+
+

इन्जिनियर्स एशोसिएसनको निर्वाचन : बहसमा रहेका मुद्दा

नेपाल इन्जिनियरिङ परिषद्मा दर्तामध्ये ५३ प्रतिशतले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध हुन चाहेनन् । यी सदस्यमध्ये आजीवन तथा फेलो घटाएर रहेका मतदाता हिसाब गर्दा ६७.५ प्रतिशतले आवद्ध हुन नचाहेको देखिन्छ ।

इ. प्रा.डा. विष्णुप्रसाद पाण्डे/इ. डा.लक्ष्मणप्रसाद घिमिरे इ. प्रा.डा. विष्णुप्रसाद पाण्डे/इ. डा.लक्ष्मणप्रसाद घिमिरे
२०८१ भदौ २३ गते ७:३५
इ. प्रा.डा. विष्णुप्रसाद पाण्डे/इ. डा.लक्ष्मणप्रसाद घिमिरे ।

इन्जिनियर/आर्किटेक्टहरूको छाता संगठनको रूपमा झण्डै ६२ वर्षअघि (वि.सं. २०१९ मा) स्थापित नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समितिको निर्वाचन नजिकिंदै गर्दा इन्जिनियरिङ्ग क्षेत्रसँग सम्बन्धित विभिन्न सवाल बहसमा आइरहेका छन् । ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको निर्वाचन आउँदो भदौ २८ गते रहेको छ ।

एशोसिएसनको विधान बमोजिम केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले (जसमा एक जना केन्द्रीय समिति सदस्य समेत समावेश छन्) ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

नेपाल इञ्जिनियरिङ्ग काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इञ्जिनियरिङ्ग काउन्सिलको तथ्यांक अनुसार हालसम्म इन्जिनियरिङ्गका कुल ५५ विधामध्ये विभिन्न ४४ विधाका झण्डै ८५ हजार इञ्जिनियरहरू काउन्सिलमा दर्ता भइसकेका छन् । हालसम्म काउन्सिलमा आबद्ध भएका कुल ५५ वटा इञ्जिनियरिङ्ग कलेजहरूमा वार्षिक भर्ना क्षमता १२ हजार जति छ भने वार्षिक ४ हजार भन्दा बढी इञ्जिनियरहरू उत्पादन भइरहेका छन् ।

एशोसिएसनमा दर्ता भएका सदस्य संख्या ४० हजार २६७ छन् । ‘ज्ञान नै शक्ति, श्रम नै भक्ति’ भन्ने मूल नाराका साथ नेपालको सर्वाङ्गीण विकासको क्रममा देशका इन्जिनियर समुदायको भूमिका सुव्यवस्थित र प्रभावकारी बनाउनुको साथै समुदायको पेशागत हित र समुन्नतिका लागि संगठित तवरले सामूहिक रूपमा काम गर्न मुनाफारहित एवं गैर राजनैतिक सार्वजनिक प्रकृतिको गैरसरकारी सामाजिक संस्थाको रूपमा स्थापित यस एशोसिएसनले स्थापनाकालदेखि नै इञ्जिनियरहरूको हक-हितमा आवाज उठाउँदै आएको छ ।

तथ्यहरूले नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.) प्रतिको आकर्षण घट्दै गइरहेको देखाएका छन् । दर्ता भएका मध्ये साधारण सदस्य ३२ हजार १४० छन् भने ८ हजार १०० आजीवन तथा २७ जना फेलो सदस्य छन् । आजीवन, फेलो र नवीकरण गराई निर्वाचनका लागि योग्य भएका मतदाता १८ हजार ६०१ छन् ।

नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएका भएका मध्ये ५३ प्रतिशतले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध हुन नै चाहेनन् । त्यसै गरी दर्ता भएका साधारण सदस्यहरूमध्ये आजीवन तथा फेलो घटाएर रहेको मतदातालाई हिसाब गर्दा ६७.५ प्रतिशतले नवीकरण नै गर्न चाहेनन् ।

विकास र समृद्धिको माध्यमबाट तीव्र आर्थिक विकासको चाहनालाई पूरा गर्नका लागि सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरूको पेशागत मर्यादा र विश्वासलाई उच्च राख्न सक्नु नै आजको आवश्यकता हो

उल्लिखित सवालहरूलाई सम्बोधन गर्न ने.इ.ए.को सदस्यताको गुणस्तरीयता र गरिमालाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । सोको लागि ने.इ.ए.मा नीतिगत हस्तक्षेप गर्न सक्ने, प्राज्ञिक र अन्तर्राष्ट्रिय अनुभव भएका नेतृत्वको खाँचो देखिन्छ । ने.इ.ए. लाई पेशागत संगठन बनाउन यो क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यभारहरू रहेको देखिन्छ :

जस्तैः (१) आम इन्जिनियर/आर्किटेक्टहरूको हकहित संरक्षण र सेवा/सुविधा प्रवर्धन, (२) रोजगार तथा पेशागत क्षमता अभिवृद्धि, (३) इञ्जिनियरिङ्ग शिक्षा नेपालमै, (४) नीतिगत सुधार, (५) ने.इ.ए.को सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि, (६) सहकार्य एवम् समन्वय, (७) संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध र (८) सम्मान तथा उत्प्रेरणा । यी विषयहरू सम्पूर्ण पेशागत इन्जिनियरिङ्ग समुदायको साझा मुद्दा रहेको छ ।

संघीयता कार्यान्वयन पश्चात् प्रदेश र स्थानीय तहमा कार्यरत इन्जिनियरहरूका सम्बन्धमा देखिएका विशिष्ट किसिमका समस्याहरू (सेवा प्रवेश बिन्दु कतै छैटौं तह र कतै सातौं तह भएको पाइएकोले सो विषयमा एकरूपता हुनुपर्ने, स्थानीय तहका प्राविधिक शिक्षा लागू भएका विद्यालयहरूमा कार्यरत करारका इन्जिनियरहरूलाई स्थायी गर्नुपर्ने माग) लाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।

साथै निर्वाचन घोषणापत्रको सवालमा दुई–चार जनाले कोठामा बसेर तय गरेको एजेण्डा व्यावहारिक नहुने भएकोले इन्जिनियरिङ्ग विधाका सबै पेशागत क्षेत्र समेटिने गरी बृहत् छलफलबाट प्रतिनिधिमूलक एजेण्डा बनाउनुपर्ने इन्जिनियरहरूको सुझाव रहेको छ ।

तसर्थ ने.इ.ए. प्रतिको आस्थालाई वृद्धि गर्न यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी प्राज्ञिक, क्षेत्रगत प्रतिनिधित्व तथा भौगोलिक तथा लैङ्गिक रूपमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सहितको अभिभावकीय संगठनको रूपमा विकास गर्नु आवश्यक रहेको छ । चुनावको लागि टिम संयोजन, अनुभव, योग्यता, क्षमता, इञ्जिनियरिङ्ग क्षेत्रमा गरेको योगदानले महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको सुझाव रहेको छ ।

नेपालको सार्वजनिक प्रशासनमा प्राविधिक प्रशासनको अवधारणा कार्यान्वयन भएको आभास हुनसकेको छैन । देशको शिक्षा, स्वास्थ्य, न्याय जस्ता क्षेत्रहरूमा छुट्टै ऐनको व्यवस्था भए तापनि इञ्जिनियरिङ्ग क्षेत्रको छुट्टै ऐन हालसम्म नभएको अवस्था छ ।

विकास निर्माणका प्रमुख क्रियाकलापहरूमा आयोजनाको आवश्यकता निर्धारण, आयोजना स्थल छनोट, आयोजनाको जग्गा प्राप्ति, वातावरणीय मूल्यांकन, आयोजना कार्यान्वयन आदि रहेका हुन्छन् । विकास निर्माणका कार्यहरू कार्यान्वयन गर्दा, सम्बन्धित सरोकारवाला निकायहरूबाट पूरा गर्नुपर्ने दायित्व समयमै पूरा नहुनु, समयमै बजेट उपलब्ध नहुनु, आवश्यक समन्वय तथा सहकार्य नहुनु जस्ता कारणहरूले कार्यान्वयनमा ढिलासुस्ती हुने गर्दछ ।

तर यसको सिंगो जवाफदेहिता इञ्जिनियरिङ्ग समुदायले व्यहोर्नुपर्ने अवस्था छ । इञ्जिनियरिङ्ग समुदायले भोग्नुपरेका यस्ता समस्या तथा चुनौतीप्रति सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनुपर्ने अवस्था रहेको छ ।

इञ्जिनियरिङ्ग शिक्षा, इञ्जिनियरहरूको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इञ्जिनियरहरूको सम्मानजनक रोजगारी एवं नवप्रवर्तन प्रवर्धन, इञ्जिनियरिङ्ग सम्बद्ध निजी क्षेत्रको विकास, इञ्जिनियरहरूको हक–हितको संरक्षण, इञ्जिनियरिङ्ग पेशा र समाजबीच मर्यादित सम्बन्ध मुख्य चासोको विषय हो ।

यस्ता बृहत्तर उद्देश्यहरूमा अन्तरनिहित रही देशको आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा टेवा पुर्‍याउन क्रियाशील इन्जिनियरिङ्ग समुदायको खाँचो रहेको छ । विकास र समृद्धिको माध्यमबाट तीव्र आर्थिक विकासको चाहनालाई पूरा गर्नका लागि सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरूको पेशागत मर्यादा र विश्वासलाई उच्च राख्न सक्नु नै आजको आवश्यकता हो ।

(पाण्डे र घिमिरे नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा प्रगतिशील समूहबाट क्रमशः अध्यक्ष र महासचिव पदमा उम्मेदवार छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?