक दलको भातृ संगठनकै रुपमा कर्मचारीको संगठन रहने विषय सुधार गर्नुपर्ने बताए ।

‘दलपिच्छेका कर्मचारी संगठन हुँदा समस्या भएको छ । अहिलेसम्मको अनुभवका आधारमा अब सुधार गर्नुपर्छ । पेशागत हकहितका लागि एउटा साझा संगठन रहने विषयमा सहमति जुटाउन सक्दा राम्रो हुन्छ’ उनले भने ।

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि एउटा मात्रै आधिकारिक संगठन रहनु उचित हुने बताइन् ।

‘दल पिच्छे ट्रेड युनियन छन् । गला किचेको यो ट्रेड युनियनलाई के गर्ने हो छलफल गरौं’, उनले भनिन् ।

प्रस्तावित विधेयकको दफा १३१ मा ट्रेड युनियनसम्बन्धी व्यवस्था छ । जहाँ कर्मचारीहरुको जति पनि ट्रेड युनियन रहन सक्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?