+
+

जाँदाजाँदै प्रधानसेनापतिले सुनाए ‘स्ट्रेस लेभल’ बढाउने घटना

जंगीअड्डामा बुधबार साँझ आक्रामक भाषण गरेका प्रधान सेनापति शर्माले आन्तरिक संगठनदेखि अदालतका विषयसमेतमा प्रवेश गरे, अनि सेनाभित्रको गुटबन्दी पनि एक हदसम्म छताछुल्ल पारे ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ २० गते १९:२८

२० भदौ, काठमाडौं। चार दशक लामो सैन्य सेवा पूरा गरेर अवकाशमा जानुअघि जनरल प्रभुराम शर्मा बुधबार साँझ जंगीअड्डामा आक्रामक सुनिए । ४४औं प्रधानसेनापति शर्माले सैनिक मुख्यालयमा गरेको २२ मिनेटको सम्बोधनमा तीन वर्ष नेतृत्वमा रहँदाको संक्षिप्त अनुभव सुनाए । विगतलाई हेरेकाले त्यसबाट सिक्दै बुद्धिमानी अपनाउन उत्तराधिकारीसहितका अधिकारीहरुलाई अनुरोध गरे ।

प्रतिशतको अधिकतम संख्या १०० हो, तर उनले आफ्नो कार्यकालमा एउटा विषयले ‘स्ट्रेस लेभल’ एक हजार प्रतिशत बढाएको पनि सुनाए। सेनाका जनरलहरुको जन्ममिति विवाद छताछुल्ल भएर सार्वजनिक हुँदा आफ्नो तनाव बढेको उनले संकेत गरेका हुन् ।

‘मलाई यो तीन वर्षमा सबैभन्दा धेरै आफू मुनिका जनरलहरुको जन्ममिति सम्बन्धी किचलोले सतायो’, उनले भने, ‘साइकोलोजीमा कुरा गर्ने हो भने मेरो स्ट्रेस लेभल १०० प्रतिशत होइन, वान थाउजेन्ड प्रतिशतले बढाएको थियो ।’

शर्माले आफ्नो उत्तराधिकारीको रुपमा सुरुमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई अघि सारेका थिए । २९ असोज २०८० मा पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेलगत्तै उनको जन्ममिति विवाद सतहमा आयो ।

रथी सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुने पदमा बढुवा हुने सिनियर उपरथी नै भावी प्रधान सेनापतिको रोलक्रममा उक्लिन्थे । त्यसमा शर्माले विवादित पृष्ठभूमिका ताराध्वज पाण्डेलाई अघि सारेका थिए ।

जानकारहरुका अनुसार, यदि उनले राणाको म्याद थप गरिदिएको भए पाण्डे रथीको दरबन्दी खाली हुनुअगावै अवकाशमा जान्थे । पाण्डेविरुद्ध होटल सोल्टीमा भएको एउटा घटनालाई लिएर ‘कोर्ट मार्सल’ गर्नुपर्ने माग पनि जंगीअड्डामा उठेको थियो ।

पछि पाण्डेको जन्ममिति मामलामा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रक्षा मन्त्रालयलाई पत्र लेख्यो । प्रधानसेनापति शर्माले यो मामलामा संसदीय समितिमा समेत जवाफ दिनुपर्‍यो । जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर छानबिन गर्दा कैफियत देखिएपछि पाण्डे राजीनामा दिन बाध्य भए ।

योसँगै सिग्देलको भाग्य खुल्यो । उनी प्रधान सेनापति बन्ने रोलक्रममा आए । तर, सिग्देलको जन्ममितिबारे समेत प्रश्नहरु नउठेका होइनन् । सर्वोच्च अदालतले उनको जन्ममितिविरुद्ध परेको रिट प्रमाण नपुग्ने भन्दै खारेज गरिदियो भने जंगीअड्डाको आन्तरिक छानबिनबाट पनि सिग्देलले ‘क्लीन चिट’ पाए ।

यही मामलाले आफ्नो मानसिक तनाव बढाएको प्रधानसेनापति शर्माले सुनाएका थिए । ‘यो किचलो अब आउँदैन होला, मैले प्रायः सबै समाधान गरिसकेको छु’, उनले थपे, ‘भविष्यमा तपाईंहरुलाई यो किचलो सहनु नपरोस् ।’

शर्माले यो संगठनभित्रै अधिकारीहरुले सुरु गरेको किचलो भएको भन्दै भने, ‘त्यो तपाईंहरुले पनि बुझ्नु भएकै छ ।’ जंगीअड्डाका केही उच्च अधिकृतहरुका दाबीमा, प्रधानसेनापति शर्माले ‘संगठनभित्रकै अधिकारीहरु’ भनेर केही जनरलहरुलाई नै संकेत गरेका हुन् ।

उनीहरुको भनाइमा, उपरथी पाण्डेको राजीनामा पछि रोलक्रममा पछाडि भएका अधिकारीहरु पनि समाधान भइसकेको विवादमा समेत राजनीतिक र व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरुको साथ खोज्दै हिँडेका थिए ।

‘अनाहकमा स्वार्थी समूहले प्रश्न उठाउने ठाउँ पाए’

शर्माको कार्यकालमा जंगीअड्डा अन्य प्रधानसेनापतिका पालामा जत्तिको पारदर्शी भएन । यसअघिका सेना प्रमुखहरुले कार्यकालको पहिलो, दोस्रो र तेस्रो वर्षका विशेष सम्बोधनमा सञ्चारकर्मीहरुलाई पनि सहभागी गराउँथे, संवाद गर्थे ।

तर, शर्माले त्यस्तो गरेनन् । बरु लोकतान्त्रिक मुलुकको सेनाबारे नागरिक समाजबाट भएको बहस र टिप्पणीलाई निरुत्साहित गर्न खोजे । सैनिकको संख्याबारे सदनमा बहस भइरहेका बेला शर्माले सेनाको संख्या ‘एनजीओ, आईएनजीओले तोक्ने होइन’ भन्ने अभिव्यक्ति दिए ।

सेनामाथि उठेका अन्य प्रश्नहरुमाथि पनि दृष्टिकोण औपचारिक मञ्चबाट यसअघि सुनिएको थिएन । कार्यकालको अन्तिममा गरेको सम्बोधनमा भने प्रधान सेनापति शर्माले पदीय र जिम्मेवारीका हिसाबले कहिले काहीँ पृथक रुपमा प्रस्तुत हुनुपर्ने अवस्था भएको भन्दै आत्मसमीक्षा गरे ।

‘यसलाई अन्यथा नठान्नु होला, ती संस्थागत र संस्थामा भएका व्यक्तित्वहरुलाई अनुशासनमा राख्नलाई पनि गर्नुपर्ने रहेछ’, उनले भने, ‘संगठन प्रमुखका रुपमा संगठनसँग सम्बन्धित संगठानिक र बाह्यका सम्पूर्ण विषयहरुसँग नजिक र निर्णायक भएर काम गर्नुपर्ने हुन्छ ।’ त्यस्तो काम गर्दा आफूले सेना प्रमुखको हैसियतमा व्यक्तिगत हितभन्दा संगठनको सर्वोपरी हितलाई अधिकतम ध्यान दिएर निर्णय गरेको उनले बताए ।

उनले एक महिनाअघि विदा बस्नु पहिले पनि व्यक्तिगत रुपमा आफू कोही व्यक्तिलाई खोजी, खोजी हानी हुने काम गर्ने स्वभावको व्यक्ति नभएको बताएका थिए । उनले भनेका थिए, ‘तर, कहिलेकाहीँ परिवेश यसरी विकसित हुँदो रहेछ कि तपाईं केही कठोर नबनिरहन नमिल्दो रहेछ, त्यो मेरो हकमा पनि उत्तिकै लागू भयो होला ।’

शर्मालाई सेना प्रमुख बनेपछि आफू इतरका अधिकारीप्रति प्रतिशोध साँधेको आरोप लागेको थियो । पूर्वसेना प्रमुख पूर्णचन्द्र थापा निकट अधिकृतहरुप्रति उनले रोष राखेको अधिकृतहरु बताउँछन् ।

थापाले आफू राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) बन्ने महत्वाकांक्षा राखेर आफूलाई रोक्न खोजेको शर्मालाई परेको थियो । त्यही कारण शर्मा र थापाबीच सम्बन्ध चिसिएको चर्चा हुने गरेको थियो । तर, अन्तिम सम्बोधनमा उनले त्यसलाई पनि चिर्ने कोशिश गरे ।

थापाले आफूलाई संगठनमा रहँदा र बाहिर हुँदा पनि सल्लाह दिने गरेको उनले बताए । ‘सधैँ कुनै पनि कुरा एउटै रहिरहँदैन, समान रहने चिज भनेको परिवर्तन मात्र हो’ भन्दै पूर्वसेना प्रमुख थापाले भनेको उल्लेख गर्दै शर्माले समयभन्दा बलियो केही नहुने भन्दै विगत हेरेर सिक्न उत्तराधिकारीलाई पनि अनुरोध गरे ।

शर्माले आफ्नो कार्यकालमा थापानिकट अनन्त कार्की, प्रेम शाही, डा. महेन्द्रजंग शाह, कुलदिप तिम्सिना लगायतका अधिकारीहरुलाई पाखा लगाएका थिए । थापाका पालामा कार्कीको म्याद थप गर्न भन्दै भएको पत्राचार शर्माले रोकेका थिए भने प्रेम शाही अदालतबाट आदेश लिएर जंगीअड्डामा हाजिर हुन जाँदा दुई महिना थुनिनु परेको थियो ।

उनलाई सहयोग गरेको आरोपमा सेनाको कानून हेर्ने निकाय प्राड विवाकका शाह र तिम्सिनामाथि पनि ‘कोर्ट मार्सल’ भएको थियो । विदाइ सम्बोधनमा उनले संगठनमा कतिपयले व्यक्तिगत स्वार्थ हेर्दा बाहिरका व्यक्तिहरुलाई प्रश्न उठाउने बाटो खुलेको टिप्पणी गरे ।

उपरथी शाहीलाई सेनाले अवकाशको पत्र थमाइसकेको थियो । तर, आफ्नो जन्ममिति फरक भएकाले त्यसलाई बदर गरिपाउँ भन्दै उनले अदालतमा रिट दिएका थिए । उनको पक्षमा आदेश भएपछि हाजिर हुन आउँदा उनीमाथि अनियमितताको आरोप लगाउँदै नियन्त्रणमा लिइएको थियो ।

जानकारहरुका अनुसार, त्यसबेला शर्माले ‘सेना जस्तो संस्थामा अदालतको आदेश लिएर आउने ?’ भन्दै शाहीप्रति आक्रोश व्यक्त गरेका थिए ।

‘सबैले यो कुरा मनन् गर्नु होला कि संगठनभित्र वा बाहिरको परिस्थिति सदैव कसैको पनि अनुकूल नरहन सक्छ, समय फेरिन सक्छ’, शर्माले बिहीबार साँझ पनि भने, ‘तसर्थ, पहुँचका भरमा स्वार्थपूर्ति गर्ने तर्फ कदापी अग्रसर नहुनु होला, यो तपाईंहरु सबैको हितमा छ ।’

उनले सम्बोधनका क्रममा संस्थाको स्वार्थलाई मान्न नबिर्सिनु भन्दै पटक–पटक दोहो¥याए । शर्माले थपे, ‘यो नै संगठनको सान हो, संस्थागत स्वार्थलाई व्यक्तिगत स्वार्थले अल्मल्याउँदा संगठनभित्रको कार्य गर्ने वातावरण खल्बल्याउँछ ।’

त्यस्तो हुँदा फौजका इमान्दार र बफादार सदस्यहरुमा पनि नैराश्यता पैदा गर्ने भन्दै उनले भने, ‘अनाहकमा संगठनप्रति बाहिरका व्यक्तिहरुले प्रश्न उठाउने बाटो पनि खुल्दछ ।’ यस्तोमा ‘सेना भित्र र बाहिरका स्वार्थी समूहहरुले आफ्नो स्वार्थ सिद्ध गर्ने मौका समेत पाउने’ उनले बताए ।

शर्माले ‘आफ्नो जीवनको अमूल्य समय बसेको संस्थामा एक स्वार्थी र बेइमान बिल्ला भिरेर विदाइ नहुन’ समेत आग्रह गरे ।

सम्झिए सैनिक जीवन

सम्बोधनको सुरुवात्मा जनरल शर्मा केही भावुक पनि सुनिए । ‘सेनामा विताएको झण्डै ४२ वर्ष केबल जागिर र सेवा मात्र नभएर जीवनको अमूल्य उमेरको अध्याय पनि हो’, उनले भने, ‘सामान्यतः ७४ देखि ८० वर्षसम्म आयु छ भन्न सकिन्छ, त्यसैले एउटा सैनिकका लागि सेना एउटा सिंगो र ठूलो परिवार हो । यहाँ गाँसिएका सम्बन्धहरु अनन्तकालसम्म रही रहनेछ ।’

सैनिकको नाम, घर, ठेगाना, पद र स्वभाव फरक भएपनि सेनाको सदस्य भइसकेपछि सबैको एउटा नाता – देशको सेना – हुने उनले बताए । सैनिक जीवनका क्रममा आफूले ८ वर्षजति पश्चिमका दुर्गम स्थानमा काम गरेको पनि उनले सम्झिए ।

‘नेपालका दुर्गम से दुर्गम मुगु, कालिकोट, जुम्ला र डोटीमा दुई/दुई वर्ष गरेर ८ वर्ष जति विताएँ’, उनले थपे, ‘लामो समय काम गरेको हुँदा दुर्गम स्थानको समाज र व्यक्तिबारे बुझ्ने मौका समेत पाएको थिएँ ।’

त्यसैले दुर्गम स्थानबारे कसैले नराम्रो कुरा गर्दा पनि आफ्नो ‘स्ट्रेस लेभल’ बढ्ने उनले सुनाए । अन्तिममा उनले प्रधान सेनापतिका रुपमा विताएका तीन वर्षका अभ्यास तिता– मिठा दुवै भएको विश्लेषण गरे । उनले भने, ‘मिठो लिएर जान्छु, तिताहरु यही हलमा छाडेर जानेछु ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?