+
+
दिलै खोलेर :

‘गायिका र नायिका बीच फेसबुकमा चलेको जुहारी देख्दा दिक्क लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते २०:०५

यो समयकी सर्वाधिक व्यस्त अभिनेत्रीमा स्वस्तिमा खड्का अग्रणी स्थानमा पर्छिन् । घटस्थापनामा प्रदर्शनमा आउने आफूले निर्माण गरेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रचार रणनीतिमा व्यस्त अभिनेत्री स्वस्तिमाले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :

हिजोआज

१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

मैले निर्माण गरेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिति नजिकिंदै गएको छ । त्यसैले यसैको प्रचारका योजना बनाउने काममा नै अहिले व्यस्त छु । कलाकार मात्र हुँदा सजिलो थियो । आफ्नो भागको काम गर्‍यो, आयो । निर्माता भएपछि त धेरै चिजको विचार गर्नुपर्ने हुँदो रै’छ । यसबाहेक नयाँ फिल्म ‘बसन्त’को वर्कसप र स्क्रिप्ट रिडिङ पनि भइरहेको छ ।

२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?

आफ्नै फिल्म ‘बेहुली फ्रम मेघौली’का गीत र टिजरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकहरूले यसप्रति देखाउनुभएको उत्साहले खुशी बनाएको छ । सिक्वेल वा भयंकर नाम चलेका निर्देशकका फिल्मले हाइप पाउँछन् । नयाँ फिल्मलाई गाह्रो हुन्छ । त्यसैले पनि यो हाइपले खुशी बनाएको हो ।

३. दिक्क बनाएको कुरा ?

दिक्क बनाएको चाहिं हालसालै फेसबुकमा एक नायिका र गायिका बीच चलेको जुहारीले ।

४. अबका योजना के छन् ?

तत्कालको त ‘बेहुली फ्रम मेघौली’को मार्केटिङका साथै सुटिङमा जान लागेको फिल्म ‘बसन्त’को तयारीकै हो । दीर्घकालीन चाहिं सिनेमामा अहिले गरिरहेभन्दा अरू भूमिकामा पनि काम गरौं भन्ने छ । त्यो भनेको कलाकार र निर्माताका रूपमा काम गरियो, अलि समयपछि निर्देशनमा जाने पनि सोच छ । किनभने, फिल्ममा काम गर्न थालेदेखि नै फिल्मको क्याप्टेन त निर्देशक रै’छ, प्रोजेक्ट बनाउने त निर्देशकले रै’छ भनेर यसप्रति म आकर्षित भएकी हुँ ।

५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?

फोन र सामाजिक सञ्जाल एकदमै धेरै चलाउँछु । मेरो सोख नै सायद फोन र सामाजिक सञ्जाल चलाउने होला । दिनमा ६–७ घण्टा त हुन्छ होला । राति ब्युँझिएँ भने पनि फोन नै हेर्छु

जीवनमा अवस्था र परिस्थिति अनुसार कुनै पनि कुराको महत्व परिवर्तन हुँदोरहेछ । कुनै बेला सबभन्दा महत्वपूर्ण लागेको कुरा अर्को समयमा केही नलाग्न सक्छ । सबै कुराबाट निरपेक्ष भएर हेर्ने हो भने सबभन्दा महत्वपूर्ण त आफ्नै खुशी नै रहेछ । आफू खुशी भइयो भने मात्र अरूलाई पनि खुशी दिन सकिनेरहेछ । मेरो जीवनमा महत्वपूर्ण स्थान राख्ने आमाबुबा वा श्रीमान्लाई खुशी राख्न पनि पहिले म खुशी हुनु जरूरी हुनेरहेछ । एउटा बेखुश मान्छेले अरूलाई खुशी बनाउन सक्दैन । मेरो काममा शतप्रतिशत दिनलाई पनि म खुशी हुनुपर्ने रहेछ ।

६. अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

ग्राफिक्स डिजाइनिङ । हालै हाम्रो फिल्मको पोस्टरको मेकिङमा बस्दाखेरि मैले भएको भए यसरी गर्थें भन्ने आइडियाहरू आयो । त्यसयता ग्राफिक्स डिजाइनिङमा रुचि जागिरहेको छ । चाँडोभन्दा चाँडो आइप्याड र पेन किनेर सिक्न मन लागेको छ ।

७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

हाम्रो समाजको सबभन्दा राम्रो पक्ष भनेको यहाँका मान्छे नै हो । विदेश जाँदा वा नेपालमा आएका विदेशीलाई मैले नेपालको के मनपर्‍यो भनेर सोध्दा सबैले नेपालका मान्छे भन्ने गरेको पाउँछु । नेपालीको आत्मीयता, आफ्नोपन र अतिथि सत्कार राम्रो छ । म आफैं बाहिर जाँदा पनि त्यहाँ हाम्रो जस्तो समाजको न्यानोपन पाउदिनँ । त्यो न्यानोपना कहिल्यै नहराओस् भन्ने लाग्छ । र, नराम्रो कुरा पनि यही विशेषताले गर्दा नेपालीलाई अति नै संवदेनशील बनाउने गर्छ । स–सानो कुरामा चाँडै भावुक र संवेदनशील भइहाल्ने र त्यसको प्रतिक्रिया दिइहाल्ने खालको समाज छ हाम्रो । उदाहरणका लागि हालैको भोजपुरका प्रकाशको प्रकरणलाई हेर्नुस् न !

८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

पत्रपत्रिका त धेरै भयो नहेरेको । अनलाइनमै समाचार हेर्छु । धेरैजसो समाचार त पन्छाउनै खोज्छु, चाहिने मात्रामा मात्रै समाचार लिने प्रयास गर्छु । पत्रकारितालाई खासै मूल्यांकन गरेको छैन । पत्रकार र पत्रकारितामा पनि विविधता छ ।

९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

फेरि गर्न पाएदेखि ‘बुलबुल’मा मैले गरेको रणकलाको चरित्र अझै राम्रो गर्थें होला जस्तो लाग्छ । अहिले फिल्म हेर्दा लाग्छ मैले गर्न त गरेकी छु, दर्शकहरूले तारिफ पनि गर्नुभएको छ तर त्यतिबेला म कच्चा नै थिएँ । अहिलेको जस्तो दृष्टिकोण, परिपक्वता त्यसबेला ममा थिएन । कतिपय दृश्यहरू मैले बुझ्दै नबुझिकनै गरेकी थिएँ । कलाकारले साँच्चिकै चरित्रलाई बुझ्ने भनेको फिल्म सकिएपछि मात्रै हो । कत्ति ठाउँमा त्यो चरित्रलाई हेर्ने तरिकालाई लिएर निर्देशक विनोद पौडेल र मेरो बीचमा मतभेद पनि थिए । अहिले गर्न पाएँ भने अलिकति केही फरक गर्थें कि जस्तो लाग्छ । अहिले म कलाकार राम्रो भएँ भनेको होइन, व्यक्तिका रूपमा नै मेरो ग्रोथ भएका कारण र मेरो दृष्टिकोण अलि विस्तारित भएकाले अहिले गर्दा मेरो ‘अप्रोच’ अलि फरक हुन्थ्यो होला भन्ने लाग्छ ।

१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

मतदान । राम्रो नेतृत्व छान्न सकियो भने मात्रै राम्रो भविष्य सुनिश्चित हुनेछ ।

नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने व्यवस्था गर्नेतिर लैजाने थिएँ । त्यसका लागि संविधान संशोधन गर्नुपर्ला, म त्यसतर्फ पहल थाल्थें । नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्ने लाग्छ

किताब
१. किताब पढ्ने बानी कत्तिको छ ? पढ्ने बानी कसरी बस्यो ?

मेरो किताब पढ्ने बानी कम छ । आजभोलि त धेरै पढ्ने भनेको स्क्रिप्ट मात्रै हो । कोभिडको समयमा भने मैले किताब पढें ।

२. पढ्न मनपर्ने विधा ?

यही विधा भन्ने त्यस्तो छैन । मलाई जीवनका बारे लेखिएका, राम्ररी बाँच्न सिकाउने किताबहरू पढ्न मन पर्छ ।

३. सबभन्दा मन परेको वा प्रभाव पारेको पुस्तक ?

त्यस्तो धेरै प्रभाव पारेको एउटै भन्ने त छैन । कोभिडको समयमा पढेको उपन्यास ‘लू’ चाहिं रमाइलो लागेको थियो । धेरै दिनसम्म यो किताब मेरो दिमागमा थियो । दुःखी र उदास बनाएको चाहिं ‘सेतो धर्ती’ले हो ।

४. निराश बनाएको पुस्तक ?

झूरै किताब रहेछ वा बोर गर्‍यो भने बीचमै छोडिदिन्छु ।

५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

यही भन्ने खासै छैन । विभिन्न उमेरका महिलाहरूलाई लक्षित गरी जीवनोपयोगी किताबहरू लेखिए हुन्थ्यो जस्तो लाग्छ । २० वर्षको मात्रै होइन, ५० वर्षका महिलालाई पनि हेरेर जीवन, जीवनशैली र स्वास्थ्यका बारे लेखिनुपर्छ जस्तो लाग्छ ।

६. तपाईंका प्रिय लेखकहरू ?

म एकदम धेरै किताब नपढ्ने भएकाले धेरै त थाहा छैन । ‘लू’ र ‘उलार’ पढेकाले नयनराज पाण्डेको लेखन मन परेको हो । तर, म कुनै पनि लेखकलाई फलो नै गर्ने हिसाबको फ्यानचाहिं कसैको पनि छैन ।

८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?

केही अभिनय सम्बन्धी किताब त छन् ती पढ्दा फाइदै हुन्छ । तर, समग्रमा कलाकारले किताब भन्दा पनि मान्छे र समाजकै अध्ययन गर्दा बढी राम्रो होला ।

९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

त्यस्तो कुनै लेखक वा पात्र अहिले दिमागमा आएन ।

सिनेमा

१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

पहिलोचोटि सानै हुँदा ममी र ममीको साथीहरूसँग काठमाडौंको हलमा राजेश हमालको ‘माटो बोल्छ’ भन्ने फिल्म हेरेको सम्झना छ । कुन हल थियो भन्ने थाहा छैन, रातिको शो थियो । फिल्मको धेरै कुरा याद नभए पनि फाइटको सिनमा म ह्वाँ–ह्वाँती रोएको चाहिं याद छ ।

२. कस्ता फिल्म हेर्न मन पर्छ ?

जीवनसँग जोडिएका फिल्महरू बढी मन पर्छ । उदाहरणका लागि ‘जिन्दगी ना मिलेगी दोबारा’ टाइपको । हालै हेरेको नेपाली फिल्म ‘गाउँ आएको बाटो’जस्तो पनि हेर्न मन पर्छ । फिल्म साधारण होस् तर एक्लै बसेर हेर्दा मजा आओस् ।

३. साह्रै मन परेका फिल्म ?

आमिर खानको ‘तारे जमिन पर’ र टम ह्यांक्सको ‘द टर्मिनल’ मन परेका र धेरै पटक हेरेका फिल्म हुन् । यिनका क्लिपहरू मात्रै कतै आए भने पनि म हेर्छु ।

४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

त्यस्ता त धेरै छन् । नामचाहिं नलिऊँ !

५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

म त्यस्तो छानेर हेर्दिनँ । राम्रा फिल्म त हेरिहालिन्छ म चाहिं कहिलेकाहीं अरूले नराम्रो भनेको फिल्म पनि हलमा गएर हेर्छु । त्यो किन नराम्रो भएछ त भनेर हेर्न मन लाग्छ ।

६. मन परेका कलाकार वा फिल्ममेकर ?

मलाई नेपालका प्रायः सबैजसो कलाकार मन पर्छन् । बाहिरचाहिं एकदमै मन परेको एक जना कलाकार इरफान खान हुन् । आफ्नो परिवारभन्दा बाहिरको कोही मर्दा म रोएको भनेको इरफान खान मर्दा मात्रै हो । टम ह्यांक्सका फिल्म पनि म नछुटाई हेर्छु । फिल्ममेकरमा चाहिं मलाई जोया अख्तर र उनको टिमकै काम राम्रो लाग्छ । जोया अख्तर र रीमा कागतीको लेखक जोडी मन पर्छ । उनीहरूका फिल्ममा दर्शाइने परिवारको मनोविज्ञान मलाई विशेष लाग्छ । उनीहरूको फिल्मको म प्रतीक्षामा हुन्छु ।

मलाई सुगम पोखरेलको स्वर निकै मन पर्छ । उहाँ भर्सटाइल पनि लाग्छ । ट्यालेन्टेड त अरू पनि हुनुहुन्छ, सुगम दाइको आवाजमा चाहिं सरस्वतीकै बास भए जस्तो लाग्छ

७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

नेपालमा सबै किसिमका फिल्म बन्नुपर्छ । सबै जनरामा, धेरैभन्दा धेरै प्रकारका फिल्म बनुन् भन्ने लाग्छ ।

८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्‍याएको ?

यस्तै हुनुपर्छ भन्न मिल्दैन होला । जस्तो किसिमको भए पनि राम्रोसँग बनाइएको हुनुपर्छ । कलाकारका रूपमा त म झन् सबैखाले बनुन् भन्ने चाहन्छु, ताकि मैले धेरै किसिमका चरित्रमा काम गर्न पाऊँ ।

घुमफिर र सोख

१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

मन त लाग्छ तर दुई–चार दिनमै मलाई आफ्नो काम मिस हुन्छ । त्यसैले कामका लागि हुने घुमफिर चाहिं मनपर्छ ।

२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

मलाई सबभन्दा मन पर्ने ठाउँ काठमाडौं नै हो । जहाँ गए पनि केही दिनपछि मलाई काठमाडौं मिस हुन थाल्छ । यहीं हुर्के बढेको, आफ्नै ठाउँ भएकाले पनि होला । जहाँ गए पनि काठमाडौं छोडेर बस्न सक्छु जस्तो लाग्दैन । जान मन लागेको ठाउँ चाहिं भियतनाम । त्यहाँको संस्कृति र भूगोलका कारण जान मन लागिरहेको छ ।

३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

यात्रामा ठाउँभन्दा पनि कम्पनी, साथ महत्वपूर्ण हुँदोरहेछ । तपाईं कोसँग, कसरी पुग्नुभयो भन्नेको धेरै अर्थ हुँदोरहेछ । कोभिड अगाडि गरेको म्यानमारको यात्रा यादगार थियो । त्यो कामकै लागि गरेको यात्रा थियो । साथी र काम दुवै राम्रो भएकाले त्यो यात्रा अहिले पनि सम्झनामा आइरहन्छ ।

४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

गीत सुन्छु । प्रायः गाडीमा गीत सुनिएकै भइन्छ । गीतले मेरो मूडलाई प्रभावित पार्छ । मलाई ए.आर रहमानका गीत मन पर्छन् । मलाई सुगम पोखरेलको स्वर निकै मन पर्छ । उहाँ भर्सटाइल पनि लाग्छ । ट्यालेन्टेड त अरू पनि हुनुहुन्छ, सुगम दाइको आवाजमा चाहिं सरस्वतीकै बास भए जस्तो लाग्छ ।

५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?

आजभोलि पनि एआर रहमान नै सुन्छु । भर्खरै, आज पनि रहमानकै गीत सुनें । नेपाली कलाकार भएर विदेशीको प्रचार त गर्दिनँ तर पहिलेदेखि नै हिन्दी गीत–संगीत सुनेकाले होला यसको प्रभाव बढी नै छ ।

६. के कुराको विशेष सोख छ ?

खासै कुनै पनि कुराको त्यस्तो सोख छैन । ब्रान्डेड लुगा, गहनाको पनि छैन, चुरोट रक्सी खाइँदैन । त्यही भएर होला मेरो धेरै पैसा पनि खर्च हुँदैन । मेरो सोख मेरो काम नै हो । म अलि बोरिङ नै मान्छे छु ।

७. खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

खानाको पनि म त्यस्तो सोखिन होइन । जे पनि खाइदिन्छु । यही मनपर्छ भन्ने छैन । धेरै वर्षदेखि खाएको भएर होला सुटिङको खाना पनि मनपर्छ ।

राजनीति

१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?

जुन जोगी आए पनि कानै चिरेको !

२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

कलाकार नभएको भए इन्जिनियर हुन्थें होला तर जीवनचाहिं सारै दुःखी हुन्थ्यो होला । इन्जिनियरिङकै पढाइ गरिरहेकी थिएँ, इन्जिनियर भएर कतै विदेशमा हुन्थें होला । जहाँ भए पनि दुःखी हुन्थें होला

नियत सही भएको नेतृत्व नपाउनु हो कि ? मलाई राजनीतिको एकदम गहिरो ज्ञान त छैन तर यसो हेर्दाखेरि राम्रो गर्ने नियतै नभएको हो कि जस्तो लाग्छ । नियत सही भएर गर्न नसक्नु र नियतै नहुनु फरक कुरा हो । भोलि कसलाई मतदान गरौं त भन्दाखेरि कोही पनि नपाइने जस्तो देख्छु ।

३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?

नेताहरूको नियत सही बनाउने प्रयास गर्थें ।

४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

व्यक्तिको रूपमा त कोही छैन, राजनीतिज्ञका रूपमा चाहिं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मलाई प्रभावशाली लाग्छ । उनको काम गर्ने शैली र उनले आफ्नो कार्यकालमा ल्याएका परिवर्तन, संसारमा भारतको छविलाई उनले उकासेको देख्दा उनी प्रभावशाली लाग्यो ।

५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

प्रधानमन्त्रीले गर्न सक्छ सक्दैन मलाई थाहा छैन, नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने व्यवस्था गर्नेतिर चाहिं लैजाने थिएँ । त्यसका लागि संविधान संशोधन गर्नुपर्ला, म त्यसतर्फ पहल थाल्थें । नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्ने लाग्छ ।

६. एक दिन बिताउनुपर्‍यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?

कांग्रेस महामन्त्री गगन थापासँग एक दिन बसेर उहाँका भिजनबारे कुरा गर्न मन छ । उहाँसँग भेट त भएको छ तर त्यसरी कुरा गर्न पाएको छैन । उहाँचाहिं नियत केही ठिक भएको नेता जस्तो लाग्छ ।

सामाजिक सञ्जाल

१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

एकदमै धेरै चलाउँछु । मेरो सोख नै सायद फोन र सामाजिक सञ्जाल चलाउने होला । दिनमा ६–७ घण्टा त हुन्छ होला । धेरै चलाउने चाहिं इन्स्टाग्राम । यो मेरो कामसँग सम्बन्धित भएर पनि होला । ह्वाट्सएप त मेरो अफिस जस्तै हो । बिहान १० बजेदेखि बेलुकी ६–७ बजेसम्म काम त्यहीं नै हुन्छ ।

२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

अति नै छ । राति ब्युँझियो भने पनि फोन नै हेर्छु । मलाई मात्रै के, यो त सबैको बानी होला ।

३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

मान्छेलाई जोड्न सक्ने र एकैठाउँमा ल्याउन सक्ने यसको शक्ति राम्रो पक्ष हो । यस्तो शक्ति पहिले कुनै पनि माध्यमसँग थिएन जस्तो लाग्छ । नराम्रो त धेरै नै छन् । सामाजिक सञ्जाल सारै टक्सिक छ । मान्छेलाई अरूभन्दा म कम छु कि भन्ने हिसाबले तुलना गराइदिए जस्तो लाग्छ । यसले गर्दा धेरै मानिसको मनोविज्ञानमा असर पारेको छ । हाम्रा सबै काम, उत्सव, चाडपर्व सबै सामाजिक सञ्जालका लागि नै मनाइदिए जस्तो हुँदै गइरहेको छ ।

४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?

गलत सूचना धेरै फैलाउने काम बढी गरे जस्तो लाग्छ । सायद, गलत र फेक न्यूजले धेरै मान्छेलाई आकर्षित गरेकाले पनि यस्ता समाचारको सेयर र भ्यूज बढी हुने होला ।

५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

त्यस्तो लाग्दैन । किताबप्रेमीको किताबसँगको प्रेम एकदमै गाढा हुन्छ जस्तो लाग्छ । बरु, किताब विस्थापित हुन्छ कि भन्ने डरले यसलाई जोगाउनुपर्छ भनेर किताबप्रति झन् माया बढिरहे जस्तो लाग्छ ।

पेशा/व्यवसाय

१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?

कलाकार हुनुको सबै राम्रो छ । नराम्रो केही छैन । चिनिएपछि वा सेलिब्रिटीका रूपमा केही नराम्रो पक्ष हुनसक्छ, कलाकार हुनुको त म केही पनि नराम्रो कुरा देख्दिनँ ।

२. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?

कलाकार बन्न त सानैदेखि, फिल्महरू हेरेदेखि नै मन लागेको हो । अब यही नै मेरो पेशा हो भन्ने चाहिं दुई–तीन वटा फिल्ममा काम गरेपछि भएको हो ।

३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?

इन्जिनियर हुन्थें होला तर जीवनचाहिं सारै दुःखी हुन्थ्यो होला । इन्जिनियरिङकै पढाइ गरिरहेकी थिएँ, इन्जिनियर भएर कतै विदेशमा हुन्थें होला । जहाँ भए पनि स्याड हुन्थें होला ।

४. तपाईंको कोही रोलमोडल छ ?

कोही छैन । म धेरै मान्छेका गुणबाट प्रभावित हुन्छु तर रोलमोडल बनाउने गरी कोही पनि शतप्रतिशत पर्फेक्ट हुन्छ जस्तो लाग्दैन । म मान्छेका गुण र अवगुण दुइटै कुराबाट सिक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?