+
+

खानेकुरा अड्किँदा बच्चाको स्वास्थ्य जोखिममा

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ भदौ २० गते १८:५७

२० भदौ, काठमाडौं । घटना १ : भदौ २०८० मा सिन्धुलीकी १८ महिने बालिकामा स्वास चाँडो चाँडो फेर्ने, निरन्तर खोकी लाग्ने समस्या देखियो । अभिभावकले नजिकैको निजी अस्पतालमा लगे ।

निमोनियाको शंका गरेर चिकित्सकले एन्टिबायोटिक औषधि दिए, बच्चालाई पनि सञ्चो भएजस्तो भयो । हिँडडुल पनि गर्न थाल्यो । तर केही दिनमै पुनः समस्या बल्झियो ।

करिब दुई महिनासम्म अभिभावकले विभिन्न अस्पतालमा लगे । कतिपय चिकित्सकले निमोनियाकै शंका गरेर एन्टिबायोटिक औषधि चलाए । तापनि बालिकाको अवस्थामा उल्लेख्य सुधार नभएपछि अभिभावकले काठमाडौंको एक निजी अस्पतालमा देखाए ।

सिटी स्क्यानबाट कारण पत्ता लाग्यो, बालिकाको देब्रे श्वासनलीमा मकैको दाना अड्किएको रहेछ ।

चिकित्सकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरे । उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पतालमा पुग्दा बालिकाको श्वासनली सुन्निएको थियो । सुरुमा श्वासनलीको सुन्निएको अवस्था कम गर्न औषधि दिइयो । दुई दिनपछि ब्रोन्कोस्कोपीको सहायताले सफलतापूर्वक मकैको गेडा निकालियो । बालिकाको स्वास्थ्यमा सुधार आयो ।

घटना २ : चैतमा काठमाडौं जोरपाटीका दुई वर्षका बालक कोठामा खेलौनासँग खेलिरहेका थिए । आमा भान्सामा काम गर्दै थिइन् । खेल्दै गर्दा बालकले खेलौनाको टाउको मुखमा हालेछन्, आमाले भेट्दा बालक अर्धचेत अवस्थामा भेटिए ।

बालकलाई तुरुन्तै कान्ति बाल अस्पताल पुर्‍याइन् । परीक्षणको क्रममा खेलौनाको टाउको श्वासनली र खाने नलीको बीचमा अड्किएर बसेको पत्ता लाग्यो । कान्तिमा निकाल्न सम्भव भएन ।

चिकित्सकले तुरुन्तै पाटन अस्पतालमा रेफर गरे । उपचारमा संलग्न चिकित्सकका अनुसार खेलौना अड्किएका कारण बालकको एकपट्टीको फोक्सो बिग्रिसकेको थियो । अक्सिजन जान नपाएर ब्रेनका नसाहरू मरिसकेका थिए । हात–खुट्टा नचल्ने अवस्थामा पुगिसकेको थियो ।

चिकित्सकले ब्रोन्कोस्कोपीको सहायताले खेलौनाको अड्किएको टुक्रा त निकाले, तर बालकलाई बचाउन सम्भव भएन । ‘निमोनियाको संक्रमण बढ्दै भयो । बालकलाई बचाउन सम्भव भएन’, नाक, कान, घाँटी विभागमा कार्यरत रेजिरेन्ट चिकित्सक विदुर अधिकारीले भने ।

घटना ३ : एक वर्ष अगाडि मुगुका एकै घरका दुई बालबालिका खाटमा खेलिरहेका थिए । खाटमा सिमीका दाना थिए ।

खेल्ने क्रममा सिमीको दाना निलेछन्, बच्चाहरु केहीबेरमै नीला हुन थाले । बोल्न नसक्ने भए, स्वास छिटोछिटो फेर्न थाले ।

अभिभावकले सिमीको दाना अड्किएको हुनसक्ने आंशका गर्दै रातरात नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर पुर्‍याए ।

कलेजका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलका अनुसार सिमीको दाना श्वासनली हुँदै फोक्सोमा पुगेको थियो । ‘अस्पताल आउँदा स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । हामीले सात दिनको लगातार उपचारले निको बनाएर घर फर्कायौं’, उनले भने ।

विशेषगरी २ देखि ६ वर्षसम्मका बालबालिकाहरूमा साना वस्तुहरू निल्ने वा श्वासनलीमा अड्काउने खतरा उच्च रहन्छ । बालबालिकाले कुनै वस्तु निल्ने क्रममा श्वासनली, खानानली तथा फोक्सोमा अड्कियो भने त्यो निकै जोखिम हुन्छ ।

‘यो उमेरका बालबालिका स्वभावैले निकै उत्साहित हुन्छन्’, डा. अधिकारी भन्छन्, ‘उनीहरूको इन्द्रीयहरूको तीव्र विकास भइरहेको हुन्छ र नयाँ वस्तुहरूलाई मुखमा लगेर परीक्षण गर्ने प्रवृत्ति हुन्छ ।’

यस व्यवहारले केही जोखिम निम्त्याउन सक्छ । नाक वा कानमा साना वस्तुहरू अड्काउने, खाना वा अन्य वस्तुहरू निल्ने वा श्वासनलीमा अड्काउने हुन्छ ।

डा. अधिकारीका अनुसार घाँटीमा दुईवटा नली हुन्छन्, श्वासनली र अन्न नली । धेरैजसो चीज अन्ननलीमै अड्किने गर्छ । त्यसमा धेरै जोखिम हुँदैन, त्यो दिसामार्फत निस्कन्छ ।

तर श्वासनलीमा कुनै वस्तु अड्कियो भने श्वासप्रश्वासमा समस्या आउनुका साथै खोकी लाग्ने, निमोनिया हुने साथै अन्य गम्भीर समस्या निम्त्याउन सक्छ । कतिपय बालबालिकाको मृत्यु समेत हुन्छ ।

पहिचान गर्न गाह्रो

पाटन अस्पतालमा मात्रै बालबालिकाले श्वासनलीमा कुनै वस्तु अड्किएका घटना महिना ८–१० वटा आइरहेका हुन्छन् ।

नाक तथा कानमा वस्तु अड्काएर आउनेहरु पनि धेरै हुन्छन् । तर श्वासनलीमा कुनै वस्तु अड्किँदा त्यसले गम्भीर समस्या निम्त्याउने नाक, कान र घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेल बताउँछन् । उनका अनुसार बच्चाले के खायो भन्ने कुरा बुझ्न गाह्रो हुने र लक्षण पत्ता लगाउन समय लाग्ने हुँदा यो समस्या झनै जटिल बन्छ ।

पाटनका नाक, कान, घाँटी विभागमा कार्यरत रेजिरेन्ट चिकित्सक विदुर अधिकारीका अनुसार २ देखि ६ वर्षका बच्चाहरुमा बदाम, मकै, काजुजस्ता सानो खानेकुरा निल्दा पनि श्वासनलीमा अड्किने जोखिम हुन्छ । यसले श्वासप्रश्वासमा समस्या र निमोनियासम्म हुनसक्छ । तुरून्तै अस्पताल पुर्‍याउन नसक्दा कतिपयको मृत्युसमेत हुन्छ ।

‘बारम्बार खोकी लाग्ने, निमोनिया निको नहुने र छातीमा संक्रमण भइरहने लक्षण देखिन्छन्’, डा. अधिकारी भन्छन्, ‘एन्टिबायोटिकले केही दिन राहत दिएपनि समस्या फेरि दोहोरिन्छ ।’

विशेषगरी हिँड्न थालेका र बामे सर्ने बच्चाहरुमा यो समस्या बढी देखिने गरेको छ । ‘ब्याट्री जस्ता वस्तु निलेमा अत्यन्तै खतरनाक हुनसक्छ । यस्तो अवस्थामा तुरुन्त उपचार नगरे ज्यान समेत जान सक्छ’, अधिकारी भन्छन् ।

आईसीयू पाउनै कठिन

चिकित्सकका अनुसार श्वासनलीमा वस्तु पहिचान गर्न र तत्काल उपचार गर्न नसकेमा गम्भीर समस्या देखिनसक्छ ।

डा. अधिकारीका अनुसार सामान्यतया एक्कासी एकदम खोक्ने, श्वास फेर्न गाह्रो हुने, बोल्न नसक्ने र शरीर निलो भएमा श्वासनलीमा केही अड्किएको भनेर शंका गर्नुपर्न हुन्छ । लगातार खोकी लाग्दा हातखुट्टा निलो हुने, मुख, जिब्रो निलो हुँदै जान्छ ।

कहिलेकाहीँ बच्चाहरु एकछिनमै सामान्य अवस्थामा आउँछन् । तर श्वासनलीमा वस्तु अड्किरहेको हुन्छ । यसले बिस्तारै श्वासनली र फोक्सो सुनिन्छ । गम्भीर संक्रमणदेखि निमोनियासम्म निम्त्याउन सक्छ ।

चिकित्सकहरुका अनुसार अन्न नली र श्वासनलीको बीचमा कुनै वस्तु अड्किए केहीबेरमै अवस्था जटिल बन्न सक्छ । डा. पौडेलका अनुसार श्वासनलीमा वस्तु अड्किएको एक्स–रे, सिटी स्क्यान गरेर थाहा पाउन सकिन्छ ।

कतिपय अवस्थामा इन्डोस्कोपी पनि गर्नुपर्ने हुन्छ । श्वासनलीमा भएको वस्तु निकाल्नका लागि जोखिम हुने भएकाले ब्रोन्कोस्कोपीको सहायता लिइन्छ । यसमा घाँटीमा पाइप पसाएर वस्तु निकालिन्छ । यसो गर्दा पनि वस्तु निकाल्न नसके घाँटीको भाग चिरेर निकाल्नुपर्ने हुन्छ । ब्रोन्कोस्कोपी तथा शल्यक्रिया दुवै जोखिम हुने चिकित्सक बताउँछन् ।

अझ यस्तो बेला बालबालिका अस्पताल पुर्‍याउँदा पनि तत्काल उपचार सुरू गर्न सकिँदैन । किनभने आईसीयू वा भेन्टिलेटरको जोहो नगरी अप्रेशन गर्न सकिँदैन ।

डा. पौडेलका अनुसार ब्रोन्कोस्कोपी वा अपरेशन गर्दा बच्चालाई बेहोस बनाउनुपर्छ । ‘अप्रेशन गरेपछि अनिवार्य रुपमा आईसीयूको आवश्यकता पर्छ । आईसीयू खाली छैन भने अप्रेशन नै गर्न सकिँदैन’, डा. अधिकारी भन्छन् । कतिपयको उपचारकै क्रममा अरु समस्या आउनसक्छ । त्यो बेला आईसीयूका साथै भेन्टिलेटर चाहिन सक्छ ।

छाती संक्रमण भएर फोक्सोमा पानी जम्ने समस्या हुनसक्छ । स–सना बालबालिकालाई अक्सिजन कमी भए एकैपटक ब्रेन इन्जुरी हुन्छ । यसले अंपगता समेत निम्त्याउन सक्छ

अप्रेशनको क्रममा पनि जटिलता देखिने हुन्छ । मोटो पाइप मुखबाट छिराउँदा कहिलेकाहीँ श्वासनलीबाट रगत बग्नसक्छ ।

किनकी बालबालिकाको श्वासनली सानो हुने भएकाले पाइप छिराउँदा मुखदेखि फोक्सोसम्मको भागमा चोटपटक लाग्न सक्छ । यसले फोक्सोका साथै मुटुमा संक्रमण फैलिने जोखिम पनि हुने डा. अधिकारी बताउँछन् ।

अप्रेशनपछि पनि बालबालिकालाई अनिवार्य रुपमा आईसीयूमै राखेर उपचार गर्नुपर्छ । केन्द्रीय अस्पताल पाटनमा हेर्दा सम्रगमा बालबालिकाको ७ वटा आईसीयू बेड छुट्याइएका छन् । तर आईसीयू बेड खाली नभएकै कारण समयमा उपचार सुरु गर्न पाइन्न ।

‘आईसीयू बेड अभाव जहिले पनि रहन्छ । दुई दिन कुरेर आईसीयू खाली गराएर मात्रै बिरामीलाई अप्रेशन थियटरमा लगिन्छ’, डा. अधिकारी भन्छन्, ‘ जसले गर्दा बिरामीलाई जटिलता थपिन्छ ।’

अभिभावकले ध्यान दिनुपर्ने कुराहरु

बालबालिकालाई खाना खुवाउने बेलामा अभिभावकले हिडाएर वा दौडाएर खुवाउने पनि गर्छन् । यस्तो बेलामा बच्चाहरुको श्वासनली चलिरहेको हुँदा खानेकुरा सर्किनसक्छ । त्यसैले सकेसम्म बालबालिकालाई बसाएर मात्र खानेकुरा खुवाउनुपर्छ ।

बालबाबालिकाको खानेकुरा राम्ररी चपाउँदैनन् । त्यसकारण काजु, मकै लगायतका दानाहरु बालबालिका लागि दिन हुँदैन । दिने नै हो भने मसिनो बनाएर अभिभावकको प्रत्यक्ष निगरानीमा मात्र खुवाउनपर्छ । खेलौना किन्दा पनि ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?