+
+

केएमसी : जहाँ ब्याचलर सकिँदा विद्यार्थी बन्छन् उद्यमी र जागिरे

विश्व बजारमा कुनै पनि काम गर्दा सिप चाहिन्छ, पढाई भनेको योग्यता मात्रै हो । सिपका लागि ब्याचलरका विद्यार्थीलाई कलेजले पहिलो सेमेस्टरदेखि नै पोर्ट बनाइदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १९:०४

२० भदौ, काठमाडौं । तनहुँबाट काठमाडौं पढ्न आएकी सूचित्रा अधिकारीले अहिले पढाइसँगै आफ्नै कम्पनी खोल्न सफल भएकी छिन् । काठमाडौं बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) को सातौं सेमेस्टर अध्ययनरत अधिकारीले कलेजकै कारण अहिले नयाँ व्यापार सुरु गरेकी हुन् ।

‘केएमसी पढ्दा आइडियालाई बिजनेसमा कन्भर्ट गर्न यहाँको वातावरणले प्रेरित गर्‍यो, त्यसपछि सुरु गरेको हो । कलेजले नै वर्कस्पेस र क्लायन्ट भेट्ने ठाउँ बनाइदिएको छ,’ अधिकारी भन्छिन् ।

आफू ब्याचलर पढ्न आउँदा पहिलो सेमस्टेरबाट नै ‘ग्रोथ’ हुन थालेको उनले बताइन् । केएमसीमा हरेक गतिविधिमा विद्यार्थी आफैं सहभागी हुन्छन् ।

‘हाम्रो कोर्सबाहेक अन्य क्षमता जस्तै नेतृत्व गर्ने, प्रश्न सोध्ने, सामाजिक विषयको ज्ञानजस्ता कुरा थाहा हुन्छ । पर्सनल्ली चाहिँ मलाई बिजनेसमा चासो थियो । यहाँ कलेजले पनि आन्ट्रप्रेनरसिप, स्र्टाटअपका लागि एकदम सपोर्ट गरिरहेको छ । वातवारण नै यस्तो भएको छ । अहिले ‘स्पाको राइटिङ’ भन्ने कन्टेन्ट राइटिङ कम्पनी निर्माण गरेर यहीँ काम गर्छौं, अफिस नै वर्कस्पेसलाई बनाएर गरिरहेका छौं,’ उनले भनिन् ।

सन्तोष मगर ।

अधिकारी जस्तै केएमसीमा पढिरहेका सन्तोष मगर बीबीएम पढिरहेका छन् । सातौं सेमेस्टर पढिरहेका उनले पनि आफैंले नयाँ कम्पनी बनाएर काम गरिरहेका छन् ।

नेपालभरिका कलेजमध्ये सरकारले गरेको अध्ययनमा हामी नम्बर वान कलेज हौं । निजीमा केएमसी बेस्ट हो ।

‘केएमसीमा आफूले नै भविष्यमा केही गर्न मन भएको विद्यार्थी आउने ठाउँ हो । नयाँ उद्यम गर्न चाहन्छन् भने यो एकदमै राम्रो ठाउँ हो । यहाँ वर्किङ स्पेस छ । यहाँको सुविधा पनि त्यही अनुसार छ । म चाहिँ एकदम सन्तुष्ट छु,’ मगर भन्छन् ।

चितवनकी योजना गैरे पनि केएमसीमा भर्ना भइसकेपछि आफैंमा राम्रो परिर्वतन पाएको बताउँछिन् । ‘हामी यहीँ पढ्दा पढ्दै यहाँ आफ्नो काम गर्न पाउँछौं । वर्क प्लेस कलेजले नै दिएको छ । भविष्यमा केही गर्न मन छ भने ब्याचलर सकाएर मात्रै गर्छु भन्नै पर्दैन,’ उनी भन्छिन्, ‘यहाँ आएर पढ्दा पढ्दै आफ्नै स्टार्टअप गर्न सकिन्छ । अपेक्षा लिएर आउँदा त्यो मिट हुन्छ । यहाँका टिचर, फ्याकल्टी मेम्बरहरूको एकदम सपोर्टिभ हुनुहुन्छ ।’

योजना गैरे ।

केएमसीमा ब्याचलर पढ्दै, आफ्नै कम्पनी सुरु गरेका विद्यार्थीले भने जस्तै कलेजमा पनि त्यस्तै वातवारण छ ।

केएमसीका कलेज चिफ सुरेन्द्र सुवेदीका अनुसार यो ‘क्वालिटी एन्ड एस्योरेन्स’ (क्यूए) मान्यता प्राप्त कलेज हो । काठमाडौंमा यस्तो मान्यता प्राप्त निजी कलेज तीनमात्र छन् । केएमसी सहित बर्नहाट, एनसीसीएस बाहेक अरू कलेजमा क्यूए प्राप्त छैन ।

क्यूए प्राप्त गर्ने बेलामा पनि कलेजले आठ अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ कि छैन, त्यो पनि हेर्छ । एउटा उच्च तहको कलेजले आठ मापदण्ड राम्रो भएपछि मात्रै क्यूए पाउने हो । निजीमा क्यूए पाउन सजिलो छैन ।

‘नेपालभरिका कलेजमध्ये सरकारले गरेको अध्ययनमा हामी नम्बर वान कलेज हौं । निजीमा केएमसी बेस्ट हो,’ सुवेदी भन्छन् ।

केएमसीको बलियो पक्ष

सुवेदीका अनुसार केएमसीमा विद्यार्थीका लागि बलियो पक्ष धेरै छन् । ‘ब्याचलर पढिरहेका विद्यार्थीले क्याम्ब्रिज विश्वविद्यालयको रिसर्च पेपरमा नाम निकालेका छन् । त्यसका लागि चाहिने योग्य शिक्षक, प्रोफेसरहरू हामीसँग छन् । हामीसँग अधिकतम पीएचडी गरेका फ्याकल्टियनहरू छन्,’ सुवेदी भन्छन् ।

कलेजको आफ्नै रिसर्च डिभिजन भन्ने छ । रिसर्च म्यानेजमेन्ट सर्कल छ । यसले रिसर्च पेपर कसरी निर्माण गर्ने भन्ने काम गर्छ । धेरै कलेजसँग नभएका विषय केएमसीमा पढाइन्छ ।

सुवेदीका अनुसार कलेजमा स्टुडेन्ट डेभलपमेन्ट सेल छ । त्यसले विद्यार्थीलाई कोर्समा मात्र नभई बजारले खोजेको सिप प्रदान हुन्छ । विद्यार्थीको कुन–कुन विषय पढ्ने हो, त्यस्ता सिप पहिलो वर्ष दिइन्छ ।

‘सञ्चार सिप, नेतृत्व तथा व्यक्तित्व विकास सिप सिकाउने, नयाँ प्रविधि एआई टुल्स कसरी चलाउने भन्ने पनि सिकाउँछौं । गुगल वर्क स्पेसमा कसरी काम गर्ने जस्ता काम स्टुडेन्ट डेभलपमेन्ट सेलले गर्छ,’ उनी भन्छन् ।

इनोभेसन ल्याब

सुवेदीका अनुसार प्रायः कलेजसँग नभएको नवप्रवर्तन र व्यावसायिक दक्षता निर्माण गर्ने केएसमीमा ल्याब छ । ‘आफैंले नयाँ व्यवसाय कसरी सुरु गर्ने भन्ने केएमसी इनोभेसन ल्याब छ । त्यहाँ नयाँ आइडिया कसरी बनाउने भन्नेबारे कोर्स र सिरिज चल्छ । यहाँ कुनै आइडिया आइसकेपछि त्यसलाई बिजनेसमा कन्र्भट गर्न इन्कुबेसन ल्याबहरू छन् ।’

उनले नेपालभरि ‘आइडिया कलेक्सन’ गर्ने इन्डियाको सार्क ट्यांक जस्तै आइडिया कलेक्सन कम्पनीले पनि यही ल्याबबाट काम गर्ने बताए ।

‘विद्यार्थीको आइडियासँग लगानी लिंकअप गर्छौं । कुनै विद्यार्थीले नयाँ आइडिया ल्याए भने त्यो आइडियालाई बिजनेसमा रूपान्तरण गर्न सहयोग गर्छौं । सिड मनी हामी नै दिन्छौं, तर बिजनेस स्थापित भइसकेपछि हामीलाई फिर्ता गर्नुपर्छ,’ सुवेदीले भने ।

एलुम्नाई

अर्को चाहिँ यहाँ एलुम्नाई क्लब छ । यसले विभिन्न टप लेभल मान्छेसँग अन्तक्र्रिया गराइरहेको हुन्छ । ‘बैंकिङ सेक्टरको एक्सपर्ट मनोज ज्ञवाली बोलाएर अन्तक्र्रिया हालै गर्‍यौं । अर्को फिनटेकबाट सज्जन शर्मासँग पनि गर्‍यौं, त्यस्तो धेरै नै गर्छौं । यस्तो प्रत्येक महिना भइरहेको हुन्छ, कलेजले वातवरण बनाइदिने हो बाँकी सबै यहाँको विद्यार्थीको अगुवाइमा नै हुन्छ,’ सुवेदी भन्छन् ।

यस्तै स्पोर्ट्सको क्लब छ, टेक्नोलोजीमा आएका विद्यार्थीको क्लब छ । सबै क्लबले प्रत्येक महिना कार्यक्रम गरिरहेका हुन्छन् । कोर्स भनेको कक्षा कोठामा परीक्षा र निश्चित विषयमा स्किल डेभलपमेन्टका लागि हो । त्योबाहेक मार्केटले कस्तो खोजेको छ, त्यसका लागि विद्यार्थी केएमसीले तयार गर्छ ।

हामी कलेजमा आएर पढ्ने बित्तिकै रोजगारी पाइन्छ भनेर ग्यारेन्टी गर्दैनौं तर हामीले रोजगारीका लागि चाहिने योग्यता के–के हो सबै तयार गर्छौं ।

‘हाम्रा विद्यार्थीले विभिन्न इन्टेलेक्चुअल संस्थासँग सहकार्य गरेर काम पनि गरिरहेका छन् । नेपालका मनिटरी पोलिसी, पराष्ट्र नीतिबारे छलफल हुन्छ,’ उनी भन्छन् ।

केएमसीका स्टुडेन्ट क्लबहरूबाट यस्तो प्लेटफर्म दिइरहेको छ, यहाँ पढिसकेपछि जागिरका लागि चाहिने योग्यता, समन्वय र आधार कलेजले नै तयार गर्छ ।

‘यदि केएमसीमा कोही विद्यार्थी पढ्न आउँदैछ भने हामी के पढ्ने भनेर सोध्दैनौं । तिमी के बन्छौ भनेर सोध्छौं । मिसन अफ लाइफ हेरेर हामी विषय रोज्ने कुरामा सपोर्ट गर्छौं,’ उनी भन्छन्, ‘एकदमै कन्फ्युज भएर के पढ्ने भन्ने फिक्स नहुँदा हाम्रो एउटा यहाँ एआई सिस्टम । ‘एआई बिल्ड अप’ सफ्टवेयर प्रयोग गर्छौं । त्यो विद्यार्थीको १७–१८ पानाको रिपोर्ट तयार हुन्छ । त्यसमा विद्यार्थीको कमजोरी, सबल पक्ष के हो भन्ने देखाउँछ । एआईले नै पर्सनालिटी बनाएका छौं,’ सुवेदीले थपे ।

विश्व बजारमा कुनै पनि काम गर्दा सिप चाहिन्छ, पढाई भनेको योग्यता मात्रै हो । सिपका लागि ब्याचलरका विद्यार्थीलाई कलेजले पहिलो सेमेस्टरदेखि नै पोर्ट बनाइदिएको छ ।

सूचित्रा अधिकारी ।

कलेजका अनुसार पोर्टमा विद्यार्थीको रुचि अनुसार तालिम लिन पाइन्छ । त्यसमा अनलाइन सेल्फ बेस कोर्स हुन्छ । दोस्रो भर्चुअल क्लास हुन्छ । तेस्रो त्यहीँ असाइटमेन्ट हुन्छ, त्यसले कति नम्बर पायो ? उसको क्षमताबारे थाहा हुन्छ र त्यहीँबाट उसले आफ्नो ग्रोथ गर्दै जान्छ ।

ब्याचलरको पहिलो सेमेस्टरदेखि नै विद्यार्थीलाई त्यसरी हुर्काउँछौं । कसरी बिजनेस अगाडि बढाउने भन्ने कुरा यहीँ सिकेर विद्यार्थी जान्छ ।

रोजगार बजारमा कहीँ भ्याकेन्सी आयो भने विद्यर्थीलाई पुस हुन्छ, अर्को लिंक्डइन, गिटहब जस्ता ग्रुपमा ज्वाइन गरेर प्रोफाइल बढ्दै गएपछि राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि रोजगारी अवसर आउँछ आउँछ ।

‘ब्याचलरको अन्तिममा सातौं, आठौं सेमेस्टर पुगिसकेपछि हामीले कलेजमै विभिन्न चर्चित कम्पनी बोलाउँछौं । यो वर्षमात्र हामीले ४१ कम्पनी बोलाएको थियौं । त्यहाँका एचआर आएर अन्तर्वार्ता लिएर कम्पनीले छनोट गर्‍यो । हामी कलेजमा आएर पढ्ने बित्तिकै रोजगारी पाइन्छ भनेर ग्यारेन्टी गर्दैनौं तर हामीले रोजगारीका लागि चाहिने योग्यता के–के हो सबै तयार गर्छौं,’ सुवेदीले भने ।

सुवेदीका अनुसार आठौं सेमेस्टर पढ्दा पढ्दै पाँच विद्यार्थी कुमारी बैंकले लिएको थियो अहिले पनि विभिन्न आईटी कम्पनीले पढ्दा पढ्दैका विद्यार्थीहरू लगिरहेको छ ।

‘हाम्रो कलेजमा पढेका विद्यर्थाी जागिर खानकै लागि सीभी बोक्दै हिँड्नुपर्ने हुँदैन । विद्यार्थीलाई कम्पनी आफैंले खोज्छ । त्यो वातावरण कलेजले मिलाउँछ,’ उनको दाबी छ ।

‘रिजल्टमा हामी सधैं अगाडि नै छौं । त्रिविको सेमेस्टेरको रिजल्टमा हाम्रा विद्यार्थी अगाडि छन् । त्रिविलाई पनि हामीले चाहिँ राम्रा विद्यर्थी पठाउँछ भन्ने छ,’ सुवेदीले थपे ।

केएमसी कलेजको फेसबुक पेजबाट नै विद्यार्थीका लागि मुख्य क्रियाकलाप के–के छन् भन्ने सबै थाहा हुन्छ ।

के–के हुन्छ पढाइ ?

केएमसीमा ब्याचलरमा बीबीए अध्यापन हुन्छ, त्यसले कर्पोरेट क्षेत्रमा जाने विद्यार्थी पढ्ने गरेका छन् । ‘बीबीएमा चाहिँ हाम्रो कलेज मुख्य फोकस गरेर उद्यमसँग जोडेर निर्माण भएको विषय हो । किनभने, यहाँ बीबीएम पढेर जाँदा विद्यार्थी आफैंले वा साथीहरूले मिलेर एउटा कम्पनी भए पनि खोलेर जान्छु भन्ने छ । हामीले ब्याचलरको पहिलो सेमेस्टरदेखि नै विद्यार्थीलाई त्यसरी हुर्काउँछौं । कसरी बिजनेस अगाडि बढाउने भन्ने कुरा यहीँ सिकेर विद्यार्थी जान्छ,’ उनले भने ।

सुवेदीका अनुसार केएमसीमा पहिले–पहिले यहाँ पढेका विद्यार्थी बैंक, कर्पोरेट कम्पनीमा जागिर पक्का हुन्थ्यो, अब चाहिँ यहाँबाट निस्किँदा उद्यमी बनाउने गरी पढाइ हुन्छ ।

‘हाम्रो ब्याचलरमा पाँच वटा प्रोगाम छ । बीबीएमा हामी ६६ जना विद्यार्थी भर्ना गर्छौं । बीबीएमा ४४, बीसीएमा ३५, बीएमा ६० र बीबीएसमा ४० विद्यार्थी भर्ना लिन्छौं । अहिले ब्याचलरमा ७ सय बढी विद्यार्थी छन् । क्वालिटी पढाइकाका लागि विदेश जानु पर्दैन, त्यो काम नेपालमै केएमसीले गर्न सक्छ है भन्नेमा हामी तयार छौं,’ उनको दाबी छ ।

कलेजले हाल विद्यार्थी एक्सचेन्जको कन्सेप्ट पनि ल्याएको छ । ‘हाम्रा विद्यार्थी विदेश जाने, विदेशका विद्यार्थी यहाँ आउने र त्यसले गर्दा रहनसहन, शैली आदान–प्रदान हुन्छ । नेपालमा आएर विदेशका विद्यार्थीले पैसा तिरेर पढोस् न,’ सुवेदीले भने ।

केएमसीमा आईटी क्षेत्रमा बीसीए पढाइ हुन्छ । आईटीमा आफ्नै कम्पनी पनि छ । बीए कार्यक्रम अन्तर्गत कलेजमा साइकोलोजी, इकोनोमिक्स, बीएसडब्लु र इङलिस पढाइ हुन्छ । केएमसीमा साँझ बीबीएस पढाइ हुन्छ । एमबीएस कार्यक्रम पनि बेलुका नै छ । एमए इङलिस पनि पढाइ हुँदैछ, त्यो पनि साँझ नै हुन्छ ।

के छ स्कलरसिपको व्यवस्था ?

केएमसीमा पढ्ने विद्यार्थीलाई विभिन्न खालको स्कलरसिप उपलब्ध छ । यहाँ आउने बित्तिकै मेरिटका आधारमा स्कलरसिप पाइन्छ । उनीहरूले कक्षा १२ मा ल्याएको जीपीएका आधारमा १ लाख ४४ हजारसम्मको स्कलरसिप दिइन्छ । त्योबाहेक कलेजले नै लिएको टर्मिनल परीक्षाका आधारमा पनि स्कलरसिप दिइन्छ ।

‘सेमेस्टर टप गर्नेलाई हामी सेमेस्टरको पैसा लिँदैनौं । यस्तै कलेज टप गर्नेलाई पनि स्कलरसिप दिन्छौं । स्पोर्टसका तर्फबाट पनि स्कलरसिप दिन्छौं । डिन कार्यालयले छुट्याएको १० प्रतिशत पनि दिन्छौं । अर्को चाहिँ नेतृत्व क्षमता राम्रो भएका विद्यार्थीलाई पनि लिडरसिप स्कलरसिप दिन्छौं,’ सुवेदी भन्छन् ।

कति लाग्छ पैसा ?

केएसमीमा बीबीए पढाइ पूरा गर्न ९ लाख ७५ हजार, बीबीएम र बीसीए ७ लाख ६५ हजार, बीबीएस ३ लाख ५६ हजार र बीए प्रोग्रामको ३ लाख ९० हजार रुपैयाँ पर्छ ।

केएमसी सञ्जाल

केएमसी नेपालको सबैभन्दा ठूलो शैक्षिक नेटवर्क भएको कलेजमध्ये पर्छ । सुवेदीका अनुसार प्लस टुका लागि बागबजारमा काठमाडौं मोडेल सेकेन्डरी स्कुल छ । ललितपुरमा पनि त्यही नाममा छ । न्यु समिट कलेज पनि केएमसी अन्तर्गतकै कलेज हो । त्यहाँ पनि प्लस टु छ ।

हिमालयन कलेज अफ इन्जिनियरिङ छ, त्यसमा त्रिविको इन्जिनियरिङ कार्यक्रम पढाइ हुन्छ । अपोलो इन्टरनेसनल कलेजमा पोखरा विश्वविद्यालय अन्तर्गत पढाइ हुन्छ । युनिभर्सल इन्जिनियरिङ कलेज पनि पोखरा अन्तर्गत नै चलिरहेको छ । केएमसीको नेटवर्कमा १४ हजार विद्यार्थी पढ्छन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?