+
+

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १९:४१

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् ।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताएका हुन् ।

‘…हामी बनाउने नै मान्छे, उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ । म पनि छानिएर आएको छु । दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं । त्यो अगाडि बढ्ला’, प्रधानमन्त्री ओलीले भने ।

नेपाल र भारत दुई देशबीचका समस्या समाधान गरी सरकारलाई सिफारिस गर्न दुवै देशका ४–४ जना रहेको प्रबुद्ध व्यक्ति समूह गठन भएको थियो । उक्त समितिले प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन् ।

शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपालका प्रधानमन्त्रीले समय दिन सक्ने तर अहिलेसम्म भारतले समय दिन नसकेको बताए ।

‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरु फुर्सदमा नै देखिन्छन् । म पनि यहाँ पुस्तक विमोचन गरेर हिंडेको छु । ईपीजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र ! हामीहरुले चाहिं बुझ्न नभ्याएको छैन । तर भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धि गर्ने काम गर्न नहुने पनि बताए ।

‘एउटा हाम्रो स्वार्थ र स्वार्थी कामहरु ढाकछोप गर्नका लागि हामी भूराजनीति भन्ने शब्दको आड लिन्छौं । अर्को चाहिं हाम्रो कायरपना, लुतेपना, आफ्ना कुरा भन्न नसक्ने, भूराजनीति भनेर बस्ने’, उनले भने, ‘यो भूराजनीति हाम्रा निम्ति कुनै कमजोरीको विषय बन्नुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?