+
+

को हुन् घोस्ट ह्याकर ? जसले मृत मानिसका अकाउन्टलाई निसाना बनाइरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १०:०१

साइबर अपराधका घटनामा तीव्र रुपमा वृद्धि भइरहेको छ । ह्याकरहरूले इन्टरनेट प्रयोगकर्तालाई निसाना बनाउनका लागि नयाँ-नयाँ तरिकाहरुको प्रयोग गरिरहेका छन् ।

हुँदाहुँदा साइबर अपराधीहरूले मरिसकेका मानिसहरुलाई पनि बाँकी छाडेनन् । वास्तवमा ह्याकरहरूको नयाँ निसाना नै मृत मानिसहरू बन्न थालेका छन् । त्यस्ता खालका ह्याकरहरुलाई घोस्ट ह्याकर अर्थात् भुताहा ह्याकर भन्ने गरिन्छ ।

साइबर हमला अर्थात् ह्याकिंगको यो नयाँ तरिका पछिल्लो दिनमा तीव्र बनिरहेको छ । यसका लागि ह्याकरहरुले सोसल मिडियामा निगरानी गर्ने गर्दछन् र ती व्यक्तिको मृत्यु भएको खबर थाहा पाउने बित्तिकै सक्रिय बन्दछन् ।

कसरी काम गर्दछन् घोस्ट ह्याकर ?

घोस्ट ह्याकरलाई जब कुनै व्यक्तिको मृत्यु भएको थाहा हुन्छ तर उनीहरू उक्त मृतकको सोसल मिडिया अकाउन्ट तथा अन्य अनलाइन अकाउन्टहरुमाथि आक्रमण गर्न सुरु गर्दछन् । त्यसका लागि उनीहरुले सुरुमा सो मृतकसँग सम्बन्धित सबै जानकारीहरु संकलन गर्दछन् ।

उसको सोसल मिडिया अकाउन्टलाई खोतलेर पनि त्यसबाट सबै खालका विस्तृत विवरणहरु जुटाउँछन् ।

त्यसपछि उनीहरुले ह्याकिंगका लागि आफ्ना पुराना हतकण्डा अपनाउँछन् । सोसल इन्जिनियरिंगलगायतका विभिन्न तरिकाहरुको प्रयोग गरेर उक्त सोसल अकाउन्ट ह्याक गर्दछन् । त्यसका अलावा कमजोर पासवर्ड क्रयाक गर्ने, सेक्योरिटी प्रश्नहरुको जवाफ दिएर पासवर्ड रिसेट गर्ने कोसिस पनि गर्दछन् ।

एकपटक जब उनीहरूले कसैको अकाउन्टमा पहुँच प्राप्त गर्दछन् त्यसपछि उनीहरुले विभिन्न खालका अपराध गर्दछन् ।

वास्तवमा उनीहरुको अन्तिम लक्ष्य भनेको पैसा कमाउनु नै हुन्छ । त्यसका लागि उनीहरुले कुनै अकाउन्टमा पहुुँच पाएसँजै त्यहीँ दिशामा काम गर्दछन् । सो अकाउन्टबाट स्पाम पठाएर वा उसका च्याटहरुको फाइदा पनि उठाउन सक्दछन् ।

जोगिन के गर्ने ?

सोसल मिडिया प्लाटफर्महरुमा मृत मानिसहरुका अकाउन्टलाई व्यवस्थित तथा सुरक्षित गर्ने विकल्प उपलब्ध हुन्छ ।

उदाहरणका लागि फेसबुकमा कुनै पनि प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो फेसबुक अकाउन्ट के हुने ? भन्ने कुरा आफै तय गर्नसक्छ । त्यसमा आफ्नो फेसबुक अकाउन्ट आफ्नो मृत्युपछि अरु कसैले चलाउने वा निस्क्रिय बनाउने भन्ने विकल्प रोज्न सकिन्छ ।

फेसबुकमा मात्र होइन यस्तो फिचर इन्स्टाग्राम र एक्समा पनि रहेको छ । यी सबै प्लाटफर्ममा सेटिंग्समा गएर उल्लिखित सेटिंगलाई सक्रिय बनाउनु पर्दछ । तपाईंले Memorialization अप्सनमा गएर legacy account छान्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?