+
+

देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ६:३१

२१ भदौ, काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ ।

नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ ।

पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ ।

आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा केन्द्रित भएकाले त्यहाँ मध्यमदेखि भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना रहेको जनाएको छ । आज राति भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?