+
+

आफ्नो मिर्गौला ७० हजारमा बेचेका युवा नै मिर्गौला तस्करीका नाइके

ब्यूरोको टोलीले मिर्गौला तस्करीका मुख्य व्यक्ति काठमाडौंको नैकापका ५५ वर्षीय नारायण परियारलाई पक्राउ गरेको छ । ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार परियार नै यो मिर्गौला तस्करी प्रकरणका मुख्य व्यक्ति हुन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ भदौ २० गते २०:१७

२० भदौ, काठमाडौं । ‘मेरो मिर्गौला पनि छैन । अहिले हातमा पैसा पनि छैन’ आफ्नो अंग बेचेको पैसा नै नपाएको भन्दै एक युवक बालाजु क्षेत्रमा मदिराको नसामा भौतारिँदै बरबराउँथे ।

‘न मिर्गौला छ न पाइयो पैसा’ नसामा भएको रुँदै चिच्याउने गरेका ती युवकबारे मानव बेचबिखन अनुसन्धान ब्यूरोमा आइपुग्यो । ती युवक मनिष (नाम परिवर्तन)लाई ब्यूरोले नियन्त्रणमा लिएर केरकार गर्‍यो ।

बाँयातर्फको पेटको भाग चिरिएको थियो । अस्पताल लगेर जाँच गराएपछि युवकको कुरा पुष्टि भयो । मनिषको बाँयातर्फको मिर्गौला थिएन । अनुसन्धानको क्रममा १० लाख रुपैयाँ पाउने भनेर मिर्गौला बेचे पनि मनिषले पटक–पटक गरेर ४ लाख ७० हजार रुपैयाँ मात्रै पाएको खुलेको थियो ।

त्यसपछि अनुसन्धान अघि बढाएको ब्यूरोले मिर्गौला तस्करीमा संलग्न भएको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री ९ भदौमा पक्राउ परे । मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान पनि त्यसबेला पक्राउ गरिन् ।

मंगलबार मात्रै ब्यूरोको टोलीले मिर्गौला तस्करीका मुख्य व्यक्ति काठमाडौंको नैकापका ५५ वर्षीय नारायण परियारलाई पक्राउ गरेको छ । ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार परियार नै यो मिर्गौला तस्करी प्रकरणका मुख्य व्यक्ति हुन् ।

मनिषलाई काठमाडौंको बल्खुदेखि स्थलमार्ग हुँदै वीरगञ्ज रक्सौल हुँदै कोलकत्ता पुर्‍याउने व्यक्ति रहेको मिश्रले बताए । उनीमार्फत् नै अन्य व्यक्ति परिचालित भएर काम गरेको खुलेको छ ।

स्थलमार्गबाट भारत जाँदा प्रहरीले केरकार गरे सपिङ गर्न हिँडेको भन्नु भन्दै मनिषलाई उनैले कोलकत्ता पुर्‍याएको खुलको छ । पक्राउ परेका परियारविरुद्ध बुधबार मात्रै काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । यो प्रकरणमा ३ जना पक्राउ परे पनि अझै २ जना भने फरार रहेका छन् ।

आफैंले बेचेका थिए ७० हजारमा मिर्गौला

पक्राउ परेका परियार आफैंले समेत मिर्गौला बेचेको पाइएको छ । परियारले आफूले पनि यसअघि नैै मिर्गौला बेचेको बताउँदै पेटको खत प्रहरीलाई देखाएका थिए । अस्पतालमा लगेर जाँच गर्दा उनको पनि एउटा मात्रै मिर्गौला रहेको खुलेको मिश्रले बताए ।

परियारको भनाई अनुसार उनले करिब ८/९ वर्षअघि भारतमा गएर मिर्गौला बेचेका हुन् । त्यसबेला जम्मा ७० हजारमा मिर्गौला बेचेको उनले प्रहरी समक्ष बताएका छन् ।

मिर्गौला बेच्नुको कारणबारे उनले आफूलाई चाहिने दैनिक खर्च नभएकाले बेचेको बताएका छन् । परियारले आफ्नो पेटको खत देखाउँदै ‘मिर्गौला दिंदा केही नहुने भनी विश्वास दिलाउने गरेको पाइएको र उनकै विश्वामा परेर मनिषले मिर्गौला बेचेको खुलेको’ एक अनुसन्धान अधिकृतले बताए ।

मिर्गौला लिने महिलाको मृत्यु भएको अभियुक्तको दाबी

मिर्गौला प्रत्यारोपणका लागि मनिषलाई २०८० को असोजमा कलकत्ता पुर्‍याइएको थियो । त्यसपछि उनी भागेर काठमाडौं आएका थिए । पुनः उनलाई सम्झाउँदै फकाएर कलकत्ता लगिएको थियो ।

कलकत्तामा फ्ल्याट भाडामा लिएर उनलाई राखिएको थियो । मदिराको नसामा रहेका उनलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले मदिरा सेवन गर्न दिइएको थिएन भने पोषणयुक्त खाना दिएर मिर्गौला दिन योग्य बनाइएको थियो । त्यसपछि माघको अन्तिममा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ब्यूरोको टोलीले यो घटनामा मिर्गौला बेच्न उक्साउनेदेखि, बेचबिखनमा सहयोग गर्ने र मिर्गौला लिने (रिसिभ) गर्ने व्यक्तिसम्म प्रतिवादी हुने भन्दै मिर्गौला लिने व्यक्तिको पनि खोजी गरेको छ । तर, मिर्गौला दिने मनिषदेखि मंगलबार पक्राउ परेका नारायणले समेत मिर्गौला रिसिभ गर्ने महिलाको मृत्यु भएको दाबी प्रहरी समक्ष गरेका छन् ।

मनिषलाई कोलकत्ताको अम्री अस्पताल पुर्‍याएर मिर्गौला लिने महिलाको मृत्यु भएको उनीहरुको दाबी छ । तर यसबारे आधिकारिक पुष्टि हुन बाँकी नै छ । अनुसन्धान यो भन्दा अघि नबढोस् भन्ने सोचाई कारण पनि उनीहरुले ती महिलाको मृत्यु भएको दाबी गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।

ती महिला गत माघको अन्तिममा मिर्गौला प्रत्यारोपण गरेर कोलकत्ताबाट १ वैशाख २०८१ मा मात्रै नेपाल आएकी थिइन् । मिर्गौैला रिसिभ गर्ने महिला तराईबासी हुन् ।

लथालिंग बनेको मनिषको परिवार

१० लाखको लोभमा मिर्गौला बेच्ने मनिषा केही समय पहिला वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्ति हुन् । वैदेशिक रोजगारीमा जानुअघिसम्म उनको काठमाडौंमै थियो । श्रीमती, छोरी, बाबु थिए ।

तर विदेश पुगेर फर्किएपछि उनको परिवार लथालिंग भएको पाइएको छ । उनी विदेशमै रहेका बेला मदिराको नसामा रहेका उनका बाबुले काठमाडौंको घर बेचेर झापा पुगिसकेका थिए भने अर्को विवाह पनि गरेका थिए ।

विदेशबाट फर्कदा श्रीमती समेत उनलाई छाडेर गइसकेकी थिइन् । त्यसपछि उनको साथमा ४ वर्षीया छोरी मात्रै थिइन् । मनिष पनि मदिराको नसामा गइसकेका थिए ।

मनिषको मदिरा पिउने ठाउँ थियो गोंगबुको एउटा सामान्य खाजा घर । नाम विनाको उक्त खाजाकी सञ्चालिका अहिले हिरासतमा रहेकी घलान हुन् । उनैले मिर्गौला बेच्न सुझाएकी थिइन् ।

४ वर्षीया छोरी समेत बिरामी भएको र दैनिक खर्चको समेत अभाव भएको भन्दै उनी मिर्गौला बेच्न तयार भएका थिए ।  मिर्गौला बेचेका उनले नछोरी बचाउन सके न भने अनुसारको १० लाख रुपैयाँ नै पाए ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?