+
+

दुई समूहबीचको विवादमा अनाहकमा ट्याङ्कर चालक र सहचालकमाथि आक्रमण

जनक विष्ट जनक विष्ट
२०८१ भदौ २३ गते १८:२२

२३ भदौ, धनगढी । शनिबार राति धनगढीको त्रिनगर भन्सार नाकामा पार्किङ गरेर राखिएका ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हरियार प्रहार भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

ट्याङ्करका चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवा धारिलो हतियार प्रहारबाट घाइते भएका थिए । दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमाथि आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा ट्याङ्कर सहचालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ का अरु किशोर रहेका छन् ।

उनीहरु मध्ये मल्ल र बोगटीलाई गएराति र अन्य तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । यो घटनामा केही व्यक्ति अझै फरार रहेका उनले बताए ।

प्रेमिकाको विषयमा झगडा

ट्याङ्करका सहचालक बिक्रम मल्ल र धनगढीको नवदुर्गा माध्यमिक विद्यालयमा पढ्ने एक किशोरबीच प्रेमिकाको विषयलाई लिएर सुरु भएको विवादले घटना भएको देखिएको प्रहरीले जनाएको छ । उनीहरुबीच पहिलेदेखि विवाद रहेको र शनिबार प्रत्यक्ष भेटघाट भएपछि झगडा परेको प्रहरीको भनाइ छ ।

राति करिब ९ बजेतिर भेट हुनेबित्तिकै दुई पक्षबीच त्यहाँ हात हालाहाल भएको थियो । त्यो क्रममा मल्लले किशोरमाथि टाउकोमा फलामको रड जस्तो देखिने वस्तुले हिर्काएको पाइएको प्रहरीले जनाएको छ ।

ट्याङ्करका अन्य सहचालकसहित १०÷१५ जनाको समूह त्यहाँ पुगेपछि किशोरहरुको समूह भागेको थियो । त्यही बेला त्यहाँ पुगेको प्रहरीले अब झगडा नगर्न भन्दै सम्झाइबुझाई गरेर ट्याङ्करका सबै चालक, सहचालकलाई गन्तव्यतर्फ पठाएको थियो ।

…अनि देउवामाथि आक्रमण

मल्ल र बोगटीबाट नराम्रोसँग कुटाइ खाएपछि किशोरहरुको समूह भागेर घर गएका थिए । अन्य मानिसहरु तितरवितर भएर आ–आफ्नो गन्तव्यमा लागेपछि चालक र सहचालक पनि भन्सार अगाडि पार्किङ गरिएका इन्धन लोड गरेका ट्याङकरमा गएर सुतेका थिए ।

राति किशोरहरुको समूहका ५/६ जनाको समूह त्रिनगर भन्सार क्षेत्रमा धारिलो हतियारसहित पुगेका थिए ।

उनीहरुले पार्किङ गरिएका ट्याङकर तोडफोड गर्न थालेपछि ना ६ ख ९४०६ नम्बरको ट्याङकरका चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवाले किन त्यस्तो गरेको भनेर सोध्न जादा उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।

उनीसँगै रहेका सोही ट्याङ्करका सहचालक कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवालाई समेत हतियार प्रहार गरेका थिए । ट्यांकर चालक र सहचालकहरु दुई समूहको विवादमा अनाहकमा आक्रमण परेको देखिएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?