+
+

विद्यार्थीको झगडामा राजनीति घुस्यो, कृषि विश्वविद्यालय ठप्प

एक सहप्राध्यापक अहिलेको विवाद रिक्त हुन लागेको उपकुलपति पदसँग जोडिएको हुनसक्ने अनुमान गर्छन् ।

नुनुता राई नुनुता राई
२०८१ भदौ २३ गते १८:५१

२३ भदौ, काठमाडौं । विद्यार्थी संगठनबीचको विवादले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एक सातादेखि ठप्प छ ।

छात्राबासमा बस्ने विद्यार्थीहरुको व्यक्तिगत झगडामा विद्यार्थी संगठनहरु नै संलग्न भएपछि परीक्षा स्थगित भएको छ भने छात्रबास नै खाली गराइएको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको विवादलाई लिएर छात्राबासका विद्यार्थीहरुबीच १३ भदौमा कुटाकुट भएको थियो । त्यसमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप र प्रहरीमा जाहेरी नै भएपछि १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ ।

२८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित गरी ९ असोजमा पुर्‍याएको छ । उपकुलपति प्रा.डा.पूण्यप्रसाद रेग्मीले भने छानबिन समितिको प्रतिवेदन आएपछि मात्र धेरै कुरा भन्न सकिने बताए ।

‘म विदेशमा भएको बेला घटना घटेकाले यकिन जानकारी छैन’, उनले भने, ‘हामीले डा. भूनन्द देवकोटाको संयोजकत्वमा छानबिन समिति बनाएका छौं । समितिको प्रतिवेदन हेरेपछि मात्रै यकिनसाथ भन्न सकिन्छ ।’

कसरी सुरु भयो विवाद ?

९ भदौमा स्थानीय विद्यार्थी समाजले डोरी तान्ने प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कृषि तथा वनविज्ञान विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत सिनियर विद्यार्थीलाई जुनियर विद्यार्थीले पराजित गरेपछि विवाद सुरु भएको एक प्राध्यापक बताउँछन् ।

सगरमाथा छात्राबासमा बस्ने विद्यार्थीहरु धौलागिरी छात्राबासमा गएर त्यहाँ रहेका विद्यार्थीमाथि कुटपिट गरे । कुटाइ खाएका विद्यार्थीहरु सगरमाथा छात्राबासमा आउन खोजेपछि विद्यार्थीहरुले माथिबाट ढुंगामुढा गरे ।

प्रतियोगितामा जित्नेमध्ये एक विद्यार्थीले ‘जित्नेले खसी काटेर खाएको र हार्नेले भाले काटेर खाएको’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको र त्यसमा हार्ने पक्षको विद्यार्थीले कमेन्ट गरेपछि झगडा सुरु भएको ती प्राध्यापक बताउँछन् ।

सामाजिक सञ्जाल हुँदै भौतिक रुपमा र व्यक्तिगतबाट सांगठनिक रुप लिएर समस्या बढ्दै गएको उनी बताउँछन् । सिनियर र जुुनियरबीचको झगडा सामाजिक सञ्जालमा भनाभन हुँदै १३ भदौमा भौतिक कुटाकुट भएपछि सांगठनिक रुपमा रुपान्तरण भएको एक विद्यार्थी बताउँछन् ।

सगरमाथा छात्राबासमा बस्ने विद्यार्थीहरु धौलागिरी छात्राबासमा गएर त्यहाँ रहेका विद्यार्थीमाथि कुटपिट गरे । कुटाइ खाएका विद्यार्थीहरु सगरमाथा छात्राबासमा आउन खोजेपछि विद्यार्थीहरुले माथिबाट ढुंगामुढा गरे ।

त्यसक्रममा केही गम्भीर घाइते भए । आँखामा गम्भीर चोट लागेको कमन दाहालको टिचिङ अस्पताल महाराजगञ्जमा र टाउकोमा चोट लागेको प्रितम भण्डारीको वीर हस्पिटल, काठमाडौंमा उपचार भइरहेको छ । उक्त घटनापछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा आफैं चितवन पुगेर आक्रमणमा संलग्नहरुविरुद्ध जाहेरी दर्ता गराए ।

अनेरास्ववियुका सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरण खनाल, विवेक कुमार यादव, प्रशन्न पोख्रेल, विवेक खत्री, नविन जैसी, एकराज पराजुली लगायतले छात्राबासको कोठामा बसिरहेका नेविसंघ क्याम्पस इकाइ समितिका निवर्तमान अध्यक्ष सुभम सिंह ठकुरी, उपाध्यक्षद्वय अभिषेक ओली र सुशील क्षेत्री र वर्तमान सचिव प्रितम भण्डारी र कोषाध्यक्ष कमन नेपाल लगायतलाई ज्यान मार्ने नियतले कुटपिट गरेको उनको दाबी छ ।

उनीहरुले फलामको रड, धारिलो हतियार, दाउराको चिर्पट लगायतले सुनियोजित रुपमा कुटपिट गरेको आरोप नेविसंघले लगाएको छ ।

प्रहरीले जाहेरी दर्ता गर्दै प्रशन्न पोखरेल, विनोद भण्डारी र चिरन खनाललाई पक्राउ गर्‍यो भने एकराज पराजुली महेश खड्का र पवन पुरी फरार छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडाल भने नेविसंघका विद्यार्थीले मदिरा सेवन गरी छात्राबास अगाडि अमर्यादित काम गरेको दाबी गर्छन् । उनले विज्ञप्ति जारी गरेर ‘नेविसंघको समूहले हिंसात्मक गतिविधिहरु गरेको’ बताएका छन् ।

प्रतियोगितामा पराजित भएको निहुँमा हिसांत्मक घटना घटाएको र डिनले समेत चासो नदिएर घटना घटाउनेहरुलाई संरक्षण गरेको उनको आरोप छ ।

नेविसंघका अध्यक्ष शेर्पाले दिएको जाहेरी झुटा भएको भन्दै बडालले त्यसका आधारमा पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न समेत माग गरेका छन् ।

घटनापछि कृषि तथा वन संकायको डिन कार्यालयले स्नातक तहको छात्रहरु बसिरहेको करिब साढे २०० जना क्षमता बराबरको चारवटै छात्राबास खाली गराएको छ ।

समस्याको समाधान नभएसम्म छात्राबास खाली रहने डिन कार्यालयले जनाएको छ ।

उपकुलपति पदका लागि राजनीति गरेको आरोप

कतिपयले भने यो विवादलाई उपकुलपति पदसँग जोडेर हेर्नुपर्ने बताएका छन् । उपकुलपति रेग्मीको कार्यकाल असोज पहिलो हप्ता पूरा हुनेछ । उनका साथै केही शिक्षकले विद्यार्थीलाई उचालेर राजनीति गर्न खोजेको एक पूर्वडीन बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘उपकुलपति तथा शिक्षकहरु विद्यार्थीमा राजनीति गरिरहेका छन्, त्यसो नभएको हुन्थ्यो भने विद्यार्थीहरुलाई बेलैमा संयमित बनाउँथे ।’ पदाधिकारी तथा प्राध्यापक संगठनका नेताहरुले आफ्नो स्वार्थका कारण विद्यार्थीलाई उचाल्ने काम गरिरहेको उनको आरोप छ ।

एक सहप्राध्यापक पनि अहिलेको विवाद रिक्त हुन लागेको उपकुलपति पदसँग जोडिएको हुनसक्ने अनुमान गर्छन् । ‘उपकुलपति पद रिक्त हुन लागेकाले प्रजातान्त्रिक र प्रगतिशील प्राध्यापकहरुको आ आफ्नो इन्ट्रेस्ट जोडिएको देखिन्छ’, उनले भने ।

कृषि संकायका डीन प्रा.डा.अर्जुनकुमार श्रेष्ठ भने विद्यार्थीहरुको व्यक्तिगत झगडा बढ्दै जाँदा राजनीतिक रुप लिएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘यो विद्यार्थीहरुको व्यक्तिगत द्वन्द्व बढ्दै जाँदा राजनीतिक हुन पुग्यो । रिक्त हुने उपकुलपति पदसँग यसको सरोकार छ भन्ने लाग्दैन ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?