+
+

आफ्नै ल्यापटपबाट अधिकृतको परीक्षा, छानिए हाकिमका आफन्त

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ भदौ २३ गते २०:१०

२३ भदौ, काठमाडौं । वैदेशिक रोजगार बोर्डले स्वीस हेल्भटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा आपरदर्शी ढंगले छनोट परीक्षा चलाएको भेटिएको छ । सरकारी अभ्यास र नियम विपरीत परीक्षा मात्रै चलाएको छैन, बोर्डका कार्यकारी निर्देशकले आफन्तलाई समेत नियुक्ति दिलाएको खुलेको छ ।

वैदेशिक रोजगार बोर्डले स्वीस हेल्भटास (सामी परियोजना)को सहयोगमा राखिने ३ जना कार्यक्रम अधिकृत र २ रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतका लागि ३० साउनमा विज्ञापन निकालेको थियो ।

सूचनाको विवरणमा ४ जना कार्यक्रम अधिकृत उल्लेख भएपनि ३ जना मात्रै माग गरिएको थियो । त्यसैले सुरुमै विज्ञापनमाथि प्रश्न उठिसकेको थियो । बोर्डमा ४ जना कार्यक्रम अधिकृतहरुले यस्तो काम गर्ने भएपनि किन ३ जना मात्रै माग गरियो भन्ने अझै खुलेको छैन ।

बोर्डले कोशी, मधेश र कर्णाली प्रदेशका लागि ३ जना कार्यक्रम अधिकृत र बोर्डको सचिवालयमा बबरमहलसहित कन्सुलर सेवा विभाग त्रिपुरेश्वरमा रहने २ जना रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृत मागेको थियो । सूचनामा स्पष्ट रुपमा ‘परीक्षाको किसिम: ‘सर्टलिस्ट, प्रस्तुतीकरण, अन्तरवार्ता’ उल्लेख थियो । यसअनुसार आवेदन लिएपछि १२ भदौमा बोर्डले सर्टलिस्ट (संक्षिप्त सूची)सहित सूचना प्रकाशित गर्‍यो ।

सूचनामा कार्यक्रम अधिकृतका लागि ११ जना र रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतका लागि ६ जना सर्ट लिस्टमा परे । कार्यक्रम अधिकृतलाई १७ भदौ र रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतलाई १८ भदौमा लिखित, प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि भन्दै बोलाइयो । जबकी विज्ञापनमा लिखित परीक्षा लिइने उल्लेख नै थिएन ।

तोकिएको परीक्षाभन्दा अघिल्ला दिन परीक्षार्थीहरुलाई ‘श्रमाधान कल सेन्टर’बाट फोन गएको थियो । कल सेन्टरका अपरेटरहरुले परीक्षार्थीलाई लिखित परीक्षाका लागि आफैं ल्यापटप लिएर आउन निर्देशन दिए । एक परीक्षार्थीका अनुसार आफूसँग ल्यापटप नभएपछि साथीको ल्यापटप मागेर परीक्षामा सहभागी हुन परेको थियो ।

परीक्षाको दिनमा परीक्षार्थीहरु ल्यापटप लिएर परीक्षा हलमा पुगेका थिए । त्यसपछि परीक्षा हलमा बोर्डका पदपूर्ति समितिका संयोजक तथा बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, बोर्डका निर्देशक टिकाराम ढकाल, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेल प्रवेश गरे ।

उनीहरुले परीक्षार्थीले ल्याएका ल्यापटपमा कुनै परीक्षण (चेक) गरेनन् । ल्यापटपको डेस्कटपमा एउटा फोल्डर र त्यसभित्र एउटा वर्ड फाइल बनाउन भने । केही प्रश्नहरु दिए र समय तोकेर उत्तर लेख्न भने ।

‘सरकारी निकायमा अस्थायी नै भएपनि अधिकृत जस्तो पदको परीक्षा थियो, तर बोर्डका अधिकारीहरु अधिकांश परीक्षा हलमा बसेनन्,’ एक परीक्षार्थीले भने, ‘बेला–बेलामा हल भित्र पसेपनि परीक्षार्थीको कुनै निगरानी भएन ।’

केही परीक्षार्थीहरुका अनुसार परीक्षा सञ्चालन विधिबाटै परीक्षा ‘कर्ममाण्ड’ मात्रै हो कि भन्ने आशंका लागेको थियो । तर परीक्षा दिए । त्यसपछि सबैले तोकिएका विषयहरुमा प्रस्तुतीकरण दिए । अन्तरवार्ताका क्रममा धेरैलाई विषयभन्दा बाहिरका कुरा गरेर विदा गरिएको थियो ।

यो विषयमा बाहिर छलफल भएपछि परीक्षार्थीहरुलाई नतिजा स्वच्छ हुनेमा आशंकाहरु बढाएको थियो ।

१९ भदौमा बोर्डले नतिजा निकाल्यो, कार्यक्रम अधिकृतमा रञ्जनकुमार झा, जया चौधरी र कल्पना शाहीको नाम निस्कियो । रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृतमा प्रियंका झा र सुस्मिता प्रसाईंको नाम आयो ।

रेस्क्यु एन्ड रिपेट्रियसन अधिकृत नियुक्त भएकी झा पिपरिया–२ सर्लाहीकी हुन् भने प्रसाइ कोहल्बी–१ बाराकी हुन् । स्रोतका अनुसार प्रसाईं, बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीकी आफन्त हुन् । कार्यकारी निर्देशक उप्रेतीको घर पनि बाराकै कोहल्बीमा हो ।

उप्रेतीले आफैं पदपूर्ति समितिका संयोजक रहेर आफन्तलाई छानेका हुन् । ‘श्रम मन्त्री शतरसिंह भण्डारी, बोर्डका कार्यकारी निर्देशक र केही बोर्ड सदस्य निकटका मान्छेहरुको नाम मात्रै निस्किएको छ,’ बोर्डक एक सदस्यले भने, ‘पदपूर्ति समितिले मिलेमतोमा प्रश्नहरु दिएर पहिल्यै दिएर छनोट हुने व्यक्तिहरुलाई ल्यापटपमा उत्तर समेत तयार गरेर ल्याउन भनेको देखिएको छ ।’

उनका अनसार सादा कागज वा बोर्डले उपब्ध गराएको कम्प्युटरमा परीक्षा लिइएको भए प्रश्न उठ्ने थिएन । ‘जो–जो पास हुनुभयो, उहाँहरु सबै बोर्डले सेटिङमा पहिले छानिसकेका मान्छे हुन्,’ ती बोर्ड सदस्यले भने, ‘औपचारिकता पूरा गर्न लागि मात्रै परीक्षा लिइएको हो ।’

पदपूर्ति समितिमा सदस्य रहेका बोर्डका निर्देशक तथा प्रवक्ता ढकाल परीक्षार्थीलाई आफ्नै ल्यापटप ल्याउन भनिएको स्वीकार्छन् । ‘हामीसँग पर्याप्त कम्प्युटर नभएकाले परीक्षार्थीलाई नै ल्यापटप ल्याउन भनेका हौं,’ उनले भने, ‘कसैसँग नभए बोर्डले नै व्यवस्था गर्ने पनि भनेका थियौं ।’

उनले ल्यापटप चेक नगरिएको र परीक्षार्थीलाई फोल्डर बनाएर लिखित परीक्षा दिन लगाएको पनि स्वीकारे । ‘परीक्षा हुनुभन्दा एक घण्टाअघि मात्रै प्रश्न तयार गरेका हौं,’ उनले भने, ‘के–को विषयवस्तुमा आधारित भएर प्रस्तुतीकरण दिने भन्ने पहिले तय नै थियो ।’

बोर्डका कार्यकारी निर्देशक उप्रेती भने योग्य सबैले आवेदन दिनसक्ने व्यवस्था गरिएको र परीक्षामा उत्कृष्ट अंक ल्याएहरुलाई नै नियुक्त गरिएको दाबी गर्छन् । आफन्तलाई जागीर खुवाएको विषय अस्वीकार गरेनन् । आफन्तलाई छनोट गरेको हो भक्न्ने प्रश्नमा उनले भने, ‘आफ्ना परेका हुन सक्छन्, पराई पनि गरेका हुनसक्छन् । जो–जो छानिनु भयो, सबै आफ्ना नै हुन् ।’

परीक्षा प्रक्रिया नै त्रुटिपूर्ण

संविधान अनुसार बोर्डले अहिलेसम्म आफ्ना पदपूर्तिमा अझै लोकसेवा आयोगलाई प्रवेश दिएको छैन । संविधानको धारा २४३ को उपधारा २ ले कुनै पनि संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले लिने उल्लेख छ ।

संविधानमा ‘संगठित संस्था’ भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानुन बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्ने भनिएको छ ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली संगठित संस्थाहरुले करार र अस्थायी पदहरुमा पदपूर्ति गर्नुअघि लोकसेवा आयोगको परामर्श अनिवार्य रुपमा लिनुपर्ने बताउँछन् । ‘आफ्ना मान्छे राख्न यसरी लोकसेवा छल्न नै पाइन्न,’ उनले भने,‘सकेसम्म दाताले दिने स्रोतका भरमा कर्मचारी राख्न नै हुन्न, राख्ने हो भने लोसकेवा आयोगसँग परामर्श गर्नुपर्छ, परीक्षा लोकसेवामार्फत लिनुपर्छ ।’

आफ्ना मान्छे दाबेदार भएमा स्वार्थको द्वन्द्व हुने अवस्था विचार नगर्नुले नियतमै प्रश्न उठ्ने उनको भनाइ छ । ‘परीक्षा लिंदा पनि त्यसको निष्पक्षतालाई कायम गर्नुपर्छ,’ उनले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?