+

एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

२०८१ भदौ  २३ गते १४:०६ २०८१ भदौ २३ गते १४:०६
एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

२३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ ।

एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ ।

‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ खेलाडीसम्म हुनेछन् । विदेशी खेलाडी कति हुने त्यो टुङ्गो लाग्न बाँकी छ’, क्यान स्रोतले अनलाइनखबरलाई भन्यो ।

अब क्यानले मार्की खेलाडी चाडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । मार्की खेलाडीमा नेपालबाट खेलेका वर्तमान टोलीका शीर्ष खेलाडी हुनेछन् ।

अक्सनमा न्यूनतम खेलाडीको मूल्य तय हुन पनि बाँकी छ । खेलाडीको अन्तर्राष्ट्रिय सहभागीता अनुसार अक्सन ग्रेड निर्धारण हुनेछ । त्यसै अनुसार खेलाडीले अक्सनमा न्यूनतम मूल्य तय गर्न पाउनेछन् ।

यसअघि २०२२/२३ मा सम्पन्न विवादित नेपाल टी-२० लिगमा भने खेलाडी ड्राफ्टबाट छनोट गरिएको थियो । उक्त विवादित लिगको ड्राफ्टमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख मूल्य तोकिएको थियो ।

उक्त नेपाल टी-२० लिग भने क्यानले ८ वर्षलाई भारतीय कम्पनी सेभेन थ्री स्टारलाई बेचेको थियो । त्यसैको कारण स्टप फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनु, आयोजक नै फिक्सिङको मुख्य योजनाकार हुनुलगायतका थुप्रै विवादै विवादमा सम्पन्न भएको थियो ।

नेपाल प्रिमियर लिग क्यान आफैंले आयोजना गर्नेछ । यसै साता ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोडमा बेचेको थियो । एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली छन् ।

पोखरा नेपाल टी-२० क्रिकेट प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ टिम अक्सनमा खर्चेको थियो । नेपाल टी-२० लिगका ६ फ्रेन्चाइजमध्य एनपिएलमा स्वामित्व किन्ने पोखरा एक्लो टोली समेत हो । उक्त नेपाल टी-२० लिगमा स्वदेशी लगानी भएको पनि पोखरा एक्लो टोली थियो ।

एनपिएलमा पोखरापछि कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा काठमाडौंको टोली किनेको थियो । ड्रिम स्पोर्ट्सले जनकपुरको स्वामित्व २ करोड ५ लाख रुपैयाँमा किनेको थियो ।

फर्चुन हेल्थ कियरले लुम्बिनी टिमको स्वामित्व १ करोड ८६ लाखमा किनेको थियो । चितवन मेडिकल कलेजले १ करोड ६८ लाखमा चितवन टिमको स्वामित्व किनेको थियो ।

एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर १ करोड ५१ लाखमा किनेको थियो । हिमालयन बिल्डर्सले १ करोड ११ लाखमा कर्णाली किनेको थियो । त्यस्तै इम्पियर स्पोर्ट्सले १ करोड ६८ लाखमा सुदूरपश्चिमको स्वामित्व किनेको थियो ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय