+
+

स्पेस स्टेशनमा अन्तरिक्षयात्रीलाई अलपत्र पार्ने बोइङलाई झट्का, पौने ३ खर्ब घाटा लाग्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १४:४९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच विलमोरलाई स्पेस स्टेशनमा पुर्‍याएर त्यहीँ अलपत्र पार्ने बोइङ कम्पनीको स्टारलाइनर अन्तरिक्ष यान शनिबार बिहान नेपाली समय अनुसार करिब पौने १० बजे पृथ्वीमा फर्किंदैछ । यो यान शुक्रबार बिहान पौन चार बजे नै स्पेस स्टेशनबाट छुट्टिइसकेको (अनडक भएको) छ र पृथ्वीतर्फ अगाडि बढिरहेको छ ।

नासाको यो मानवरहित यानमा सामान हालेर पठाइएको छ । त्यसअघि बिहान करिब ९ बजे यसले आफ्नो ब्रेकिङ रकेट चालु गरेको थियो । न्यु मेक्सिकोको ह्वाइट स्याण्डस स्पेस हार्वरमा यो यान अवतरण गर्नेछ ।

यानमा देखिएको प्राविधिक खराबीका कारणले गर्दा सुनिता र बुच यसमा चढेनन् र उनीहरु स्पेस स्टेशनमै रोकिएका छन् ।

बोइङ कम्पनीको यो बहुचर्चित अन्तरीक्षयानका कारण अन्तरिक्षयात्रीहरू स्पेस स्टेशनमै अलपत्र परेसँगै स्टारलाइनरको विश्वभर व्यापक आलोचना भइरहेको छ । यो घटनाले बोइङ कम्पनीलाई खर्बौं रुपैयाँ घाटा लाग्नसक्ने देखिएको छ । किनकि नासाले बोइङको स्टारलाइनरसँगको बाँकी करार सम्झौता पनि भंग गर्नसक्ने प्रवल सम्भावना छ । यसले बोइङ कम्पनीलाई २ अर्ब डलर अर्थात् पौने ३ खर्ब रुपैयाँभन्दा धेरै घाटा हुनेछ ।

गत जुन ५ तारेखमा स्टारलाइनर यानबाट स्पेस स्टेशनमा पुगेका सुनिता र बुचलाई उक्त समस्याग्रस्त क्याप्सुलका कारण स्पेस स्टेशनमा रोकिनुपर्ला भन्ने कुनै कल्पना थिएन । उनीहरु अन्तरिक्ष स्टेशनमा अड्किएको ३ महिना भैसकेको छ र अझै पाँच महिना उनीहरु त्यहीँ बस्नुपर्नेछ । उनीहरुालई आगामी फेब्रुअरीमा स्पेस एक्सको क्रू नाइन मिसनमार्फत् पृथ्वीमा ल्याउने योजना नासाको छ ।

स्पेस एक्स र बोइङसँग नासाको सहकार्य

Boeing, Starliner, Sunita Williams, NASA

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पछिल्लो एक दशकदेखि बोइङ र स्पेस एक्स कम्पनीसँग काम गरिरहेको छ । दुवै निजी कम्पनीहरुलाई नासाले अन्तरिक्ष यान बनाउने जिम्मा दिएको छ । तर, यो मामिलामा स्पेस एक्सको तुलनामा बोइङ निकै पछाडि परेको छ भने स्पेस एक्सको ड्रयागन क्याप्सुलले निरन्तर सफलता हासिल गरिरहेको छ । ड्रयागन क्याप्सुलले हरेक ६ महिनामा स्पेस स्टेशनको दुईतर्फी यात्रा गरिरहेको छ ।

बोइङको पहिलो अपरेसनल मिसन सन् २०२५ को अगष्टमा हुनेवाला थियो । तर, नासाले सो समयतालिकालाई अगाडि सार्यो । यसमा बोइङले पनि अस्वीकार गरेन । उनले हतारमै अन्तरीक्षयान प्रक्षेपण गर्ने निर्णय गर्‍यो । जबकि यसको प्रोपल्सन सिस्टम तथा हिलियम ट्यांकमा समस्या देखिएको थियो । यदि अब स्टारलाइनर यान सफलतापूर्वक पृथ्वीमा फर्किनसक्यो भने मात्रै नासाले आगामी मिसन बारेमा सोँच्नेछ । तर, हाल यस्तो सम्भावना कम रहेको बताइन्छ ।

यस्तो छ स्टारलाइनरको कथा

Boeing, Starliner, Sunita Williams, NASA

 

बोइङ डिफेन्स, स्पेस एण्ड सेक्योरिटी कम्पनीले यो स्टारलाइनर अन्तरिक्ष यानको निर्माण गरेको हो ।

नासाले व्यवसायिक क्रू कार्यक्रम अन्तरगत बोइंगलाई उक्त यान बनाउने जिम्मा दिएको थियो र त्यसका लागि आवश्यक रकम प्रदान गरेको थियो । सो यानको प्रारुप पहिलोपटक सन् २०१० मा तयार पारिएको थियो । यसअघि नासाले अपोलो, स्पेस शटल तथा स्पेस स्टेशन कार्यक्रममा पनि बोइङसँग विभिन्न कार्यमा सहकार्य गरेको थियो ।

यसै क्रममा सन् २०११ को अक्टोबरमा बोइंगलाई स्टारलाइनर यान बनाउनका लागि नासाले स्वीकृति दियो ।

स्टारलाइनर निर्माण गर्न उसलाई ६ वर्ष लाग्यो र सन् २०१७ मा निर्माण सम्पन्न भयो । सन् २०१९ सम्म यसको परीक्षण उडान भइरह्यो । तर, उक्त परीक्षण उडानहरु मानव रहित थिए ।

पहिलो उडानमै स्पेस स्टेशनसँग जोडिन असफल

स्टारलाइनरको पहिलो मानवरहित अर्बिटल फ्लाइट परीक्षण सन् २०१९ को डिसेम्बर २० मा भएको थियो । उक्त उडानका क्रममा दुईवटा सफ्टवेयरमा देखिएको गडबडीका कारणले गर्दा यो यान अर्कै कक्षमा पुग्यो र स्पेस स्टेशनसँग जोडिन (डकिंग हुन) पाएन । अन्ततः यो दुई दिनपछि न्यु मेक्सिकोको ह्वाइट स्याण्ड्स मिसाइल रेन्जमा अवतरण भयो ।

दोस्रो उडानमा गम्भीर प्राविधिक समस्या

Boeing, Starliner, Sunita Williams, NASA

यो यानको दोस्रो मानवरहित उडान चाहीँ सन् २०२० को अप्रिल ६ मा भएको थियो । यो उडानको उद्धेश्य अघिल्लो परीक्षण उडानकै जस्तो थियो । अर्थात् स्पेस स्टेशनसम्म पुग्नु, डकिंग हुनु र पुनः पृथ्वीमा सफल रुपमा फिर्ता हुनु । तर, यसको प्रक्षेपण नै सुरुमा केही ढिलो गर्नु  परेको थियो । सन् २०२१ को अगष्टमा पुनः प्रक्षेपण गर्ने तयारी भयो । तर फेरि यानका १३ प्रोपल्सन भल्भमा समस्या देखियो ।

त्यसपछि बोइङले यानलाई पुनर्निर्माण नै गर्यो । सन् २०२२ को मे महिनामा परीक्षण उडानको तयारी गरियो र २२ मे का दिन स्टारलाइनरले पुनः उडान भर्‍यो । त्यसबेला यानमा दुईजना डमी अन्तरीक्षयात्री बसालेर पठाइएको थियो अर्थात् मानिस जस्तै देखिने निर्जिव डमी । तर यानको अर्बिटल म्यानुभरिङ्ग तथा एटीट्युड कन्ट्रोल सिस्टम थ्रस्टर्समा गम्भीर समस्या देखियो र ती दुबै प्रणाली फेल भए ।

तथापि बल्लतल्ल स्टारलाइनरलाई २२ मे मा स्पेस स्टेशनसँग जोडियो र २५ मे मा पृथ्वीमा फिर्ता ल्याइयो । पृथ्वीको क्षेत्रमा प्रवेश गर्ने क्रममा यसको नेभिगेसन प्रणालीमा समस्या देखियो र सञ्चार सम्पर्कमा गडबडी उत्पन्न भयो । यसको जिपिएस स्याटेलाइटसँगको सम्पर्क पनि विच्छेद भएको थियो । तर बोइङले भने त्यो कुरा सामान्य भएको बतायो ।

धकेलिंदै आएको थियो पहिलो मानवयुक्त उडान

Boeing, Starliner, Sunita Williams, NASA

तेस्रो मानवयुक्त उडान सन् २०१७ मै तय गरिएको थियो । तर विभिन्न कारणले गर्दा पछाडि सर्दै सर्दै यो सन् २०२३ को जुलाई सम्म आइपुग्यो ।

सन् २०२३ को जुन १ मा बोइङ कम्पनीले उडान पछि सारिरहेको बतायो । त्यस्तै अगष्ट ७ मा उसले यानका सबै समस्या समाधान भएको बतायो र नयाँ उडान सन् २०२४ को मे ६ लाई तोकियो ।

तर उक्त समयमा पनि यान प्रक्षेपण हुन सकेन । किनकि एटलस रकेटको अक्सिजन भल्भमा केही समस्या देखियो । त्यसपछि यानमा हिलियम चुहिएका कारण प्रक्षेपण स्थगित गरियो ।

अन्ततः जुन ५ मा सुनिता विलियम्स र बेरी बुच विलमोरलाई लिएर स्टारलाइनर अन्तरिक्षमा प्रक्षेपण गरियो । यो यान ८ दिनपछि अर्थात् १३ जुनका दिन पृथ्वीमा फर्किनुपर्ने थियो । तर, यसमा हिलियम लिक भएको लगायतका प्राविधिक समस्याका कारण दुईजना अन्तरिक्ष यात्री त्यहीँ अड्किए र यो यान रित्तै पृथ्वीमा फर्किंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?