+
+

संगीत गुरु चन्दनकुमार श्रेष्ठको पुस्तक ‘संगीत स्वराधना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १२:१५

काठमाडौं । संगीत गुरु चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ सार्वजनिक भएको छ । शनिबार राष्ट्रियसभा अध्यक्ष निवास बालुवाटारमा आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पुस्तक विमोचन गरे ।

पुस्तकमा संगीतका सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको ज्ञान र विवेचना प्रस्तुत गरिएको लेखक श्रेष्ठले बताए । संगीत साधकदेखि संगीत विधामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि समेत यो पुस्तक उपयोगी रहेको जनाइयो ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला-संस्कृतिलाई जोगाउन संगीत क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । उनले भने, ‘अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबर्जस्त सांस्कृतिक हस्तक्षेप गरेको यथार्थ हामी सबैले भोगिरहेकै छौं । यस्तो स्थितिमा हाम्रो मौलिक कला-संस्कृति जोगाउन गीत-संगीतको क्षेत्र निकै महत्वपूर्ण हुन्छ ।’

समाजलाई कुन मार्गमा अघि बढाउने भन्ने कुरामा गीत-संगीत र कला-साहित्यको विशेष भूमिका हुने उनले बताए । संगीतको विकास र प्रवर्धनले नेपाली समुदायलाई सुसांस्कृतिक र एकताबद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आफूले लिएको उनले बताए ।

नेपाली कलासंस्कृतिको मौलिकता जोगाउने कुरामा सोधमूलक र खोजमूलक पुस्तक प्रकाशन हुनु हामी सबैको लागि गर्वको विषय रहेको अध्यक्ष दाहालको भनाइ छ । ‘यो कार्यमा यो पुस्तकले मजबुत सिंढी थप्ने विश्वास मैले लिएको छु,’ उनले भने । दाहालले राजनीतिक र सांगठनिक अनुभव सुनाउँदै संगीत महत्वपूर्ण पक्ष रहेको बताए ।

वरिष्ठ संगीतकार दीपक जंगमले संगीतसाधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने बताए । लामो समयदेखि शास्त्रीय संगीतमा सक्रिय श्रेष्ठद्वारा लिखित उक्त पुस्तक शास्त्रीय संगीत बुझ्न र जान्न रुचाउनेका लागि उपयोगी हुने बताइएको छ ।

वरिष्ठ संगीतकार शुम्भजीत बास्कोटाले शास्त्रीय संगीतप्रेमीका लागि उक्त पुस्तक पठनीय हुने बताए । अन्तर्राष्ट्रियरुपमै नेपालमा पनि यस्ता शास्त्रीय संगीतका गुरु छन् भनेर अवगत गराउन पुस्तकले योगदान दिने उनको तर्क छ । लेखक श्रेष्ठको संघर्षमय सांगीतिक जीवनले संगीतको सफलतामा पुग्न कति संघर्ष गर्नुपर्छ भन्ने कुरालाई पुस्तकले उतारेको उनको भनाइ छ ।

नेपाल संगीतकार संघका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले शास्त्रीय संगीत सिक्न र बुझ्न चाहनेका लागि यो पुस्तक पठनीय हुने बताए ।

कार्यक्रममा वरिष्ठ गायिका संगीता राना प्रधान, संगीतकार राजु सिंह, चेतन सापकोटा, गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार,  गायिका माण्डवी त्रिपाठी, गीतकार उत्तमबाबु श्रेष्ठ लगायत सहभागी थिए ।

पुस्तकको मूल्य २ हजार ५०० रुपैयाँ राखिएको छ । ‘संगीत स्वराधना’को यो पहिलो भाग हो । यसको अन्य भाग पनि प्रकाशन गर्दै जाने लेखक तथा संगीत साधक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?