+
+

यो साता निर्जीवन बीमा ५ प्रतिशत बढ्यो

यी हुन् मूल्य धेरै घटबढ भएका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १८:३०

२१ भदौ, काठमाडौं । यो साता पनि बजारमा करेक्सनको निरन्तरता देखिएको छ । तर करेक्सनको साइज भने गत साताभन्दा घटेको छ । गत साता २७४९ अंकमा रहेको बजार यो साता २७२७ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार २२ अंक अर्थात् ०.८ प्रतिशत घट्यो ।

यो साता बजारको गिरावट दर गत साताको भन्दा निकै न्यून हो । गत साता बजार ७.५ प्रतिशतले घटेको थियो । बजारको गिरावट दर खुम्चिनुले अब लगानीकर्ता न्यून मूल्यमा सेयर बेचेर बाहिरिन चाहेका छैनन् भन्ने जनाउँछ । तर बजारमा लगानीकर्ताको मनोभाव ‘स्टप लस’तिर पनि जान सक्छ ।

आइतबार पहिलो दिन ५३.६३ अंक घटेको बजार सोमबार नै १२७ अंक बढेको थियो । मंगलबार थप ६.९४ अंक बढे पनि बुधबार ९०.७३ र बिहीबार १२.१० अंक घट्यो ।

बजार घट्दा कारोबार रकम पनि घट्दै गएको देखिन्छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोड, मंगलबार १३ अर्ब ५७ करोड, बुधबार १२ अर्ब ९२ करोड तथा बिहीबार ९ अर्ब ६५ करोडको भयो । यो साता विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह बढे ।

निर्जीवन बीमामा उच्च आकर्षण
समग्र बजार घट्दा पनि यो साता निर्जीवन बीमा समूहमा राम्रो आकर्षण देखियो । सो समूहको सूचक ५.०३ प्रतिशत बढ्यो । यहीं समूहको एउटा कम्पनी एनएलजी इन्स्योरेन्स मूल्य धेरै बढेका टप १० कम्पनीमा पर्‍यो ।

निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था छ । धेरैजसो कम्पनीहरुको चुक्ता पूँजी पुगेको छैन । हाल बजारमा १२ निर्जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । तीमध्ये ८ कम्पनीको चुक्ता पूँजी साढे २ अर्बभन्दा कम छ ।

नेको, सानिमा जीआईसी, युनाइडेड अजोड, नेपाल, एनएलजी, प्रभु, नेसनल र राष्ट्रिय बीमा कम्पनीले तोकिएको चुक्ता पूँजी पुर्‍याएका छैनन् । जसले गर्दा यो पटक केही कम्पनीले राम्रो बोनस सेयर दिने र केहीले हकप्रद निष्कासन समेत गर्नुपर्ने बाध्यता छ । यहीं कारण निर्जीवन बीमा कम्पनीमा केही आकर्षण देखिएको छ । तर हकप्रद र बोनस सेयरका लागि मूल्य उचालिएर खरिद गर्नु जोखिमपूर्ण हुनेछ ।

उच्च कारोबार 
यो साता रकमका आधारमा उच्च कारोबार भएका कम्पनीमा गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, अपी पावर, एनएलजी इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर तथा राधि विद्युत् क्रमशः अगाडि रहे ।

त्यस्तै सेयर संख्याका आधारमा उच्च कारोबार भएका कम्पनीमा अपी पावर, अरुणभ्याली हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माथिल्लो तामाकोशी, कुमारी बैंक, एचआईडीसीएल, निफ्रा र प्रभु बैंक क्रमशः अगाडि रहे ।

कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोशी, निफ्रा, हिमाल दोलखा हाइड्रोपावर, एचआईडीसीएल, कुमारी बैंक, गुडविल फाइनान्स, अरुणभ्याली हाइड्रोपावर र प्रभु बैंक क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?