+

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

२०८१ भदौ  २२ गते १९:०५ २०८१ भदौ २२ गते १९:०५
लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

२२ भदौ, कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले जितेको हो ।

पुलिस क्लब गत वर्षको उपविजेता हो । नवआदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।

यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि आज खेलाइएको थियो । पुलिसले पहिलो सेट २५–१६को सहज जित निकाले पनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो ।

तेस्रो सेटमा पुनःखेलमा फर्कँदै पुलिसले २५–१९ को जित हासिल गर्यो तर चौथो सेटमा एपिएफ खेलमा फर्कँदै २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो ।

दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततःनतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू एक लाख ५० हजार हात पारेको छ । उपविजेता एपीएफले एक लाख एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल बिक उत्कृष्ट ब्लकर घोषित भए ।

यस्तै, एपीएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरु सबैलाई समान पाँच–पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

पहिलो सेट २५–२३ ले हराएको एपीएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल गर्‍यो तर तेस्रो सेटमा १३–२५ को हार बेहोरेको एपीएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो ।

प्रतियोगिताको महिला–पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।

खेलकुद पोखरा भलिबल लामाचौर कप भलिबल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय