+
+

सापटी लगेको ५ हजार लिन जाँदा नङमा नेल ठोकियो, शरीरमा तातो आइरनले डामियो

ड्रिलको चोटभन्दा आइरनकै पीडा खप्न सहज होला भनेर बाध्य भएर अनिलले आइरन रोज्छन् । अनि उनको शरीरभर तातो आइरन डामिन्छ । नङमा सियो घोपिन्छन् । अनिल पीडाले चिच्याउँछन्, रुन्छन् । देउला यसमा मज्जा लिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १९:४५

२१ भदौ, काठमाडौं । २१ वर्षीय अनिल (नाम परिवर्तन) नाम गरेका एक युवकलाई ७ भदौ साँझ साढे ६ बजेतिर उनका साथीले फोन गरेर टेकु दोभानको पुल नजिक बोलाउँछन् ।

फोन गरेर बोलाउने साथीले सापटी लगेको रकम लिन आउनु भन्छन् । अनिलसँग ती व्यक्तिले ९ हजार सापटी लगेका थिए । ४ हजार फिर्ता गरेका थिए भने ५ हजार फिर्ता गर्न बाँकी नै थियो ।

त्यसपछि उनी रकम लिन भनेर अर्को एक जना साथीलाई सँगै लिएर टेकु दोभान पुल पुग्छन् । त्यहाँ पुगेपछि ती व्यक्तिले भन्छन्, ‘मेरो मामाले पैसा मागेर तपाईलाई दिने हो अलि अगाडिसम्म जाऔं ।’

अनिल पनि हुन्छ भन्दै अघि लाग्छन् । ‘केही पर पुगेपछि एक्कासी ४/५ जना मान्छे आएर उनलाई झापझुप समात्छन् । आफूहरु सादा पोशाकको प्रहरी भएको बताउँछन्’ अनिलले अनलाइनखबरलाई सुनाए, ‘अनि गाडीमा हाल्छन् । एउटा अँध्यारो गल्लीभित्रको घरमा पुर्‍याउँछन् ।’

अनिललाई लगनटोलको एउटा गल्लीभित्रको घरमा लगिन्छ । उनलाई गाडीमा हालेर लैजाने मध्ये एक व्यक्ति अनिलले चिनेकै मान्छे हुन् । ती व्यक्ति हुन्– बुढानिलकण्ठ नगरपालिका–१ का ३३ वर्षीया आशिष देउला ।

त्यो अँध्यारो कोठामा पुर्‍याएपछि अनिलमाथि कुटपिट सुरु हुन्छ । उनका कपडा च्यातिन्छन् । अनि आइरन तताउन थालिन्छ । अनि देउला ड्रिल मेसिन निकाल्दै चलाउन थाल्छन् । यतिन्जेलसम्म अनिल छक्क परेर घटनाक्रम नियालिरहेका हुन्छन् ।

एकछिनको मौनता तोड्दै देउलाले अनिललाई सोध्छन्– लु भन् ड्रिल हानौं कि आइरन घोटौं ?

ड्रिलको चोटभन्दा आइरनकै पीडा खप्न सहज होला भनेर बाध्य भएर अनिलले आइरन रोज्छन् । अनि उनको शरीरभर तातो आइरन डामिन्छ । नङमा सियो घोपिन्छन् । अनिल पीडाले चिच्याउँछन्, रुन्छन् । देउला यसमा मज्जा लिन्छन् ।

यो सबै दृश्य नियालेर कोठामा बसिरहेका अरु ४/५ जना युवाहरु पनि अनिलको पीडामा चरम आनन्दित हुन्छन् । उनीहरुले अनिललाई पीडा नदिन भन्दैनन् । बरु जति बढी पीडा हुन्छन् त्यसमै उनीहरु पनि आनन्दित हुन्छन् । करिब ३ घण्टासम्म लगनको अँध्यारो कोठामा राखेर अनिललाई पीडा दिएपछि पुरानै ठाउँमा रातिको करिब ९ बजेतिर अनिललाई छाडिन्छ ।

छाड्ने बेलामा देउलाले धम्की दिन्छन्– प्रहरीलाई नभन्नु । भनिस् भने तेरो मात्रै होइन, तेरो परिवारको पनि हालत यस्तै हुन्छ ।

एउटा आँखा नभएको मान्छेको फोटो भिडिओ देखाउँदै देउलाले थप धम्की दिन्छन्– प्रहरीलाई भनिस् भने तेरो पनि एउटा आखाँ यस्तै बनाइदिन्छु ।

देउलाको यो धम्कीले त्रसित भएका उनी घटनाबारे प्रहरीमात्रै होइन कसैलाई पनि बताउन सक्ने अवस्था हुँदैनन् । घटनाको १० दिनसम्म उकुसमुकुस भएको पीडा जिल्ला प्रहरी परिसर भद्राकालीमा गएर उनले १७ भदौमा पोख्छन् ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले देउलाका साथै टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाइघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुलाई बुढानिलकण्ठको एक घरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट यातना दिन प्रयोग भएको आइरन, नक्कली पेस्तोल, ह्याम्मर र ड्रिल मेसिन समेत बरामद गरेको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

साथीकै भूमिका शंकास्पद

जसले सापटी लगेको पैसा लिन भन्दै अनिललाई बोलायो उसकै योजनामा यो घटना भएको प्रहरी अधिकारीहरुको आशंका छ । उनी समेत अभियुक्त हुनसक्ने भन्दै परिचय गोप्य राखिएको छ । ती व्यक्ति अहिलेसम्म फरार छन् ।

यो घटनाको सुरुवात भने करिब ३ महिनाअघि ठमेलको सनेट क्लबबाट सुरु भएको पाइन्छ । अनिल बेला–बेला नाइट क्लब जाने गर्थे । करिब ३ महिना अघि सनेट क्लबमा अनिल साथीसँग गएका थिए ।

अनिलसँग भएका ती साथी र अहिले पक्राउ परेका देउलाबीच पूर्वचिनजान थियो । त्यसपछि तीनै साथीमार्फत अनिलको पनि देउलासँग चिनजान भएको थियो ।

त्यसपछि पनि क्लबमै पटक–पटक अनिल र देउलाको भेट भएको थियो । उनीहरु झन नजिकिएका थिए । क्लबमा सुरुमा देउलासँग समेत चिनजान गराउने र पछि रकम लिन बोलाएकै बेला अनिललाई अपहरण शैलीमा लगेर यातना दिइएकाले यसमा उनकै साथीको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?