+
+
कीर्तिमानी पलेशाका प्रशिक्षक :

फुटबलमा जागिर खाएर पारा तेक्वान्दो धानेका कविराज

नेगी पारा तेक्वान्दोका एक्लो प्रशिक्षक हुन् । नेगी अन्तर्राष्ट्रिय पारा तोक्वान्दोका लेभल टू कोच समेत हुन् । तर पारा तेक्वान्दोका खेलाडीहरुलाई प्रशिक्षण दिए वापत कुनै सेवा सुविधा पाउँदैनन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ भदौ २१ गते २०:०३

२० भदौ, काठमाडौं । फ्रान्सकी सोफी काभाजोनलाई पराजित गरेसँगै पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई लागिसकेको थियो, अब ओलम्पिकमा पदक पक्का ।

फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० गर्दै स्वर्णका लागि सुखद सुरुवात गरिन् । तर क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना मायारा फर्नान्डेजसँग १०–८ ले हारेसँगै स्वर्ण सम्भावना सकियो ।

रिपाचेज(पदक जित्न दिइने अवसर) दुई खेल जिते (कांस्य) पदक आउँथ्यो । तर पलेशाको पहिलो खेल नै फ्रान्सकी सोफीसँग पर्‍यो । विश्व वरियतामा पाँचौं नम्बरमा रहेकी सोफीलाई घरेलु समर्थकका माझ हराउन सहज थिएन । तर पलेशाले २–१ ले जित्दै कास्यका लागि सर्वियाकी मारियासँग भेट पक्का गरिन् ।

मारिया पनि विश्व वरियतामा पलेशाभन्दा माथि नै थिइन् । तर २०२१ को टोकियो ओलम्पिकमा हराइसकेकाले पलेशा र नेगी जितप्रति यति ढुक्क देखिए कि कांस्य पदक जित्दा राष्ट्रिय झण्डा कसरी बोकेर सेलिब्रेसन गर्ने समेत सल्लाह गरे ।

नेपाली समय अनुसार शुक्रबार मध्यरात (११ः५३ बजे) मा पलेशा र मारियाको फाइट सुरु भयो ।

प्रतिस्पर्धा सोचे जस्तो सहज भएन । ५ मिनेटको खेलमा मारियाले सुरुमै लिड लिइन् । सुरुआती २ मिनेटमा लगातार अंक लिँदै उनले ३–० को अग्रता बनाएपछि प्रशिक्षक नेगी आत्तिए ।

प्रशिक्षकले एक पटक टाइम आउट लिन पाउँछन् । नेगीले हतार हतार टाइम आउट मागे । टाबलले पलेशाको पसिना पुछिदिए, पानी दिए । अनि निर्देशन दिए, दायाँ खुट्टा अगाडि राख, देब्रोले हान ।

दुबैले मरिनाको पुरानो फाइट हेरेर सबल पक्ष के हो ? कमजोर पक्ष के हो भनेर विश्लेषण गरेकै थिए । उनको देब्रे खुट्टा बढी चल्थ्यो । पलेशासँग भएको फाइटमा पनि त्यही देखेपछि प्रशिक्षक नेगीले त्यही कमजोरीमा हान्न निर्देशन दिए ।

फाइटमा फर्किएकी पशेलाले भटाभट अंक जोड्न थालिन् र ४–३ को अग्रता बनाइन् । तर मारियाले ७–७ मा भेट्टाइन् भने पलेशाको गल्तीका कारण एक अंकको अग्रता पनि लिइन्, जतिबेला खेल सकिन ५० सेकेन्ड मात्र बाँकी थियो ।

पलेशाले २०२१ को ओलम्पिकमा अन्तिम १० सेकेन्ड सम्हाल्लिन नसक्दा पदक जित्ने अवसर गुमेको सम्झिइन् । आत्मविश्वासका साथ प्रशिक्षक नेगीको रणनीतिअनुसार खेलिन् । दायाँ खुट्टालाई अगाडि राखिन्, अनि मरियामाथि एकपछि अर्को बडी किक हानिन् । त्यसमा लगातार ८ अंक बटुलेपछि १५–८ ले जितिन् ।

पशेलाले ओलम्पिक मडेल पक्का गरेपछि प्रशिक्षक नेगीले आफूलाई रोक्न सकेनन्, उनको आँखाबाट बर्रर आँशु झर्‍यो ।

‘देशको झण्डा फर्फराउन पाउँदा खुसी बयान नै गर्न सक्दिनँ । त्यहाँ हामीले बोक्नु भनेको सारा नेपालीको झण्डा बोक्नु हो । नेपालीको शीर ठाडो गराउन पाउदा यति आनन्द आयो कि भन्नै सक्दिनँ’ प्रशिक्षक नेगीले त्यो क्षण सम्झिए ।

‘हाइट’ले धोका दिएका नेगी

पलेशाका प्रशिक्षक नेगीले ९० को दशकताका काठमाडौं जिल्लाका तेक्वान्दोमा जुनियरमा राम्रै खेलाडी थिए, तर सिनियरमा जम्न सकेनन् । कारण उनलाई हाइटले धोका दियो । नेगी ५.३ फिट अग्ला थिए । अग्लो कदका खेलाडीसँग राम्रो प्रतिस्पर्धा गर्न गाह्रो भयो ।

त्यसपछि उनले खेल करियर धेरै अगाडि बढेन । सन् २००५ देखि उनले तेक्वान्दो सिकाउन थाले । तेक्वान्दो एकेडेमी र स्कुलहरुमा बालबालिकालाई प्रशिक्षण दिन्थे ।

त्यही क्रममा २०१५ मा उनको पशेलासँग भेट भयो । त्यसअघि नै डीएभी स्कुल जाउलाखेलमा तेक्वान्दो सिकाउने उमेश शाहले नेगीलाई पलेशाबारे सुनाएका थिए । उनै पलेशालाई उनले त्रिपुरेश्वरस्थित कभर्ड हलमा प्रशिक्षण दिन थाले ।

तोक्वान्दो संघले पारा कमिटी बनाएर कल्याण कुमार र नेगीलाई स्वयंसेवक प्रशिक्षक तोक्यो । सन् २०१६ मा पलेशा राष्ट्रिय टिममा परेपछि नेगीले नियमित प्रशिक्षण गराउन थाले ।

पलेशाले राम्रो गर्दै गइन् । उनी २०१७ मा विश्वन पारा तेक्वान्दो च्याम्पियनसिपमा छनोट भइन् । त्यसबेला पलेशा मात्र  १३ वर्षकी थिइन् । उनका बुबा प्रदीप र आमा मनितालाई भेट्न नेगी आफैं पलेशाको घर बागबजार पुगे ।

प्रदीप र मनिताले प्रशिक्षक नेगीमाथि विश्वास गरे, पलेशालाई खेल्न कोरिया पठाए । पलेशाले अन्तराष्ट्रिय डेब्यू प्रतियोगितामा नै पाँचौं भइन् । त्यसयता एकपछि अर्को खुड्किलो चढेकी पलेशा निरन्तर नेगीकै प्रशिक्षणमा छन् ।

२०१८ मा कल्याणले प्रशिक्षक छाडेपछि नेगी पारा तेक्वान्दोका एक्लो प्रशिक्षक हुन् । नेगी अन्तराष्ट्रिय पारा तोक्वान्दोका लेभल टू कोच समेत हुन् । तर पारा तेक्वान्दोका खेलाडीहरुलाई प्रशिक्षण दिए वापत कुनै सेवा सुविधा पाउँदैनन् ।

खर्च जोहो गर्न उनी अखिल नेपाल फुटबल संघ (एन्फा) मा (सन् २०१८ देखि) काम गर्छन् । उनी विहानै ५ बजे उठेर साढे ६ सम्म तेक्वान्दाको भवन सातदोबाटो आइपुग्छन् । त्यहाँ पारा खेलाडीलाई प्रशिक्षण दिन्छन् ।

सुरुसुरुमा पारामा १५/२० खेलाडी थिए । तर सबैले अभ्यासलाई निरन्तरता दिन सकेनन् । अहिले ७÷८ जना खेलाडी छन् । साढे ८ बजे पारा खेलाडीलाई अभ्यास गराएपछि उनी आसपासको होटलमा खाना खान्छन् र १० बजे एन्फा पुग्छन् । साँझ ५ बजेसम्म उनी त्यहाँ काम गर्दछन् ।

‘एन्फाको जागिरका कारण मलाई धैरै सहयोग भयो’, नेगी भन्छन्, ‘बिदादेखि धेरै कुरामा सहयोग गरेको छ । एन्फालाई म धन्यवाद दिन चाहन्छु ।’

प्रतियोगिताको समयमा उनी साँझ पनि तेक्वान्दो हल पुगेर पारा तेक्वान्दोका खेलाडीहरुलाई प्रशिक्षण दिन्छन् ।अनि बल्ल घर जान्छन् ।

‘खेलाडीहरुलाई हेर’

नेगीको प्रशिक्षणमा पाराले नेपाललाई ३ स्वर्ण, ६ कास्य र २ रजत गरी ११ पदक जिताएका छन् । नेपालकै उत्कृष्ट पारा खेलाडीहरू पलेशा, सृजना, दीपेश महत, विशाल गर्वुजाहरू उनकै उत्पादन हुन् । यो पटक ओलम्पिकमा पदक जितेपछि पलेशासँग उनलाई प्रशिक्षण दिने नेगीबारे सोधीखोजी भएको छ ।

‘श्रीमती गर्भवती हुँदा, बुबालाई आईसीयूमा राख्दा समेत समय दिन पाइन । यस्तो बेला दुःख लाग्छ । तर देशको जिम्मेवारी छाड्न सकिदैनँ ।’

युवा तथा खेलकुदमन्त्रीले समेत चासो देखाएका छन् । बुधबार स्वदेश फर्किएकी पलेशालाई नगर परिक्रम गराएपछि राष्ट्रिय खेलकुद परिषद्मा आयोजित कार्यक्रममा मन्त्री तेजुलाल चौधरीले प्रशिक्षक नेगीलाई अहिलेसम्म किन तलबीप्रशिक्षक नबनाएको भनेर प्रश्न गरेका थिए ।

यदि नियम कानुनमा कुनै अड्चन भए संशोधन गरेर भएर पनि दिनुपर्ने उनको जोड थियो ।  बिहीबार राखेपले अधिकृत तृतीय सरह प्रशिक्षकमा नियुक्त गर्न सिफारिस गरेको छ ।

नेगी भने खेलाडीहरुलाई चाहिने आधारभूत आवश्यकता पूरा गरिदिन आग्रह गर्छन् । उनका अनुसार कोही पनि आमाबुबा अपांगता भएका आफ्ना छोराछोरीलाई सहजै खेल्न दिन तयार हुन्नन् ।

एउटा हातमा अपांगता भएकाहरुलाई पारामा खेलाउने गरिएको छ । तर कसैले हान्दियो, लडेर खुट्टा भाचियो भने के गर्ने भनेर तेक्वान्दो खेल्न अनुमति दिँदैनन् । अहिले पलेशाले दिएको सफलताले पारा तोक्वान्दोमा नयाँ खेलाडीलाई आकर्षण गर्न सक्ने आशा राखेका छन् ।

तर अहिले काठमाडौं बाहिरका खेलाडीहरुलाई बोलाएर खाना बस्न दिएर अभ्यास गराउने अवस्था छैन ।

त्यसैले खेलाडीहरुको आधारभूत आवश्यक पूरा गर्ने र अर्को एउटा प्रशिक्षकको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनी चाहन्छन् । ‘मैले मात्र जागिर खाएर हुँदैन । खेलाडीहरुलाई यहाँ टिकेर खेल्न गाह्रो छ,’ तेक्वान्दो प्रशिक्षक नेगी भन्छन्, ‘खेलाडीहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको व्यवस्था मिलाए राम्रो हुन्छ । म त यसै भोलेन्टियर, उसै भोलेन्टियर ।’

परिवार सम्झिँदा भावुक भए

संयुक्त परिवारमा बसेका नेगी परिवारलाई समय दिन नसकेकोमा दुःख मनाउ गर्छन् ।

उनका हजुरबुबा र काका थानकोट घरमा बस्छन् । चाबाहिलमा श्रीमती र छोरी कोठा भाडामा लिएर बसेका छन् । नेगीसातामा तीनचार दिन चाबहिलमा बस्छन्, बाँकी दिन हजुरबुबा कहाँ पुग्छन् ।

५ वर्षको उमेरमै आमा गुमाएका कविराजले आफ्नो छातिमा आमाको ट्याटु बनाएका छन् ।

उनकी साढे दुई वर्षकी छोरी छिन् । तर उनले छोरीलाई समेत समय दिन सकेका छैनन् । बिहान पाँच बजे उठेर हिड्दा छोरी सुतिरहेकी हुन्छिन्, बेलुका ८/९ बजे पुग्दा छोरी निदाइसकेकी हुन्छन् ।

‘हजुरबुबा र फुपुले पढाउनु भयो, हुर्काउनु भयो । तर उहाँलाई घरमा केही पर्दा मैले चाहेर पनि केही गर्न सक्दिनँ’, नेगी भन्छन्, ‘श्रीमती गर्भवती हुँदा, बुबालाई आईसीयूमा राख्दा समेत समय दिन पाइन । यस्तो बेला दुःख लाग्छ । तर देशको जिम्मेवारी छाड्न सकिदैनँ ।’

यो पटक पनि त्यस्तै भयो । पलेशाको पारालिम्पिक्सको तयारीका लागि म्यानचेस्टर गएका थिए ।

त्यही बेला माइलो काकाको निधन भयो । नेगीका अनुसार उनले विवाह समेत गरेका थिएनन् ।

बिहे गर्नुस् न भन्न्दा गर्दिन, मलाई दागबत्ती दिने त छँदै छस् भन्नुहुन्थ्यो । उहाँ बित्दा पनि म आउन सकिनँ’, प्रशिक्षक नेगीले गहभरी आँशु पारे, ‘रुन बाहेक मसँग केही विकल्प भएन ।’

<iframe width=”900″ height=”515″ src=”https://www.youtube.com/embed/Pkt80nw79wk?si=FtWuSvpONwqE5QrD” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?