+

विदेशी लिगमा छाउँदै नेपाली महिला फुटबलर, फ्रेन्च लिग देखि एएफसी वुमन्स च्याम्पियन्स लिगसम्म

२०८१ भदौ  २३ गते १३:४९ २०८१ भदौ २३ गते १३:४९

कुनै समय नेपालका लगि भारतमै खेल्नु पनि ठूलो कुरा थियो । अहिले नेपाली खेलाडी भारतमा मात्र होइन इजरायल हुँदै युरोपमा पुगिसके । त्यो पनि विश्वका स्तरीय लिग र खेलाडी रहेको फ्रान्समा नेपाली खेलाडी खेलिरहेका छन् ।

विदेशी लिगमा छाउँदै नेपाली महिला फुटबलर, फ्रेन्च लिग देखि एएफसी वुमन्स च्याम्पियन्स लिगसम्म

२३ भदौ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले गत वर्ष विश्वकै चर्चित फ्रान्सको शीर्ष श्रेणीको महिला लिग फुटबल खेल्दै कीर्तिमान बनाइन् । नेपालबाट युरोपियन लिग खेल्ने पहिलो खेलाडी उनी उनी लगातार दोस्रो सिजन गुइगाम्पबाट खेल्न लागेकी हुन् ।

***

रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । हाल युएईको अबुधाबी कन्ट्री क्लबबाट खेलिरहेकी उनले च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा दुई गोल गरिन् । एक गोल त रोनाल्डो खेल्ने साउदी क्लब अल नासेरको महिला टोली विरुद्ध थियो ।

***

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि युरोपमा खेल्न जान लागेकी छन् । उनी  ग्रीस क्लब निस अट्रोमिटोउमा २०२४-२५ को सिजनका लागि अनुबन्ध भएकी हुन् ।

***

नेपालका युवा फुटबलहरु जेनिफर राना, कुश्मा राई र सुशिला कुमारी चौधरी हाल भुटानको शीर्ष श्रेणीको महिला लिग खेलिरहेका छन् ।

***

नेपाली महिला फुटबल खेलाडीहरु विदेशमा जमिरहेको पछिल्लो उदाहरण हो । नेपालमा अहिले एन्फा महिला लिग सुरु भइरहँदा केही महिला फुटबलहरु भने विदेशी लिगमा छाइरहेका छन् ।

गोल मेसिनको रुपमा चिनिने सावित्रा भण्डारी ‘साम्बा’ देखि युवा फरवार्ड रेखा पौडेलसम्म अहिले विदेशी लिगमा व्यस्त छन् । कप्तान एन्जिला सुब्बा युरोमा खेल्न जाने तयारीमा छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभागीय क्लब देखि प्रदेश र नगरपालिका समेटेर १० टिमको महिला लिग सञ्चालन गरिरहेको छ । जसमा विभागीय टोली बाहेक अन्य विभिन्न ७ टोली सहभागी छन् ।

लिगमा विदेशी खेलाडीहरु समेत आएर खेलिरहेका छन् । विभाग, प्रदेश र नगरपालिका बाहेक फुटबल खेल्नका लागि महिलाको क्लबसमेत बन्न थालेको छ । संकटा र बागमती युथ क्लब त्यसै उदाहरण हुन् ।

नेपालमा शीर्ष डिभिजनमा लिग सुरु भइरहँदा नेपालका आधा दर्जन खेलाडी भने विदेशी लिगमा व्यस्त हुँदैछन् ।

पुरुष खेलाडीहरु भन्दा पहिले महिला खेलाडीले युरोपमा व्यावसायिक फुटबल खेल्दै कीर्तिमान बनाएका हुन् । यस्तै एएफसी च्याम्पियन्स लिगमा पनि नेपालको महिला खेलाडी र क्लबले पहिले खेल्दै इतिहास रचे ।

पछिल्लो समय नेपालको महिला फुटबलले प्रगति गरिरहेको छ । तर यसमा सम्बन्धित निकायबाट चाहिने जति गर्नुपर्ने जति काम भएको छैन । यद्यपि खेलाडीहरु भने आफ्नै मिहिनेत  र परिश्रमबाट विदेशी लिगमा उठान भरिरहेका छन् ।

लगातार दोस्रो सिजन फ्रान्समा खेल्दै सावित्रा

साम्बा नेपाली फुटबलको सुपर स्टार हुन् । गोल मेसिन उपनामले परिचित उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ५० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पूरा गरिसकेकी छन् ।

इजरायलको लिग खेल्दै युरोपियन फुटबल यात्रा थालेकी साम्बा हाल फ्रान्समा असली युरोपियन लिग खेलिरहेकी छन् ।

मोजाको बलदेखि फुटबल खेल्न थालेकी उनले आज फ्रान्समा खेल्दै सारा संसारलाई नेपाल र नेपाली फुटबलबारे चिनाइरहेकी छन् । विश्वकै उत्कृष्ट खेलाडी र क्लब विरुद्ध नेपाली खेलाडीले उत्कृष्ट लिगमा खेल्नु चानचुने कुरा होइन ।

गत सिजन थोरैले रेलिगेसनबाट बचेको इए एभान्ट गुइगाम्पले लगातार दोस्रो सिजन पनि सावित्रालाई क्लबमा अनुबन्ध गरेको हो ।

विश्वकै उत्कृष्ट खेलाडी खेल्ने फ्रान्सको लिग एकदमै कठिन हुन्छ । त्यसमा साम्बा आफ्नो भविष्यलाई अझ राम्रो बनाउन मिहिनेत गरिरहेकी छन् ।

‘व्यावसायिक फुटबलको लागि म फ्रान्समा हुन्छ । यहाँको लिग टफ हुन्छ । यसको लागि पनि म तयार छु ।  र मैले यहाँ केही गर्न सके भने नेपालको लागि केही गर्न सक्छु । पछि म यहाँबाट फर्किएपछि मेरो क्लब र देशका लागि केही गर्न सक्छु भन्ने लाग्छ’, सावित्राले फ्रान्सबाट अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

सावित्राले नेपाल र फ्रान्सको लिग धेरै फरक रहेको बताइन् । ‘यहाको लिग धेरै फरक छ । यहाँको अनुभव फरक हुन्छ । यहाँबाट धेरै सिक्न पाइन्छ । विश्वकै नम्बर वान क्लबहरुसँग खेल्नुपर्छ । पीएसजी लियोनजस्ता बलियो क्लब छ । सबै टिम हाम्रो लागि कठिन छ । किभने हामरो टिममा यहाका नयाँ जेनेरेसनका खेलाडी छन्’, उनले भनिन्, ‘युवालाई प्रमोट गरिरहेका छन् । हाम्रो लागि हरेक खेल कठिन हुन्छ । तर त्यहीबाट धेरै कुराहरु सिक्ने अपेक्षा छ ।’

साम्बाले नेपाल र भारत धेरै उपाधि जितेपनि युरोपतिरको यात्रा सुरु भएको हो । घरेलु फुटबल एपीएफबाट खेल्ने उनले धेरै उपलब्धी हासिल गरेकी छन् । उनले भारतीय लिग पनि तीन पटक जितेदै उपाधिमा ह्याट्रिक गरेकी छन् ।

हाल फ्रान्समा रहेपनि उनका लागि नेपालको लिग र एपीएफ क्लब भने धेरै मिस उनी सुनाउँछिन् । व्यवासयिक सम्झौता गर्दा नै राष्ट्रिय टिमबाट वाफ च्याम्पियनसिपको फाइनल गुमाइन् । केही दिनअघि एपीएफले च्याम्पियन्स लिग खेल्दा पनि उनी टिममा थिएनन् । यही नै हो व्यावासायिक फुटबल खेल्नुको फरक हो ।

‘नेपालको अधिकांश कुरा मिस हुन्छ । एपीएफ कुनै टिमसँग खेल्दा मिस हुन्छ । हरेक गेम हेरिराको हुन्छु । एपीएफ मेरो पहिलो क्लब हो’, सावित्राले भनिन्, ‘जहाँ गएपनि म एपीएफ क्लबलाई भुल्ने छैन । मेरो मुटुमा रहने टिम । हरेक क्षणमा एपीएफ मिस गरिराको हुन्छ । महिला लिग मिस हुन्छ ।’

ढिलै भएपनि महिलाको लिग सुरु भएकोले यसले केही आशा जगाउने र नयाँ खेलाडीको लागि अवसर प्रदान गर्ने सावित्राको विश्वास छ ।

‘दुई वर्षपछि नेपालमा महिला फुटबल लिग हुँदैछ । साँच्चै भन्दा सबै जना उत्साहित छन् । नयाँ जेनेरेसनका खेलाडीहरु छन् धेरै । नयाँ खेलाडीको परिक्षण पनि हुन्छ’, उनी भन्छिन्, ‘आउने दिनमा राष्ट्रिय टिमलाई पनि फाइदा हुन्छ । त्यसका लागि पनि लिग महत्वपूर्ण छ । अब लिग सुरु भएको छ । सबै टिम राम्रो छ । विदेशी खेलाडी ल्याउ प्रतिस्पर्धा बढेको छ ।’

कीर्तिमानी रेखा पौडेल

साम्बापछि अहिले अर्को चर्चित खेलाडी बनेकी छन्, रेखा पौडेल । यी युवा फरवार्ड घरेलु फुटबल नेपाल पुलिस क्लबबाट खेल्छिन् ।

रेखाले नेपाली फुटबलमा एउटा नयाँ कीर्तिमान बनाइन् । उनी एएफसी वुमन्स च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् । भलै त्यो गोल नेपाली क्लबका लागि नभएर युएईको क्लबका लागि थियो । उनले युएईको अबुधाबी कन्ट्री क्लबबाट खेल्दै गोल गरेकी हुन् ।

पहिलो पटक भइरहेको एएफसी महिला च्याम्पियन्स लिगमा नेपालबाट एपीएफ क्लबले लिग च्याम्पियनसिपको हैसियतामा सहभागी भएको थियो ।

तर एपीएफ र रेखा सम्मिलित यी दुई टोली फरक समूहमा थिए । नत्र रेखा र एपीएफको भेट पनि हुन सक्थ्यो ।

रेखाले प्रारम्भिक चरणमा अबुधाबीबाट खेल्दै लाओसको योङ एलिफन्सटविरुद्ध पहिलो खेलमा गोल गरिन् । दोस्रो खेलमा गोल गरिनन् । तेस्रो खेलमा रेखाकै निर्णायक गोलमा जित हात पार्दै अबुधाबी क्लब समूह विजेता बनेर एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्‍यो ।

रेखाकै गोलमा अबुधाबीले अघिल्लो खेलमा महत्वपूर्ण प्रदर्शन गरेको अल नासेरविरुद्ध जित निकालेकाले पनि गोल महत्वपूर्ण बन्न पुग्यो ।

अनी अल नासेर त्यही क्लब हो जहाँ विश्वका स्टार क्रिस्टियानो रोनाल्डोले अहिले खेलिरहेका छन् र रेखाले त्यही क्लबको महिला टिम विरुद्ध गोल हानेकी हुन् ।

रेखा अल नासेर विरुद्ध खेल्ने/नखेल्ने टुङ्गो थिएन । खेलअघि उनीको स्वास्थ्य अवस्था खासै ठिक थिएन । त्यसैले उनले बेन्चबाट खेल सुरुआत गरिन् । सायद उनको क्षमतामा टिमलाई विश्वास थियो । त्यसैले उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरिन् ।

अनि ६८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । त्यही गोलले नै अबुधाबीले खेल जित्यो । अनि रेखाको चर्चा नहुने कुरै भएन ।

रेखा पहिलो गोल गर्दा नै कीर्तिमान बनाउन सकेकोमा खुशी थिइन् । दोस्रो गोल भने उनका लागि अझ विशेष र भावुक नै बन्यो । एक त बेन्चआट आएर गोल गरिन् अनि एएफसी महिला च्याम्पियन्स लिगमा टिम छनोट भयो ।

अब उनी च्याम्पियन्स लिगको मुख्य चरण खेल्ने पहिलो नेपाली खेलाडी समेत बन्नेछिन् । त्यसमा गोल गरे अर्को कीर्तिमान बन्नेछ ।

‘अल नासेर विरुद्ध गोल गर्नु मेरो व्यक्तिगत रुपमा मात्र उपलब्धी नभई त्यही गोलले अबुधाबी क्लबलाई पनि एएपसी च्याम्पियन्स लिगमा पुग्ने पहिलो क्लब बनायो’, रेखाले युएईबाट अनलाइनखबरसँग भनिन्, ‘खेलअघि मेरो स्वास्थ्य स्थिति राम्रो थिएन । म प्रार्थना गारिरहेको थिएँ र म खेल्न चाहन्थें ।’

रेखाले अगाडि भनिन्, ‘मलाई थाहा थियो अवसर पाएँ म फरक गर्न सक्छु भने । म अक्सिन मास्क लगाएर बसेको थिएँ तर पनि मैले बेन्चबाट आएर खेलेँ अनी स्कोर गरेँ । यसको जस जसले मलाई विश्वास गरे उनीहरुमा जान्छ ।’

रेखाले पनि आफूलाई देखाएको विश्वासलाई खेर जान दिइनन् ।

रेखाले विदेशी खेल्दा खेल्दा छुट्टै महसुस हुने बताइन् । ‘विदेशी लिगमा खेल्दा एकदमै राम्रो र व्यावसायिक महसुस हुन्छ । यो साँच्चै भन्दा फरक छ र स्तर राम्रो छ ।’

ग्रीक क्लबमा एन्जिलाको उडान

नेपाली महिला टिमकी कप्तान एन्जिला पनि युरोपमा खेल्न जाँदैछिन । उनी ग्रिसको निस अट्रोमिटोउसँग एक वर्षका लागि अनुबन्ध भएकी छन् । उनी युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बन्नेछन् । उनकै टिममेट सावित्रा भण्डारीले फ्रान्समा खेलिसकिन् ।

घरेलु लिग एपीएफबाट खेल्ने एन्जिलाले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी थिइन् । नेपाली टिमकी कप्तान उनले भारत सेथयु एफसी र पाकिस्तानमा सा युनाइटेडको समेत कप्तानी गरिसकेकी छन् । उनको लागि निस तेस्रो विदेशी क्लब हो ।

एक दशक भन्दा बढी समय एपीएफबाट खेलेपटछि एन्जिला युरोपको उडान भर्दैछन् । यसले उनलाई धेरै खुशी बनाएको छ । नेपाली फुटबलको लागि पनि यो अर्को खुशीको कुरा छ ।

उनी आफैँ पनि खुशी र उत्साहित छन् । ‘म एकदमै खुशी छु । युरोपमा खेल्ने सपनता हुन्छ । पूरा हादैछ । उत्सहित पनि छु’, एन्जिलाको प्रतिक्रिया हो यो ।

अब नेपाली फुटबलले पनि गर्व गर्ने कि हाम्रो एक होइन दुई खेलाडी युरोपमा व्यावसायिक लिग खेलिरहेका छन् । यसो भन्दा नेपाली फुटबलको बारेमा पनि युरोपमा चर्चा हुनेछ । खेलाडीहरुबारे पक्कै अझ धेरै खोजी हुनेछ ।

भुटानमा जम्दै तीन फुटबलर

कुनै समय नेपालका लगि भारतमै खेल्नु पनि ठूलो कुरा थियो । अहिले नेपाली खेलाडी भारतमा मात्र होइन इजरायल हुँदै युरोपमा पुगिसके । त्यो पनि विश्वका स्तरीय लिग र खेलाडी रहेको फ्रान्समा नेपाली खेलाडी खेलिरहेका छन् ।

दक्षिण एसियामा यसअघि नेपाली खेलाडीले भारत र पाकिस्तानमा गएर खेलिसकेका छन् । अहिले केही नेपाली मिहला खेलाडी भुटानमा पनि खेलिरहेका छन् ।

उमेर समूहमा नेपालको लागि खेलिसकेका तीन खेलाडी हाल भुटानको शीर्ग श्रेणीको महिला लिग खेलिरहेका छन् । जेनिफर राना, कुश्मा राई र सुशिला कुमारी चौधरी भुटानको ट्रान्सपोर्ट युनाइटेडबाट लिग खेलिरहेका छन् । जेनिफर रानाले नेपालको उमेर समूह्यको राष्ट्रिय टिमबाट खेलिसकेका छन् । यस्तै गोलकिपर सुशाल राष्ट्रिय टिमको क्याम्पसम्म पुगेकी थिइन् ।

यो नेपालका लागि किन महत्वपूर्ण छ भने बंगलादेशमा कप्तान सविना खातुनसहितका खेलाडीहरु समेत अहिले भुटानमै खेलिरहेका छन् ।

युवा खेलाडीका लागि व्यावसायिक फुटबल करियर अघि बढाउने यो पनि राम्रो अवसर हो ।

भविष्यका लागि यो राम्रो संकेत हो एन्फा प्रवक्ता

अहिले नेपालमा महिला लिग सुरु भइरहेको छ र तर यसको चर्चा अलि कम नै छ । पहिलेका स्टार खेलाडी विदशी लिग खेलिरहेकाले पनि अहिले चर्चा अलि कम भएको जिकिर एन्फाको छ ।

नेपालमा लिग चल्दा नेपाली खेलाडीहरु विदेशमा खेल्नु व्यावसायिकताको नमुना मान्न सकिन्छ । तर घरेलु फुटबलको संरचना एकातिर कमजोर रहनु र खेलाडी विदेशमा खेल्न पुग्नुले तालमेल मिलेको देखाउँदैन ।

किनभने नेपाली लिगमा गोल गर्ने खेलाडी कमी भएको हो कि जस्तो भान हुन्छ ।

उपाधि दाबेदार दुई टोली पुलिस एपीएफको खेलमा गोल भएन । साम्बा एपीएफ रेखा पुलिसबाट खेल्थे । एपीएफले आर्मीलाई बल्ल २-१ ले हरायो ।

अब अन्य खेलमा कति गोल हुन्छ हेर्न बाँकी छ । तत्कालका लागि खेलाडी विदेश जाँदा देखिएको असर हो ।

तर एन्फा भने यसले दिर्घकालीन रुपमा राम्रो प्रभाव गर्ने बताउँछ । एन्फा प्रवक्ता सुरेश शाहले नेपालका लागि यो राम्रो सुरुवात भएको बताए । ‘खेलाडीहरु विदेशी लिगमा खेल्नु राम्रो हो । तत्कालका लागि नभएपनि दिर्घकालिन रुपमा यो राम्रो हुन सक्छ । खेलाडीले आर्थिक आर्जन गर्छन्’, प्रवक्ता शाह भन्छन्, ‘विदेशी लिगमा नेपाली खेलाडी खेल्दा नेपालको फुटबल खेलाडी पनि खेल्न सक्छन् भन्ने देखाँउछ । यसले नेपाली फुटबलहररुलाई धेरैले स्काउट गर्छन् । पछि नेपाली महिला फुटबलका लागि एउट ‘हब’  बन्न सक्छ ।’

शाहले भौतिक पूर्वाधार राम्रो हुने हो भने नेपाली महिला फुटबलले धेरै प्रगति गर्न सक्ने बताए । ‘अब खेलाडीहरु विदेशमा खेल्न थालेपछि हामीलाई पनि चुनौती थपिएको छ । ग्रासरुट उमेर समूहदेखि का प्रतियोगिताहरु गर्नुपर्छ’, उनी भन्छन्, ‘भौतिक पूर्वाधार राम्रो हुने हब भने नेपालको महिला फुटबल धेरै माथि जान सक्छ ।’

नेपाली खेलाडीहरु घरेलु फुटबल र दक्षिण एसिया मात्र नभई युरोपसम्म खेल्न थालिसके । यो चानुचुके कुरा पक्कै होइन । तर यसलाई जोगाइराख्न र नेपालले यसबाट कसरी फाइदा लिन्छ त्यो भने आगामी दिनले देखाउँछ ।

अहिले साम्बा फ्रान्समा, एन्जिला ग्रीसमा, रेखा युएईमा खेलेजस्तै भोली नेपालका अन्य खेलाडीहरुले पनि विदेशी लिगमा खेल्न सक्छन् । त्यसले नयाँ आउने खेलाडीहरुलाई पनि मोटिभेट गर्नेछ ।

अहिले पनि साम्बाले भनेजस्तै लिगमा धेरै नयाँ जेनेरेसनका खेलाडीहरु आइरहेका छन् । उनीहरु नै भविष्यमा राष्ट्रिय टिमसम्म पुग्ने हुन् । लिग उनीहरुको क्षमता र प्रतिभा पहिचान गर्नका लागि राम्रो अवसर बन्न सक्छ ।

एन्जिला तुम्बापो सुब्बा फुटबल महिला फुटबल सावित्रा भण्डारी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय