+
+
घर सम्पन्नताको प्रमाणपत्रका लागि घुस प्रकरण :

पोखराका इन्जिनियर शिव र सबइन्जिनियर उषाकिरणलाई पौने २ लाख जरिवाना, ८ महिना कैद

मतियार कुँवरलाई आधा जरिवाना, बयान फर्ने घरधनीलाई सफाइ

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ २३ गते ८:२७
पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकाया

२३ भदौ, पोखरा । घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवर दोषी ठहर भएका छन् ।

गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए । त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

पोखरा १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरज पक्राउ परेका हुन् ।

अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रुपमा काम गरेका गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवामा कार्यरत कुँवरलाई भने उनीहरुकोभन्दा आधा सजाय सुनाइएको छ । मतियार सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला भएको विषेश अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।

यही घुस प्रकरणमा अदालतमा बयान फरेको आरोपमा मुद्दा चलाइएका केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई भने सफाइ दिइएको छ । तिवारी र पौडेलले अख्तियारमा दिएको बयानको अदालतमा प्रतिकूल हुनेगरी बकपत्र गरेको उजुरी थियो । नियोजित रुपमै बयान फरेको प्रमाणित भएपनि उनीहरुलाई पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो । तर, उनीहरुलाई अदालतले सफाइ दिएको छ ।

पोखरा महानगरमा घर नक्सा अनुमतिदेखि निर्माण सम्पन्नतासम्मका काममा घुस लेनदेन हुने गुनासो सर्वसाधारणले गर्दै आएका थिए ।

के थियो विषय ? कसरी बाहिरियो घुस प्रकरण ?

पोखरा–१० मा केशरीप्रसाद र उर्मिलाले घर निर्माण सकिएपछि सम्पन्नताको प्रमाणपत्र दिनका लागि पोखरा महानगरपालिकामा फाइल पेश गरेका थिए । पटक–पटक धाउँदा पनि निर्माण सम्पन्नताको प्रमाणपत्र प्राप्त नभएपछि उनीहरुले विकल्प खोजी गर्दै आफन्त सव–इन्जिनियर रोकायाको सम्पर्कमा पुगे ।

घर बनाउनुपूर्व स्थानीय तहबाट नक्सा पास लिनुपर्छ भने सम्पन्न भएको प्रमाणपत्र पनि लिनुपर्छ । त्यही सम्पन्न भएको प्रमाणपत्र लिन धाइरहनु परेपछि इन्जिनियर उषाकिरणले ५ लाख रुपैयाँ दिए काम हुने माथिबाटै कुरा आएको प्रस्ताव राखेकी थिइन् । घुस रकम अझै बार्गेनिङ हुँदै जाँदा साढे ४ लाख रुपैयाँ दुई पटक गरेर दिने सहमति घरधनी र इन्जिनियरबीच भएको थियो ।

पहिलो पटकमा घरधनीले बिचौलियाको काम गर्ने कन्सल्टेन्सीका कुँवरमार्फत २ लाख रुपैयाँ बरालकै खातामा जम्मा गरेका थिए । त्यो रकम पछि अनुसन्धानको क्रममा इन्जिनियर बरालको खातामा गएको देखिएको थियो ।

पछिल्लो पटक बाँकी रकम २ लाख रुपैयाँ भनिए पनि डेढ लाख रुपैयाँ दिए पुग्ने इन्जिनियरसँग सहमति भएपछि घरधनीले प्रमाणपत्र पाएका थिए । घर निर्माण प्रमाण पत्र लिन घुस दिनुपर्ने भएपछि सेवाग्राही अख्तियारमा पुगेका थिए ।

अख्तियारकै समन्वयमा भएको अप्रेसनमा पहिलो पटक २ लाख रुपैयाँ बुझाउँदा भने इन्जिनियर रंगेहात पक्राउ पर्नबाट उम्किएका थिए ।

बाँकी डेढ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारले रोकायासहित बिचौलियाको काम गर्ने कुँवरलाई गत चैत २८ गते राति रंगेहात पक्राउ गरेको हो । उनीहरुकै बयानका आधारमा मुख्य इन्जिनियर बराल पक्राउ परेका थिए । त्यसपछि अख्तियारले मुद्दा अगाडि बढाएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?