+
+
कथा :

बाको छाता हरायो

म छाता खोज्न निस्कें । बा जाने ठाउँ र बाले भेट्ने मान्छेहरूसँग सोधखोज गर्दै घुमें । माइला बाको घर, सानाबाको घर, पधेंरार हजुरबाको घर पुगें । सिद्धेश्वर शिवालय, कुल देवताको मन्दिर, सुन्तलीको चिया पसल, पकौडीको फलफूल पसलमा सोधें । कतै छाता भेटिएन ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८१ भदौ २२ गते १९:२८

खुइ्यय ! लामो सुस्केरा हाल्दै बा खाटमा बस्नुभयो । बाको अनुहार मलिन थियो । केही बोल्नुभएन । गम्छाले पसिना पुछ्नुभयो ।

‘बा ! के भयो ?’ हाम्रो अगाडि सधैं हँसिलो देखिनुहुने बाको अनुहार मलिन देखेर मैले अत्तालिंदै सोधें ।

‘केही भएको छैन’ बा सुस्तरी बोल्नुभयो । चश्माको सेतो सिसाबाट मैले बाको आँखामा टलपलाएको आँसु प्रस्ट देखें । एकदम नरमाइलो लाग्यो । के गरुँ कसो गरुँ भयो ।

‘सञ्चो भएन बा ?’ बासँगै खाटमा बस्दै फेरि सोधें ।

बा केही बोल्नुभएन । आज, बाको स्वर भनिरहेको थियो, बाभित्र अव्यक्त पीडा छ ।

बा भनेको पर्वत हो । परिवारको संरक्षक हो । बा पनि कमजोर हुन्छन् र ? मलाई विश्वास नै भएन । सधैं धैर्यवान्, आपत् पिउने नीलकण्ठ, बाटो देखाइरहने पथप्रर्दशक बा । अचानक दुःखी देखेर म आश्चर्यमा परिरहेको थिएँ ।

धेरैबेरपछि मेरो कपाल सुमसुम्याउँदै बाले भन्नुभयो, ‘खाजा खायौ ?’

थकाइ वा भोक लागेछ कि भनेर बहिनीहरूले पनि बालाई सोध्न थाले ।

‘तिमीहरू अब बाको ख्याल गर्न सक्ने गरी ठूला भएछौ । मैले पीर गर्नु परेन’ बा ढुक्क भए जस्तो देखिनुभयो । तर, प्रश्नको जवाफ भने दिनुभएन ।

‘बालाई आज सञ्चो भएन, हो बा ?’ भाई चन्द्र पनि सुर्ता लिएर आइपुग्यो ।

‘सानुको जुँगा फुलेछ’ बाको ओठबाट फुत्त हाँसो निस्किएर हामीलाई छुन आयो ।

सबै अनुहारमा खुशीका लहरहरू दौडिए । मैले बालाई खाजा ल्याएँ । गहुँको रोटी र आलुको तरकारी खाँदै बाले जिज्ञासा राख्नुभयो, ‘कसले पकाएको हो ?’

‘मैले, मैले’ पार्वती, सुशीला, निर्मला बहिनीहरू हानथाप गर्न थाले । तर, खाजा खाइसकेपछि पनि बाको अनुहारमा कुनै चमक आएको मैले देखिनँ ।

‘के भयो बा ?’ भन्नुस् न । मैले बासँग जिद्दी गर्न थालें ।

‘तिमीहरूकी आमाले किनिदिएको छाता हरायो’– मलिन स्वरसँगै बाको अनुहारमा वेदनाका थुप्रै लहरहरू दौडिए ।

म सम्झनाको तलाउमा डुब्न थालें ।

हाम्रो छाने घर, घर अगाडि ठूलो आँगन, आँगनको छेउमा गोठ र धन्सार । गोबर माटोले पोतेको फराकिलो पिंढी, पिंढीको खाटमा सानो थर्कटी । खाटसँगै ढिकी र जाँतो । छेउमा लामो बेन्च थियो । बेन्चसँगै दुई–तीन वटा फूलका गमलाहरू पनि थिए ।

‘ठूली ! आज हिंडेर निकै थाकियो, सिद्धेश्वर शिवालयमा सत्संग सकिएपछि पधेंरार कान्छाबा, माइलो र म हिंड्दै देवनगर खेतसम्म पुग्यांै । यसपालि धान बेस्सरी सप्रेछ’ बा पिंढीको खाटमा बस्दै सुनाउन थाल्नुभयो ।

‘गीतानगर बजारबाट हजुरलाई छाता किनेर ल्याएकी छु आज मैले’ आमाले फुर्किंदै फलामको डण्डी भएको कालो रङ्गको छाता देखाउनुभयो ।
‘खै खै ? मेरो छाता पुरानै भएको थियो । राम्रो किनिछौ । कति पैसा पर्‍यो नि, ठूली ?’ ओल्टाई–पल्टाई हेर्दै बाले सोध्नुभयो ।

‘धेरै परेको छैन, तीस रुपैयाँ मात्रै हो’– आमाले एकैसासमा सुनाउनुभयो ।

‘बाहिर हिंड्दा सधैं यही नयाँ छाता लिएर जानुहोला नि’ आमा सन्तुष्टि भरिएको अनुहार लिएर खाजा लिन भित्र छिर्नुभयो ।

****

गहुँगोरी, पोटिलो चिल्लो अनुहार, बान्की परेको शरीर, न अग्ली न होची, कालो घना कपाल, मिलेका दाँत, बोल्दा हँसाएर मात्र बोल्ने बानी भएकी हाम्री राम्री आमा । एघार सन्तानकी आमा भन्न कसैले पनि सक्दैनथे ।

आमाको नाम राधिका भए पनि गाउँघरमा ठूली उपसर्ग लगाएर आमाको अर्को नाम आउँथ्यो— ठूलीआमा, ठूली भाउजू, ठूली दिदी, ठूली बुहारी, ठूली माइजू, ठूली बज्यै ।

एकदिन, म बाको कोठा सफा गर्दै थिएँ । गीताको किताब भुईंमा झर्‍यो । किताब उठाएर ढोगें । किताबबाट आमाको फोटो खस्यो । फोटो राखेको गीताको पाना भिजेको थियो । फोटो पनि भिजेर खुइलिएको थियो ।

माघ महिना । शुक्रबारको दिन । उधुम चिसो । डम्म कुहिरो लागेको थियो । भर्खर तोरी थन्क्याउने काम सकिएकोले खलोमा तोरीको गट्टे असरल्ल थुप्रिएको थियो । हाम्रो बारीको छेउमा आमाहरूका लागि बोराले बारेको एउटा चर्पी थियो । पुरुषहरू सबै नगिचैको डवका घोलमा जान्थे, एउटा ट्वाक बोकेर ।

बाआमा सधैं झैं बिहानै उठ्नुभयो । आमा बाहिर जानुभयो । बा ओछ्यानमा नै गीता पढ्न थाल्नुभयो । हामी उठ्दासम्म आमा फर्किनुभएको थिएन ।

‘आमा ! आमा !’ हामी यताउता खोज्न थाल्यौं ।

तोरीको गट्टेनिर आमा बेहोश भेटिनुभयो । हामी ‘आमा, आमा’ भनेर रोयौं, करायौं । सारा गाउँले जम्मा भए । बयलगाडामा राखेर आमालाई हतारहतार भरतपुर अस्पताल पुर्‍यायौं । तोरीखेतनेर पुग्दा आमाले आत्तिएर ‘स्याल, स्याल’ भन्नुभयो ।

‘आमा !’ हामी सबैले एकैचोटि बोलायौं । आमाले पुर्लुक्क आँखा हेर्नुभयो, फेरि बेहोश ।

कचपचे पुग्दा आमाको मुखबाट ‘ऐय्या !’ शब्द निस्क्यो ।

‘आमा ! के भयो हजुरलाई ?’ हामीले रुँदै सोध्यौं । गाडा चालकले गाडा बेस्सरी दौडाए ।

डाक्टर विजय शर्माले सबै जाँचपडताल गरिसकेपछि भने, ‘ब्रेन ह्यामरेज भएको छ । नेपालमा उपचार छैन । दिल्लीमा पनि खासै छैन ।’

ब्रेन ह्यामरेज ! हामी अक्कनबक्क भयौं । शब्द शून्य, आँखाबाट भलभल आँसु खसिरहे । बाको अनुहारबाट कान्ति उड्यो । आमालाई भरतपुर हस्पिटलमा भर्ना गरियो । बा आमाको बेड वरपर घुमिरहनुहुन्थ्यो । आमालाई छोडेर टाढा जानु हुन्थेन । हामी ‘आमा, आमा’ भनेर बोलाइरहन्थ्यौं । ‘ठूली’ भनेर बाले आमालाई बोलाउन सकिरहनुभएको थिएन । तर, हामी कोही पनि नभएको बेलामा बा आमासँगै बेडको छेउमा बस्नुहुन्थ्यो । हामीले देख्दा बाका आँखा रसिला हुन्थे, गाला चिसो ।

काठमाडौं वीर अस्पतालमा तीन महिनासम्म राख्दा पनि आमाको स्वास्थ्यमा कुनै प्रगति भएन ।

‘यो रोगको खास उपचार छैन । घरमा आराम गर्दागर्दै पनि ठिक हुन सक्छ, घर लैजानुहोस्’ डाक्टर गंगोलले निराशा व्यक्त गरे । हारेको सिपाही झैं हामी आमालाई लिएर रुँदै काठमाडौंबाट गीतानगर फर्कियौं ।

****

आमा बेडमा सुतिरहनुहुन्थ्यो । मुखमा खानेकुरा राखिदिएपछि कपाकप खानुहुन्थ्यो । डाक्टरले सिकाए झैं हामी ‘आमा ! आमा !’ भनेर बोलाइराख्थ्यौं । दिनका दिन सरसफाइ गर्दथ्यौं ।

आमाले कहिलेकाहीं पुलुक्क हेर्नु पनि हुन्थ्यो । हाँसे झैं पनि गर्नुहुन्थ्यो । त्यस्तो बेला हामीलाई आमा सञ्चो हुने आशा पलाउँथ्यो । तर, पलभरमा, बेहोश हुनुहुन्थ्यो । हामी बेचैनीको सागरमा डुब्दथ्यौं ।

‘बाबुनानी हो ! ठूलीले जति दिन आयु लिएर आएकी छिन् त्यति दिन बाँच्दछिन् । सबैको आयु पहिले नै लेखिएको हुन्छ’ आमाप्रतिको प्रेमलाई छोप्दै बा हामीलाई मृत्युसँग परिचय गराइरहनुहुन्थ्यो ।

अन्ततः आमा स्वर्गे हुनुभयो । हामी खुब रोयौं । आमाको शून्यताले हामीलाई खर्लप्प खायो । बाको संरक्षकत्वमा सम्हालिंदै गयौं । तर, आमाको परलोकपछि हामीले बाको मनभाव कहिल्यै पढेनौं । बाका दिनहरू कसरी बिते थाहै गरेनौं ।

‘म ठूलीको सतमा बस्छु’ अर्को बिहे गर भन्ने शुभचिन्तकलाई बा जवाफ दिनुहुन्थ्यो । आमाप्रतिको प्रेम समर्पण मुखरित भएर आउँथ्यो । हामी बाप्रति आभारी हुन्थ्यौं ।

भागवत गीता बाको साथी बनेको थियो । रात बिहान कोठामा बसेर गीता, रामायण, महाभारत पढिरहनुहुन्थ्यो । दिउँसो अद्वैत संगतमा सामेल हुनुहुन्थ्यो । साँझ एकैछिन हामीसँग गफगाफ गर्नुहुन्थ्यो ।

एकदिन, म बाको कोठा सफा गर्दै थिएँ । गीताको किताब भुईंमा झर्‍यो । किताब उठाएर ढोगें । किताबबाट आमाको फोटो खस्यो । फोटो राखेको गीताको पाना भिजेको थियो । फोटो पनि भिजेर खुइलिएको थियो । हाम्रो अगाडि सामान्य देखिए पनि बा आमालाई सम्झिएर एक्लै कति रुनुहुँदोरहेछ कि ? भन्ने तथ्य गीताको किताबले भनिरहेको थियो ।

****

‘बा ! म आजै नयाँ छाता किनेर ल्याउँछु’ एक दिन चोक बजार जान मैले साइकल निकालें ।

‘पख’, बाले मलाई रोक्नुभयो । म बासँगै बसें ।

‘त्यो छाता मात्रै थिएन तिमीहरूकी आमाको मायाको चिनो थियो । त्यसमा ठूलीको स्पर्श थियो, मायाको महक थियो । छाता लिएर हिंड्दा मलाई ठूलीसँगै हिंडे जस्तो लाग्थ्यो’ बाको स्वर भासिंदै गयो ।

आमा सम्झिएर मेरा आँखा पनि भरिए । मुटु भक्कानियो ।

‘आमाको फोटो त छ नि !’ मैले बालाई सम्झाउन खोजें ।

‘एउटा फोटो छ । त्यो पनि खुइलिंदै गयो । ठूलीको अनुहार नै होइन जस्तो लाग्छ । मलाई मायाको ऋण बोकाएकी छन्, उनले । कुनै दिन पनि त्योले र उले भनिनन् । उनी मेरा सबै पीर पिउँथिन् र मलाई हाँसो दिन्थिन् । उनलाई बचाउन सकिएन ! तिमीहरूको राम्रो देखेर कति खुशी हुन्थिन् होला, अहिले ?’ बाले चश्मा निकालेर आँखाको डिल पुछ्नुभयो ।

घरको बूढो मान्छे बा रोएको देख्दा मलाई नरमाइलो लाग्यो । भगवान् ! कुनै बाआमालाई पनि कहिल्यै रुनु नपरोस् । मैले भगवानसँग पुकारा गरें ।

‘जा न त खोज, पाइहाल्छ कि’, बाले सुस्तरी भन्नुभयो ।

म छाता खोज्न निस्कें । बा जाने ठाउँ र बाले भेट्ने मान्छेहरूसँग सोधखोज गर्दै घुमें । माइला बाको घर, सानाबाको घर, पधेंरार हजुरबाको घर पुगें । सिद्धेश्वर शिवालय, कुल देवताको मन्दिर, सुन्तलीको चिया पसल, पकौडीको फलफूल पसलमा सोधें । कतै छाता भेटिएन । सबैतिर छाताको रूपरङ्ग बताएर फर्कें । छाता नभेट्टाउँदा नरमाइलो लाग्यो ।

‘पाइयो ?’ आशा भरिएको स्वरमा बाले प्रश्न गर्नुभयो ।

‘अहँ’, मैले मलिनु स्वरमा भनें ।

‘सानु, छातामा तिमीहरूकी आमाको आत्मा थियो । निद्रा परेन भने म छाता छोएर निदाउँथें । मेरो लागि आज ठूली परलोक भइन् । अब कसरी बाँच्ने ?’ बाको रुन्चेस्वरले मलाई रुवायो ।

म बोल्न सकिनँ । आँखा मिच्दै भित्र पसें ।

‘बा हजुर खुर्पा लिएर तुम्वे कामीको आरनमा जानुभएको थियो । त्यहीं छोड्नुभयो होला छाता’ यति भनेर भाइ इन्द्रविलास साइकलमा देवनगर हुइँकियो ।

‘पाइँदैन, दुःख नपाओ’ मलिन अनुहार लिएर बा कोठामा जानुभयो ।

साँझ पर्दै गयो । हामी घरभित्रै कतै छ कि छाता भनेर खोज्न थाल्यौं । भेटिएन । बहिनीहरूले प्याट्ट पाट्ट बत्ती बाले । बत्तीहरू पनि चम्किन सकेनन् । मन अँध्यारो भएपछि सबै अँध्यारो । अँध्यारोले हामीलाई निलुँला जस्तो गर्‍यो ।

‘हराएको वस्तु के पाइन्थ्यो ! ठूली बितेको पनि कतिका वर्ष भइसक्यो । मेरो छाता अरूहरूलाई त पुरानो थोत्रो होला । तर, मेरो लागि त्यो प्रेमविम्ब थियो । पत्नीको पे्रम थियो । उनको चिनो, म कसरी मन बुझाउँ ?’ बा कोठामा नै भक्कानिनुभयो ।

‘पुरानो त पुरानै भएको रैछ नि छाता, बा’ मैले औंला भाँचें, ‘बयालीस सालबाट पचपन्न साल, तेह्र वर्ष ।’

‘सानु, छाता मात्रै भनेर हुन्छ र ? मलाई छाता लिएर हिंड्दा ठूलीको सम्झनामा दिन बिताउन सजिलो थियो’ बाको आँखाबाट झरेको आँसु मेरो गर्दनमा तप्प खस्यो । रोएपछि पीर बगेर जान्छ । मन शान्त हुन्छ । मैले मनमनै गमें ।

‘खाना तयार भयो बा’, बहिनीहरूले खाना खान बोलाए ।

सधैं धोतीपाटा फेरेर, जप गरेर मात्रै खाना खाने बाको बानी थियो । ‘हामी दुवै चारधाम जाँदा किनेका हौं नि यी’ पञ्चपात्र र आचमनी देखाउँदै बाले आचमन गर्नुभयो ।

‘ए !’ बहिनीहरूले बुझे झैं गरे ।

‘लमजुङ्ग, कोइराला फाँट छोडेर चितवन झर्दा डाँको छोडेर रोएकी थिइन्, ठूली । लालावाला छोडेर जाँदा कति रोइन् होला ? आवाज पनि सुन्न पाइएन । आँसु मात्र झरे । रुन पनि सकिनन्’, जप सकेर बाले भन्नुभयो ।

हामी भावुक भयौं । छाताले बाको पीडालाई छपक्क छोपेर राखेको रहेछ । हामीले पहिलोपल्ट आमा सम्झिएर बाले पीर मान्नुभएको देख्यौं ।
‘हामी छौं नि बा, हामीलाई हेर्नुस् न’ हामी सबै बाको वरपर घेरा लाग्यौं । बाका आँखा आज धीत मारेर रोइरहेका थिए । बासँगै टाँसिएर हामी पनि रोयौं । रात रोएर बित्यो ।

****

बिहानै हामी छाता खोज्न जुट्यौं । बाआमाका हामी एघार सन्तान एघार दिशा दौडियौं । गीतानगर अम्मरवस्ती, पारसनगर, इन्द्रपुरी, केशरवाग, देवनगर, पुल्लर, पृथ्वीनगरतिर बा पुग्नु हुने घर, पसल, मन्दिर केही बाँकी रहेन । तर, छाता भेटिएन ।

दिन बित्दै गए । मौसम बदलिइरहयो । बाको मन बदलिएन ।

दिदीले काठमाडौंबाट चाइनिज छाता किनेर पठाउनुभयो । दाजुले जर्मनीबाट फर्कंदा जर्मन छाता ल्याइदिनुभयो । चन्द्रविलासले मुम्बईबाट इन्डियन छाता किनेर ल्यायो । मैले जापान जाँदा जापानिज छाता ल्याएँ । बाले कुनै छाता पनि ओढेर हिंड्नुभएन ।

‘सक्छौ भने आमाले किनिदिएको छाता खोजेर ल्याओ । संगीताले नङ पालिसले आर एन के लेखिदिएकी छ, भित्रपट्टि डण्डीमा’ बाले हामीलाई छाता चिन्ने बाटो देखाइदिनुभयो । बाको माग पूरा गर्न नसकेर हामी निराश भयौं ।

छाता हराएको दिनदेखि बा गल्दै जानुभयो ।

‘बा, एउटा छाता त हराएको हो । आमाले हुर्काउनुभएका हामी छोराछोरी छौं । आमाले सम्हालेर राख्नुभएका पूजाभाँडा छन् । थालकचौरा छन् । घर छ, जग्गा छ’ हामीले बालाई सम्झाउने लाख कोशिश गर्‍यौं । बाले कसैगरी चित्त बुझाउन सक्नुभएन ।

‘छाता हरायो । ठूली पनि हराई । छाम्छु ठूली भेट्दिनँ । बोलाउँछु बोल्दिनन्’ बोल्दा बोल्दै बालाई लामो खोकी आयो ।

‘बा, पीर नगर्नुस् न । हजुरलाई केही भयो भने हामी के गर्ने ?’ हामी रुँदै बाको अगाडि बस्यौं ।

बा ब्रोङकाइटिसको दीर्घ बिरामी हुनुहुन्थ्यो । खोक्दा खोक्दै बेहोश हुनुभयो । हतारहतार गाडीमा राखेर भरतपुर अस्पताल पुर्‍यायौं । तीन पोका सलाइन पानी चढाएपछि बल्ल बोल्न सक्ने हुनुभयो ।

‘बा छाता पाइयो नि, शान्तिपुर सुब्बा हजुरबाको घरमा रहेछ’ अमृतले बालाई सुनायो ।

‘पाइयो ? मलाई पाइन्छ जस्तो लागेको थियो’ बाको अनुहार खुशीले चम्कियो ।

बा फूर्तिले उठ्नुभयो । दौरा, सुरुवाल र टोपी लगाउनुभयो । गीताको किताबबाट आमाको फोटो झिकेर दौराको खल्तीमा राख्नुभयो । पलेंटी मारेर खाटमा बस्नुभयो । गीताको किताब काखमा राख्नुभयो । हामी सबैलाई एकएक गर्दै हेर्नुभयो र भन्नुभयो, ‘कोही पनि नरुनु । सबैको बाटो यही हो ।’

‘खोइ त छाता ?’

‘घरमा छ ।’

बा एकदम चाँडै ठीक हुनुभयो । भोलिपल्टै हामी अस्पतालबाट घर फर्कियौं ।

‘बा छाता’ पार्वती बहिनीले पुरानो आरएनके लेखेको छाता बाको हातमा दिई ।

‘ले ले’ बा छाता छुन हतारिनुभयो ।

हातमा छाता लिएपछि बाका निधारमा गाँठा पर्न थाले । ओर्काई फर्काई गर्नुभयो ।

‘यो मेरो छाता होइन । यसमा ठुलीको स्पर्श छैन । महक छैन । भावना छैन । मलाई झुक्याउन खोजेका । बुढो मान्छेसँग जिस्किन्छौ तिमीहरू’ छाता फाल्दै बा रिसाउनुभयो ।

हामी डरायौं ।

‘हजुरलाई उस्तै छाता दिंदा चित्त बुझ्छ कि भनेर कोशिश गरेको बा हामीले । हामी पनि के गरौं । हजुर छाता हराएपछि गल्दै जानुभयो’, भागीरथी र सुशीला बहिनीले बालाई सम्झाउन थाले ।

‘आमाको मायाले कुँदिएको छाता थियो, त्यो । ठूलीको चिनो, उपहार’, बा भक्कानिनुभयो ।

हामी बाको काखमा घोप्टिएर रोयौं । हाम्रो आर्तनाद, अनुरोधले छाता बिर्साउन भने सकेन । गलेर बाको हाडछाला मात्रै देखियो ।

****

छाता हराएको एक वर्षपछि, एकदिन, सबैले खाना सँगै खायौं । बा बिहानैदेखि खुशी देखिनुभयो ।

‘अबचाहिं बाले चित्त बुझाउनुभएछ क्यारे !’ हामीले सोच्यौं । छटपटाहट, बेचैनी केही थिएन । शान्त । हामी अत्यन्त सावधानीपूर्वक बाको व्यवहार अनुमगन गर्दै रह्यौं । बाले छोराछोरी सबैलाई बोलाउनुभयो । हामी घेरा बनाएर उभियौं ।

‘छोराछोरी हुर्किएको दिन कति रमाइलो होला भन्थिन् तिमीहरुकी आमा । अब तिमीहरू सबै हुर्कियौं । तिमीहरू हुर्कियौ भनेर मैले उनलाई सुनाउनुपर्ने बेला आयो । छाता पनि हरायो । ठूली सम्झने बाटो पनि हरायो । उनलाई बिर्सिएर म बाँच्न नसक्ने भएँ । अब, म ठूली भेट्न जान्छु । तिमीहरू असल बन्नु, राम्रो काम गर्नु’, बा मुसुक्क हाँस्नुभयो ।

‘बा !’ हामी रुन थाल्यौं ।

बा फूर्तिले उठ्नुभयो । दौरा, सुरुवाल र टोपी लगाउनुभयो । गीताको किताबबाट आमाको फोटो झिकेर दौराको खल्तीमा राख्नुभयो । पलेंटी मारेर खाटमा बस्नुभयो । गीताको किताब काखमा राख्नुभयो । हामी सबैलाई एकएक गर्दै हेर्नुभयो र भन्नुभयो, ‘कोही पनि नरुनु । सबैको बाटो यही हो ।’

बा एकोहोरो भैसक्नुभएको थियो । बाले विस्तारै आँखा चिम्लिनुभयो ।

‘बा !’ हामी च्याट्ठियौं ।

हामी रोएको सुनेर वरपरका छिमेकीहरू आइपुगे । हामी सबै दौडेर बालाई अँगालो हाल्न पुग्यौं । बा उत्तिनखेरै ब्रह्मलीन हुनुभयो । हाम्रो चीत्कार बालाई लिएर आमा भेट्न माथि–माथि आकासिंदै, आकासिंदै गयो ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?