+
+

काठमाडौं महानगरको सर्वेक्षणमा सहभागी ६६ प्रतिशतले भने–अनलाइन सेवा होस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ९:४०

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सर्वेक्षणमा अधिकांशले अनलाइन सेवा माग गरेका छन् । महानगरका अनुसार सर्वेक्षणमा सहभागीमध्ये ३३९ जना (६६ प्रतिशत) ले अनलाइन सेवामा रुचि देखाएका छन् ।

महानगरले ५१७ जनाको सहभागितामा विभिन्न शीर्षकमा सर्वेक्षण गरेको थियो । जसमध्ये ३२७ जना अर्थात् ६३ प्रतिशतले मात्रै महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए ।

४७ प्रतिशतले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशतले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको बताए ।

महानगरपालिकामा सेवा लिएर फर्किएका सेवाग्राहीलाई स्वेच्छिक रुपमा सर्वेक्षणमा सहभागी गराइएको महानगरले जानकारी दिएको छ । साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा१३४ जना अर्थात् २६ प्रतिशत महिला र ३८३ जना पुरुष सहभागी भएको महानगरले जनाएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये २१ प्रतिशत काठमाडौं महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका सेवाग्राही पनि सर्वेक्षणमा सहभागी भएको महानगरको भनाइ छ । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत थिए ।

शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १८६ जना (३६ प्रतिशत) सहभागी भएका थिए । सबैभन्दा धेरै विद्यार्थी २२३ जना (४३ प्रतिशत) र सर्बैभन्दा कम दैनिक ज्यालादारी, मजदुरी गर्ने १३ जना (३ प्रतिशत) सर्वेक्षणमा सहभागी भएको महानगरले जानकारी दिएको छ ।

सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत) ले मात्र काठमाडौं महानगरको वेबसाइट प्रायः हेर्ने कुरा बताए । ३५९ जना अर्थात् ६९ प्रतिशतले वेबसाइट हेर्नुको मुख्य कारणमा सूचना प्राप्त गर्न भन्ने जवाफ दिएका थिए । २९ प्रतिशत सेवाग्राही वेभसाइटबाट आफू अति नै सन्तुष्ट रहेको बताए । २२८ जना (४४ प्रतिशत) ले केही मात्रामा सन्तुष्ट रहेको विचार राखे । ४० जना (८ प्रतिशत) ले असन्तुष्टि व्यक्त गरे ।

सेवा प्राप्त गर्न लागेको समयका विषयमा गरिएको सर्वेक्षणमा ३२१ जना (६२ प्रतिशत) ले सेवाग्राहीले समयमै काम सकिएको बताए । २९६ (५७ प्रतिशत) जनाले एक घण्टा भित्रै काम सकिएको बताए । २८९ जना (५६ प्रतिशत) सेवाग्राहीले सेवा लिन बढीमा दुई जना कर्मचारी भेट्नु परेको थियो । सेवाको गुणस्तरमा ३१६ जनाले राम्रो लागेको बताए । ३३१ जना अर्थात् ६४ प्रतिशतले कार्यालयको भौतिक स्वरूप राम्रो लागेको बताए ।

१०८ जना (२१ प्रतिशत) ले खोजेको जस्तो सेवा नपाएकोले सेवा चित्त नबुझेको बताए । ४७ जना ले कर्मचारीले राम्रो व्यवहार नगरेको बताए । १६३ जनाले सेवा चित्त नबुझेका सम्बन्धमा उजुरी गर्न चाहने कुरा बताए ।

पछिल्लो समयमा लिएको सेवाका विषयमा १८४ जना (३६ प्रतिशत) ले पछिल्लो १२ महिनाभित्र सेवा लिएको बताएका थिए । १३९ जनाले सेवामा धेरै नै सुधार आएको बताएका थिए भने १५ जनाले झन् बिग्रेर गएको विचार व्यक्त गरे ।

सर्वेक्षणले देखाएको अवस्थाबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘सर्वेक्षणले देखाएको सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीहरुबाट व्यक्त विचारहरूका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा कार्यक्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।’

उनले महानगरले एकल सेवा केन्द्रको सुरुआत गरिसकेको र निर्धारित समयभित्र सेवा उपलब्ध गराउन तत्काल सेवाग्राहीको कागजातको जाँच गर्न, सम्पर्क बिन्दु एउटै बनाउन, वद्युतीय सुशासन तथा विद्युतीय साधनको उपयोग तथा व्यवहारिक प्रयोग गर्न र ईसरकारको अवधारणाको व्यवहारिक कार्यान्वयन गर्न सेवा केन्द्रको सेवा सशक्त बनाइने बताए ।

आगामी वर्ष यही समयमा एउटै विधिबाट सेवाग्राही सर्वेक्षण गरी सेवाप्रवाहको स्थितिको तुलना गरिने, परियारको भनाइ छ । सर्वेक्षणका संयोजक उपनिर्देशक प्रहलाद घिमिरेका अनुसार ३ जना कर्मचारी र ३ जना प्रशिक्षार्थी विद्यार्थी परिचालन गरेर सर्वेक्षण गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?