+

स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

२०८१ भदौ  २३ गते १४:२२ २०८१ भदौ २३ गते १४:२२
स्क्रब टाइफस : बालबालिकामा बढ्दो स्वास्थ्य चुनौती

हालै ११ वर्षीया बालिकालाई उच्च ज्वरो र शारीरिक कमजोरीका कारण दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रारम्भमा उनलाई साधारण ज्वरोको उपचार गरियो तर केही दिनमा उनको स्वास्थ्य स्थिति झन् बिग्रँदै गयो । थप जाँच गर्दा उनलाई स्क्रब टाइफस भएको पत्ता लाग्यो ।

समयमै उपचारको अभावमा रोगले उनको कलेजो, मिर्गौला, र फोक्सोमा गम्भीर असर गर्‍यो, जसकारण बहुअङ्ग विफलताको स्थिति सिर्जना भयो । ती बालिकालाई भेन्टिलेटरको सहायतामा राखेर विभिन्न जीवन रक्षक उपाय अपनाइए पनि उनको स्वास्थ्यमा सुधार ल्याउन चुनौतीपूर्ण बन्यो ।

पछिल्ला केही वर्षयता नेपालमा स्क्रब टाइफसको प्रकोपमा उल्लेखनीय वृद्धि भएको छ । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य रोग हो जुन ‘ओरिएन्टिया त्सुत्सुगामुशी’ नामक जीवाणुबाट संक्रमित रुखो इलाकामा पाइने कीराहरू (चिगर्स) बाट फैलिन्छ । बालबालिकामा यो रोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ, जसको प्रमाण हालै ११ वर्षीय एक बालिकामा देखिएको बहुअङ्ग विफलताको (मल्टी–अर्गन फेलियर) एक जटिल केस हो ।

स्क्रब टाइफस के हो ?

स्क्रब टाइफस जसलाई ‘बुश टाइफस’ पनि भनिन्छ, साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो । नेपालका ग्रामीण तथा पहाडी इलाकामा यो रोगको फैलावट बढी देखिएको छ ।

लक्षण र संकेत

स्क्रब टाइफसको लक्षण र सङ्केत सामान्यतया सङ्क्रमणको ६ देखि १४ दिनपछि देखा पर्न थाल्छन् । प्रारम्भिक लक्षण ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान हुन्छन् । साथै अन्य लक्षण र संकेतहरु पनि देखा पर्छन् ।

– उच्च ज्वरो : एकाएक बढ्ने र लामो समयसम्म रहिरहने ।

– शरीर दुख्ने र थकान : सामान्य शारीरिक कमजोरी, मांसपेशी दुखाइ र अत्यधिक थकान ।

– र्‍यासेज : शरीरमा रातो र निलो रङका बिमिराहरू देखिन सक्छन्, जुन बिस्तारै बढ्दै जान्छ ।

– ‘इसर’ खत बसेको जस्तो दाग : काटेको ठाउँमा कालो छाला जस्तो दाग, जुन स्क्रब टाइफसको एक विशेष लक्षण हो ।

– लिम्फ नोड सुन्निनु : घाँटी, घाँटीको माथिको भाग र तलको भागको लिम्फ नोडहरू सुन्निनु ।

– पेट दुख्ने र बान्ता : पेट दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने ।

– खोकी र सास फेर्न गाह्रो हुने : रोगले फोक्सोलाई असर गरेमा खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या हुनसक्छ ।

– मानसिक स्थिति परिवर्तन : गम्भीर अवस्थामा, बेहोसी, चिडचिडापन र अन्य मानसिक परिवर्तन देखा पर्न सक्छन् ।

साथै, समयमै पहिचान र उपचार नभएमा यो रोगले कलेजो, मुटु, मिर्गौला र फोक्सो जस्ता महत्त्वपूर्ण अंगहरुमा असर गरी बहुअंग विफलता निम्त्याउन सक्छ ।

बालबालिकामा बढ्दो स्क्रब टाइफस

हालका दिनमा स्क्रब टाइफस बालबालिकामा बढी देखिन थालेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक तीनदेखि पाँच जना ज्वरोका केसमध्ये एक जना बच्चामा स्क्रब टाइफसको निदान हुने गरेको छ । यसले बालबालिकामा यो रोगको जोखिम कत्ति बढिरहेको छ भन्ने देखाउँछ । प्रारम्भिक लक्षणहरू अन्य साधारण ज्वरोसँग मिल्दोजुल्दो भएका कारण समयमै परीक्षण नगरेमा स्थिति गम्भीर बन्न सक्छ ।

स्क्रब टाइफसको निदान कसरी गर्ने ?

स्क्रब टाइफसको निदान चुनौतीपूर्ण हुनसक्छ, किनकि यसको लक्षणहरू अन्य थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छन् । तर सही निदानका लागि निम्न विधिहरू प्रयोग गरिन्छ :

क्लिनिकल इतिहास र शारीरिक परीक्षण : प्रारम्भिक रूपमा चिकित्सकले बिरामीको लक्षणहरू, संक्रमण भएको क्षेत्र र अन्य कुनै विशेष लक्षण खत बसेको जस्तो दाग छ कि छैन भनेर हेरेर जानकारी लिइन्छ ।

रक्त परीक्षण : रगतको नमुना लिएर स्क्रब टाइफसको विशिष्ट एन्टिबडीहरू पत्ता लगाउन ‘इन्डाइरेक्ट इम्युनोफ्लोरेसन्स’ र ‘इन्जाइम–लिंक्ड इम्युनोसर्बेन्ट’ जस्ता सेरोलोजिकल परीक्षणहरू गरिन्छ ।

मल्टिप्लेक्स पीसीआर टेस्ट : यो एक जटिल तर प्रभावकारी निदान विधि हो जसले स्क्रब टाइफसको कारण हुने जीवाणुलाई सिधै पत्ता लगाउन मद्दत गर्छ ।

बायोप्सी : गम्भीर अवस्थामा खत जस्तो दाग भएको ठाउँ वा छालाको नमुना लिएर जाँच गर्न पनि सकिन्छ ।

स्क्रब टाइफसको रोकथाम र उपचार

स्क्रब टाइफसको उपचारमा समयमै सही एन्टिबायोटिकको प्रयोग महत्वपूर्ण हुन्छ । डक्सीसाइक्लिन र एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक्सलाई प्रभावकारी मानिन्छ । तर रोगको प्रारम्भिक पहिचान र समयमै उपचारको अभावमा जटिलता बढ्न सक्छ । विशेषगरी बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, ज्वरोको समस्या देखा पर्छ भने तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाहअनुसार जाँच गराउनुपर्छ ।

स्क्रब टाइफसबाट बच्ने उपाय

रुखो झाडी भएको क्षेत्रमा नजाने : स्क्रब टाइफस फैलिने मुख्य क्षेत्रहरू झाडी, घाँस, र जंगलहरु हुन् । त्यसैले त्यहाँ जाँदा सम्भव भएसम्म खुला र सुरक्षित स्थानमा बस्नुपर्छ ।

शरीरलाई पूरै ढाक्ने कपडा लगाउने : लामो बाहुला भएको सर्ट, प्यान्ट, टोपी र जुत्ता लगाउनाले शरीरलाई कीराको टोकाइबाट जोगाउन मद्दत गर्छ ।

कीटनाशकको प्रयोग गर्ने : डीईईटी वा पर्मेथ्रिन जस्ता प्रभावकारी कीटनाशकको प्रयोगले शरीरलाई जुकाबाट जोगाउन सक्छ । कपडामा कीटनाशक स्प्रे गर्नु पनि लाभदायक हुन्छ ।

शरीरको जाँच : कतै घुमफिर गरेर आएपछि शरीरको सम्पूर्ण भागको राम्रोसँग जाँच गर्नुपर्छ, ताकि कीराहरु टाँसिएको भएपनि चाँडै हटाउन सकियोस् ।

घाउलाई सफा गर्ने : यदि कुनै घाउ वा खटिरा देखिन्छ भने त्यसलाई राम्ररी सफा गर्नुपर्छ र चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ ।

जनचेतना फैलाउनुपर्छ : विशेषगरी ग्रामीण क्षेत्रमा स्क्रब टाइफसको बारेमा जनचेतना बढाउनु आवश्यक छ, ताकि मानिस यस रोगका लक्षणहरू चिन्न सकुन् र रोकथामका उपाय अपनाउन सकुन् ।

नेपालमा स्क्रब टाइफसको प्रकोप बढ्दै गइरहेकाले यसबारे आम मानिसमा चेतना फैलाउनु आवश्यक छ । विशेषगरी ग्रामीण क्षेत्रमा, जहाँ यो रोगको जोखिम धेरै हुन्छ, नियमित स्वास्थ्य जाँच, सरसफाइ र कीटनाशकको प्रयोगले स्क्रब टाइफसबाट बच्न सकिन्छ । बालबालिकामा स-साना लक्षणलाई पनि बेवास्ता नगरी तुरुन्तै जाँच गराउने र उपचार सुरु गर्ने हो भने जटिलताबाट बच्न सकिन्छ ।

डा. बाबुराम पाण्डे स्क्रब टाइफस स्वास्थ्य समस्या
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय