+
+

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

रासस रासस
२०८१ भदौ २१ गते ९:५५

२१ भदौ, भोजपुर। भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो ।

टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती, मझौलेका स्थानीयले वनजंगलबाट संकलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायतका सहरमा जाने गरेको छ । संकलित निगुरो गाउँघरबाट नै बिक्री हुने स्थानीयवासी रमेश विष्टले बताए ।

विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरबाट नै बिक्री भइरहेको छ । हालसम्म यो क्षेत्रबाट करिब दुई हजार पाँच सय निगुरो केजी निर्यात भएको उनको भनाइ छ । वन, जङ्गल, खोलाखोल्सी तथा चिस्यान क्षेत्रमा पाइने निगुरो कात्तिक, मंसिर महिनासम्म संकलन गर्न सकिने उनले बताए ।

‘सडकको पहुँच विस्तारसँगै गाउँघरका कृषिउपजलाई बाहिरका सहर बजारमा सहज भएको छ’, उनले भने, ‘निगुरो बिक्री होला भन्ने लागेको थिएन । तर अहिले खेर गइरहेको निगुरो बिक्री भइरहेको छ । याममा निगुरो बिक्री गरेर सामन्य रुपमा घर खर्च चलाउने अवस्था बनेको छ ।’ गाउँघरमा संकलन गरिएको निगुरो प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार एक जना कृषकले एक दिनमा ३० देखि ४० केजीसम्म निगुरो संकलन गर्ने गर्दछन् । पात भएकोभन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने उनको भनाइ छ । स्थानीयवासीले वर्षात् याम सुरु भएपश्चात् जेठ असारदेखि कात्तिक, मंसिर महिनासम्म निगुरो बेच्दै आएका छन् ।

वन, जंगलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेको स्थानीय लालबहादुर विष्टले बताए । उनिउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन, जंगल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो ।

निगुरो पहाडी क्षेत्रमा बढीमात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् । जैविक र मौसमी तरकारी निगुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ ।

निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवतीलाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ । स्थानीयस्तरमा पाइने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ । गाउँपालिकाभित्रका धेरै क्षेत्रमा निगुरो पाइने उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?