+
+

किन मनाउने साक्षरता दिवस ?

नेपालमा दिवस मनाउने चलन पनि अचम्मको छ । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले प्रेस विज्ञप्ति निकाल्छन् । शैक्षिक दिवसमा शैक्षिक संस्था नै छुट्टी हुन्छ । तर केही शिक्षाप्रद कार्यक्रम हुँदैन । न स्थानीय वा राष्ट्रिय मुद्दामा बहस, अन्तरक्रिया हुन्छ न कुनै शैक्षिक कार्यक्रम घोषणा ।

गोपालप्रसाद बस्याल गोपालप्रसाद बस्याल
२०८१ भदौ २३ गते १७:०३

विवेक, शान्ति र परिवर्तनशील मानिसहरूले भरिएको संसार निर्माणका लागि नीतिनिर्माता, नागरिक समाज र व्यक्तिहरूको भूमिका अभिवृद्धि गर्ने उद्देश्यका साथ सन् १९६७ देखि विश्व साक्षरता दिवस मनाउन थालिएको हो ।

युनेस्कोको २६ अक्टुबर १९६६ मा सम्पन्न १४औं सभाले गरेको निर्णय अनुसार हरेक वर्ष सेप्टेम्बर ८ तारिखको दिन यो दिवस मनाइँदै आएको छ । दिवस मनाउँदै गर्दा मानसिक सशक्तीकरण र जीवन परिवर्तन गर्नु मुख्य लक्ष्य हुनु आवश्यक छ ।

सामान्यतया साक्षरता भन्नाले सामान्य लेखपढ र सरल हिसाबकिताब गर्न जान्ने भन्ने अर्थमा लिने गरेको पाइन्छ । तर साक्षरता सीपलाई व्यापक अर्थमा बुझ्नु आवश्यक छ । पठन तथा लेखन सीपले मानिसलाई सार्थक जीवन बाँच्नका लागि सहयोग गर्दछ । तर साक्षरता सीपले पठन तथा लेखनका अतिरिक्त अवसरसम्मको पहुँच, जीवनपर्यन्त सिकाइ बानीको विकास र आफ्नो समुदायको क्रियाशील सदस्यका रूपमा स्थापित हुन मद्दत गर्दछ । तसर्थ आजको दिनले साक्षरता दर वृद्धि गर्ने, शैक्षिक असमानता कम गर्ने र गुणस्तरीय शिक्षाको पहुँच वृद्धि गर्ने सहयोगी कार्यक्रम गर्न अभिप्रेरित गर्दछ ।

शिक्षाले मानिसको जीवनमा अँध्यारो हटाएर उज्यालो ल्याइदिन्छ । शिक्षित मानिसहरू सिर्जनशील, चेतनशील र क्रियाशील हुने भएकोले स्वरोजगार वा रोजगारमा लाग्न सक्छन् । सामाजिक सद्भाव, मेलमिलाप र शान्ति कायम गर्न सक्छन् ।

उनीहरूको ज्ञान, सीप र दक्षताले व्यक्तिगत प्रगति मात्र नभएर समाजका लागि पनि सकारात्मक प्रभाव पर्दछ । तर शिक्षाको अभावमा धेरै मानिसको जीवन कुहिरोको कागको जस्तै बनेको छ ।

पन्ध्र वर्षमाथिका सात जनामध्ये एक जनामा साक्षरता सीप नभएको सन् २०२२ मा गरिएको एक अध्ययनले देखाएको छ । महान् अहिंसावादी नेता नेल्सन मण्डेलाले शिक्षा संसार बदल्ने महत्वपूर्ण हतियार हो भनेका छन् । दार्शनिक अरस्तुका अनुसार हृदय विना मस्तिष्कलाई मात्र शिक्षित गर्नु शिक्षा नदिनु बराबर हो ।

वास्तवमा साक्षरता घरबाट सुरु हुन्छ, जब अभिभावकले किताब समाएर छोराछोरीलाई सिकाउन थाल्नुहुन्छ । अभिभावकले पुस्तकका पाना बाहिरबाट सिकाउने धेरै सीपहरू छन्। उदाहरणका लागि सञ्चार सीप, चिन्तन सीप, सहकार्य तथा सहयोगात्मक सीप, आदर सम्मान र माया दिने, खाना बनाउने, वैयक्तिक तथा घर वरपरको सरसफाइ लगायत धेरै कार्यमा बाबुआमाको शिक्षाले भूमिका खेल्दछ ।

विडम्बना बाल्यकालदेखि विद्यालयको औपचारिक शिक्षाले थिचिएका बालक, व्यस्त र मस्त अभिभावकको संख्या बढ्दै जाँदा अदृश्य पाठ्यक्रमबाट प्राप्त हुने शिक्षाबाट आजका बालबालिका वञ्चित छन् ।

यस वर्षको विश्व साक्षरता दिवसको सन्देश ‘बहुभाषिक शिक्षा प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने रहेको छ । भाषिक सीपले मानिसहरूलाई समिपमा ल्याउँछ । विश्वमा सात हजारभन्दा बढी र नेपालमा १२३ भाषा बोलिन्छ । भाषा विभिन्न मानिसहरू बीच सञ्चार, आपसी सम्बन्ध र एकअर्कालाई बुझ्नका लागि प्रयोग गरिने उत्तम साधन हो ।

विशेषगरी बहुमत मानिसहरूले बोल्ने भाषाको प्रभाव अल्पमत मानिसहरूले बोल्ने भाषामा परेको हुन्छ । भाषा विज्ञान, समाजशास्त्र र व्यावहारिक रूपमा पनि धेरै मानिसले बोल्ने भाषाको प्रभाव बढी देखिन्छ । तर राजनीतिक वा मानवअधिकारको दृष्टिकोणबाट हेर्दा कुनै पनि भाषा सानो–ठूलो नभई हरेक भाषाको आफ्नै पद्धति हुन्छ । विशेषगरी साना बालबालिका घरमा बोल्ने भाषा र विद्यालयमा बोल्ने फरक भाषाका कारण अपेक्षित मात्रामा सिक्नबाट वञ्चित हुन्छन् । त्यसैले साना कक्षाका शिक्षकहरूले विद्यार्थीको मातृभाषा समेत जानेको हुनुपर्छ ।

आधारभूत जानकारीलाई विद्यार्थीको मातृभाषामा सम्प्रेषण गर्न सक्ने सीप हरेक शिक्षकमा हुनुपर्ने र कक्षा शिक्षणका क्रममा आवश्यकता अनुसार भाषानुवाद र कोड स्वीचिङ्ग गर्नु आवश्यक हुन्छ । यसो गर्दा एकातिर विद्यार्थीलाई भाषिक अवरोध हुँदैन भने अर्कोतर्फ ती मातृभाषी विद्यार्थीको नजरमा शिक्षकहरू सहयोगी मानिन्छन् । यसले गर्दा शिक्षक—विद्यार्थी सम्बन्ध र उत्प्रेरणा राम्रो हुन्छ । फलस्वरूप सिकाइमा सकारात्मक प्रभाव पर्दछ ।

वयस्कहरूका बीचमा समेत मातृभाषाको प्रयोग गर्नाले सामीप्यता, सम्बन्ध र विषयवस्तुको स्पष्टता र सही सञ्चार हुने भएकोले धेरै असमझदारी हटेर जाने, नजिकको सम्बन्ध हुने र सामाजिक सद्भाव एवम् पारस्परिक सम्बन्ध स्थापित भई समाजमा शान्ति कायम हुन्छ । अधिकांश मानिसको भाषा र सरकारी तथा नागरिकको माध्यम भाषा नेपाली भए तापनि नेपालमा अन्य भाषाहरूको प्रयोग उल्लेख्य संख्यामा भएको सन्दर्भमा यस वर्षको विश्व साक्षरता दिवसको नारा अझ सार्थक छ ।

नेपालमा दिवस मनाउने चलन पनि अचम्मको छ । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले प्रेस विज्ञप्ति निकाल्छन् । केही मिडियाले स्पोन्सरमा विज्ञप्ति छाप्छन् । साना मिडियाले विज्ञप्ति सारेर समाचार बनाउँछन् ।

यदि फाँटवाला सिर्जनशील रहेछ भने एउटा लेख पत्रिकामा छाप्छन् । अलि भव्य हुने भनेको अन्तरक्रिया वा अतिथिले भाषण गर्नेमै सीमित हुन्छ । सम्बन्धित विषयवस्तुमा कुनै गोष्ठी, कार्यशाला गर्न राम्रो हुन्छ ।

शिक्षा सम्बन्धी दिवसमा शैक्षिक संस्थामा छुट्टी हुन्छ । उदाहरणका लागि विश्व साक्षरता दिवसका दिन नेपालको कुनै विश्वविद्यालय वा विद्यालयले कुनै कार्यक्रम गरेको थाहा छैन । तर अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडाका सबै प्रमुख विश्वविद्यालयमा गोष्ठी, कार्यशाला लगायत शैक्षिक कार्यक्रम गरिएका छन् । कुनै विद्यालयले अभिभावकलाई जम्मा गरेर केही शिक्षाप्रद कार्यक्रम गर्न सक्छ । स्थानीय वा राष्ट्रिय मुद्दामा बहस, अन्तरक्रिया गर्न सकिन्छ । राष्ट्रले कुनै शैक्षिक कार्यक्रम घोषणा गर्न सक्छ ।

नेपालमा अंग्रेजी माध्यममा शिक्षण, शिक्षणमा नेपाली भाषाको प्रयोग र बहुभाषिक शिक्षणका सन्दर्भमा सम्भावित उपायहरूका बारेमा बहस चलाउन सकिन्छ । मातृभाषामा शिक्षण र मातृभाषाको पठनपाठन सुरु भए र बन्द भए । किन बन्द भए ? यदि सञ्चालन हुन सक्दैनन् भने किन भाषिक मुद्दा शिक्षासँग जोडिन्छ ?

यो कुनै राजनीति गर्ने र भाषिक समुदायका तरमारा वर्गका लागि बनेको विषयवस्तु हो ? भाषिक समुदायका लागि के कस्ता प्रयास हुनुपर्ने हो ? भएका प्रयासहरूमा कहाँ त्रुटि भयो ? सुधारको बाटो के हो ? आदि प्रश्नहरू खहरे खोला जस्तै उठ्ने र सेलाउने गरेर समाधान हुँदैन ।

नेपालमा भाषिक उपयोगले राम्रो स्थान पाएको छ । नेपालको संविधानमा नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषा मानेको छ । संविधानले आधारभूत शिक्षा मातृभाषामा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले २६ वटा भाषामा पाठ्यपुस्तक प्रकाशन गरेको छ । विद्यालयमा मातृभाषा वा स्थानीय विषय अध्यापन भइरहेको छ । यसमा केही विद्यालयहरूले मातृभाषामा पाठ्यपुस्तक प्रकाशन र पठनपाठन गरेका छन् ।

बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६ जारी गरिएको छ । बहुभाषिक शिक्षा सम्बन्धी केही अनुसन्धानात्मक कार्यहरू पनि भइरहेका छन् । यी कार्यहरूलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान जानु आवश्यक छ । तर भावावेशको सौदाबाजीमा सार्वजनिक नीतिहरू बन्नुहुँदैन । व्यापक बौद्धिक बहस र अध्ययन पश्चात् निर्णय गर्नु राम्रो हुन्छ । त्यसतर्फ यी दिवसहरूले ध्यानाकर्षण गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?