+
+

चोभारको फलफूल बजार समयमै निर्माण नभए कारबाही : कृषिमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:४४

२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौं चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजारको काम तत्काल पूरा नगरे कारबाही गर्ने बताएका छन् ।

असार २०७३ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पूरा नभएपछि कृषिमन्त्री अधिकारी शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए ।

११औं पटक थपिएको म्याद सकिन केही दिनमात्र बाँकी छ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ ।

त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।

सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने र गर्ने भन्दै मन्त्री अधिकारीले तत्काल भवन निर्माणको बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार रहेको बताए ।

चोभारमा रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी असोज २०७३ मा करिब ३५ करोड रुपैयाँ लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि १३ चैत २०८० मा २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औं पटक म्याद थप भएको थियो ।

त्यस्तै काम सक्न झन्डै एक सातामात्र बाँकी छ । तर, पूर्वसहमति अनुसार अझै १३ प्रतिशत काम पूरा हुन सकेको छैन भने समयमा काम पूरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको छ ।

लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?