+
+

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

रासस रासस
२०८१ भदौ २२ गते २०:३३

२२ भदौ, गल्याङ (स्याङ्जा) । बाँदर आतंकले सताउन थालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् ।

जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारीबाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन् ।

गल्याङ नगरपालिकाले बाँदरले नखाने वैकल्पिक खेतीका रूपमा कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नटलगायतका खेतीगर्न कृषकलाई प्रोत्साहन गरेको छ ।

यहाँका कृषकले स्वतःस्फूर्त रूपमा उखु, सयपत्रीफूल, अदुवा, बेसार, ड्रागन फ्रुटलगायतका खेतीगर्दै आएका थिए ।

विसं २०७८ को राष्ट्रिय कृषि गणनाअनुसार गल्याङ नगरपालिकाभित्र चार हजार ४२ हेक्टर जमिन खेती योग्य छ । हाल यहाँ एक हजार पाँच सय १९ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । बाँदरले सताउन थालेपछि कृषक धान, मकै, गहुँ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् ।

गल्याङ नगरपालिका–५, रुपाखानीका कृषक चन्द्रबहादुर रानाचित्रले बाँदरले हैरानपार्न थालेपछि धान, मकै गहुँ फलाउने खेतमा कागती, उखु, सयपत्रीफूल खेती गर्दै आएको बताए । उनी विगत पाँच वर्षदेखि व्यवसायिक रूपमा बाँदरले नखाने काष्ठफल र अन्य खेतीगर्दै आएका छन् ।

‘बाउबाजेले धान, मकै, कोदो छर्ने गरेको खेती छोडेर पाँच वर्षदेखि सयपत्री र कागती खेती गर्दै आएको छु । मेरो उत्पादन देशका विभिन्न सहरमा पुग्छ’, उनले भने, ‘गएको वर्षदेखि उखुसमेत लगाउन थालेको छु । परम्परागत खेतीभन्दा तेब्बर आम्दानी दिएको छ ।’

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाभित्र बाँदर आतङ्क बढेकाले कृषकलाई बाँदरले क्षति नगर्ने बालीलगाउन सुझाव दिएको बताए । उनले बाँदर नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकारसमेतले ठोस योजना बनाउन नसकेको अवस्थामा गल्याङ नगरपालिकाले बाँदरले नखाने प्रजातिका काष्ठफललाई प्राथमिकता दिएको सुनाए ।

‘लामो समयसम्म उत्पादन दिने, पहाडी भेगका लागि हावापानी मिल्ने, एक पटक हुर्काइसकेपछि धेरै मेहनत गर्नु नपर्ने, उत्पादनलागत कम लाग्ने काष्ठफल लगाउन कृषकलाई प्रेरित गरेका छौं’, उनले भने, ‘विश्वास छ काष्ठ फल खेतीले यहाँका जनतालाई आत्मनिर्भर बनाउँदै जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’

यता गल्याङ नगरपालिको ‘काष्ठ फल उत्पादन’ कार्यक्रमलाई पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजना (नाफा)ले सहयोग गर्दै आएको छ । नाफा आयोजना गल्याङकी प्राविधिक समीक्षा न्यौपाने संस्थाले कागती, सुन्तला, एभोकाडो, मेकाडेमिया नट खेतीमा सहयोग गर्ने बताइन् ।

‘नर्सरीदेखि लिएर फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र उत्पादित फलफूलको मूल्य अभिवृद्धि गर्ने काममा नाफा प्रोजेक्टले सघाउने छ’, उनले भने, ‘यहाँ आवेदन दिएका कृषकले २० रोपनी एक हेक्टर क्षेत्रफलमा सूचिकृत फलफूल रोप्नुपर्ने हुन्छ । सर्त पूरा भएका कृषकले पचास प्रतिशत अनुदान प्राप्त गर्न सक्ने छन् ।’ न्यौपानेका अनुसार गल्याङमा यो योजना आउने पाँच वर्षसम्म चल्ने छ ।

नाफा आयोजनाले कागती, सुन्तला, एभोकाडो खेतीका लागि किसानलाई अनुदानको व्यवस्था समेत गरेको छ ।

यो आयोजना सम्पन्न गर्नका लागि एसियाली विकास बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र नेपाल सरकारको ऋण तथा अनुदान व्यवस्थापनमा देश भरका एक सय स्थानीय तहका लागि नौ करोड ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

आयोजना ३४ जिल्लाका एक सय वटा स्थानीय तहमा र स्याङ्जाका गल्याङ नगरपालिका, चाप कोट नगरपालिका र बिरुवा गाउँपालिकामा सञ्चालित छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?