+
+

‘अनुवाद साहित्यका पाठक कम छन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १६:४३

काठमाडौं । ‘काठमाडौं कलिङ साहित्य महोत्सव’को छलफल सत्रमा सहभागी वक्ताहरुले नेपालमा अनुवादित पुस्तकका पाठक एकदमै कम भएको बताएका छन् । ‘नेपालमा साहित्यिक अनुवादको वर्तमान अवस्था’ शीर्षकमा भएको छलफल सत्रमा बुकाहोलिक्सकी संस्थापक तथा अनुवादक सगुना शाह, कवि तथा अनुवादक चन्द्र गुरुङ र समीक्षक तथा अनुवादक महेश पौडेल सहभागी थिए ।

हरेक दिनजसो नयाँ पुस्तक बजारमा आइरहँदा अनुवादित पुस्तकहरु कमै पढ्ने महेश पौडेलले बताए । ‘अनुवादको अस्तित्वलाई भ्यालु नै कति दिन्छौं भन्ने हो,’ उनले भने, ‘किनभने पढिसकेको पुस्तक फेरि दोहोर्‍याएर कतिले पढ्छन् होला र ?’

पछिल्लो डेढ दशकमा लेखकहरुको गतिशीलता निकै बढेको बताउँदै उनले भने, ‘म लेखक हुँ भनिरहँदा मेरो पनि पुस्तक अंग्रेजी वा  हिन्दी भाषामा होस् भन्ने लाग्ने रहेछ । सगौरव भन्न पाइने सबै लेखकहरुलाई नेपाली बाहेक अतिरिक्त भाषामा जाओस् भन्ने हुटहुटी छ ।’

सगुनाका अनुसार अनुवादित पुस्तकको पाठक कम हुन्छन् । किनभने उनी आफैं पनि अनुवाद गरेको पुस्तक धेरै पढ्दिनन् । ‘अंग्रेजीमा पढ्न सजिलो लाग्छ भने अंग्रेजीमै पढ्छु । नेपालीमा लाग्छ भने नेपालीमै पढ्छु । कतिले अंग्रेजीमा पढिसकेको पुस्तक पनि नेपालीमा वा हिन्दीमा पढ्छन् ।’ नेपालीमा पढिसकेको पुस्तकमा नेपाली भाषाको जुन मिठास हुन्छ त्यो अनुवाद भएका पुस्तकले त्यही उचाईंमा पुर्‍याउन नसक्ने उनको बुझाइ छ ।

कवि तथा अनुवादक चन्द्र गुरुङ नेपालमा अनुवादकहरुका लागि राम्रो अवसर रहेको देख्छन् । ‘नेपाली साहित्यलाई विश्वसामु पुर्‍याउने यो सुनौलो अवसर हो,’ उनले भने । उनले पनि थुप्रै अंग्रेजी, अरेबिक, हिन्दी, प्यालेस्टाइनी कविता अनुवाद गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?