+
+

‘समाजले अर्को पेशामा राम्रो गरेको व्यक्तिलाई राजनीतिमा अपेक्षा राख्दोरहेछ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १८:५३

आफूलाई जेमा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ, त्यो कार्य गर्न पाउँदा अत्यन्त खुसी लाग्दो रहेछ । जीवन सञ्चालन गर्न प्यासन नै नभएको कुरामा पनि इन्गेज हुनुपर्ने मानिसहरूको बाध्यता हुन्छ । यस मानेमा म चाहिं भाग्यमानी छु । जुन कुरा मलाई असाध्यै गर्न मन थियो । त्यही गर्न पाएँ । पछि नेपाली चलचित्रको निर्माण हुने क्रम बढ्दै गयो । म असाध्यै खुसी भएँ ।

चलचित्रमा काम गर्दाको पहिलो चरणमा ममा अन्योलता र प्रश्नचिह्न थियो । त्यतिबेला नेपाली चलचित्र खासै फस्टाइसकेको थिएन । वर्षमा एउटा दुईटा चलचित्र बन्थ्यो । ‘म जुन कार्य गरिरहेको छु, यसलाई करिअरको रुपमा लैजान सक्छु कि सक्दिनँ थाहा थिएन ।

तर पहिलो चलचित्र रिलिजपछि क्रमबद्ध रुपमा धेरै चलचित्र गर्न पाएँ । आफ्नो करिअरको २५ वर्ष दैनिक १८ घण्टा काम गर्ने मौका पाएँ । त्यो मेरा लागि असाध्यै सन्तुष्टिको पल हो । जुनबेला व्यक्ति सिर्जनशील हुन्छ, त्यो समयमा धेरैभन्दा धेरै आफूले चाहेको कुरामा खर्चिन पाउनु खुसीको कुरा हो ।

नायकको काम

चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हो तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्छ । हिरो भनेको अभिनय गर्ने व्यक्ति हो । अधिकांश चलचित्रमा हिरोइजम प्रस्तुत गर्ने व्यक्तिले यस्तो विषयवस्तुमा काम गरिरहेको हुन्छ, जसले हिरोइजम देखाउँछ । भलै त्यो नक्कली होस् । हरेक क्षमता चुनौतीमा आफूलाई बहादुरीपूर्वक प्रस्तुत गर्छ । तर हिरोको वास्तविक अर्थ– जो व्यक्तिले साँच्चिकै बहादुरी गर्छ । वास्तविक जीवनमा असाधारण काम गर्छ । शरीरलाई जोखिममा पारेर काम गर्छ, उसलाई हिरो भनिन्छ ।

हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन । सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ । सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ । उहाँहरू पनि त नायक हो । किनकि फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो ।

राजनीतिमा निराशा

मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ । यो हाम्रो राष्ट्रको बिडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ । उहाँहरूबाट खासै काम भएको छैन, उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन ।

जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने हो । तर बिडम्बना हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन ।

समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्यो भने राजनीतिमा अपेक्षा राख्दोरहेछ । राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् । मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छ । हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।

मेरा करिअरका तीन चरण

पहिलो चलचित्र गर्दा थाहा थिएन, यसमा मेरो करिअर छ कि छैन । पहिलो चलचित्र युगदेखि युगसम्मको अपार सफलतापछि फिल्म मात्र हैन मलाई पनि फिल्म क्षेत्रमा स्वीकारिदिनुभयो । यो व्यक्ति को हो, कहाँबाट आयो उत्सुकता जाग्यो ।

पहिलो चलचित्र रिलिजपछि दोस्रो चलचित्र कहाँबाट आउँछ भनेर सोचेको थिएँ । तर ९ महिनापछि विभिन्न पक्षबाट चलचित्रका अफर आउन थाले । एक वर्षमा त दिनमै २/३ वटा छायांकन गर्ने अवस्थामा पुग्न सकें ।

ती क्षण पर्याप्त प्राविधिक थिएनन्। म एक्लै ३/४ वटा चलचित्रमा आवद्ध हुन थालें । मेकअप आर्टिस्ट नै त्यतिबेला जम्मा दुई जना थिए। जनशक्तिको अभाव खड्कियो । विस्तारै चलचित्रसँगै जनशक्ति पनि विस्तार भए। विस्तारै यसलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने भयो। कसरी धेरै भन्दा धेरै व्यक्तिलाई संलग्न गराउन सकिन्छ भन्ने लाग्यो । विस्तार हुँदै गयो । एउटा बिन्दुमा पुग्दा त हरेक साल १० वटा चलचित्रमा काम गरेको हुन्थें ।

यसरी गरेको १४ वर्षपछि म जुन प्रकारको नेपाली चलचित्रसँग आवद्ध भइरहेको थिएँ त्यो समय सापेक्ष भइरहेको थियो । त्यसले दर्शकहरूको स्वाद र रुचिलाई परिपूर्ति नै गरिरहेको थियो । जुन किसिमका पात्र गरिरहेको थिएँ, आम नेपाली समुदायलाई प्रतिनिधित्व गरिरहेको थिएँ, युवाहरू प्रभावित थिए ।

हामी राम्रै ट्र्याकमा गइरहेका थियौं । त्यसपछि विश्वभरि नै प्राविधिक परिवर्तन हुन थाल्यो । नयाँ नयाँ तरिकाले चलचित्र प्रस्तुत विश्वमा भइरहेको थियो । छिमेकी देशमा पनि नयाँ तरिकाले बनिरहेका थिए । चलचित्रको दृश्य खिच्ने र प्रस्तुत गर्ने तरिकामा क्रान्ति आइरहेको थियो । हामी चाहिं कता-कता पुरानालाई तन्काइरहेका थियौं । मलाई चाहिं हामीले प्रस्तुत गरेका सामग्री समयसापेक्ष छैन कि, सन् २००६ तिर मलाई पुराना चीजलाई चाहिनेभन्दा बढी तन्काइरहेका छौं भन्ने भएको थियो ।

मैले सात वर्ष अगाडि दर्शकको स्वाद र चाहना अनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नैकै लागि नगर्ने भनेर बसें । यद्यपि अब म तीन हप्तापछि सात वर्षको ग्याप मेट्न जाँदैछु । मलाई कता कता पहिलो चलचित्र गर्न जाँदैछु जस्तो लागिरहेको छ ।

अरु राष्ट्रमा कलाकार र फ्यानको सम्बन्ध कस्तो छ थाहा छैन । तर मेरो देशमा दर्शकसँग एक किसिमको आत्मीय सम्बन्ध पाउँछु । उहाँहरूको सामु गएर पहिलो पटक भेट्दा पनि घरकै सदस्यकै रुपमा ट्रिट गरेको पाउँछु । त्यो प्राप्त गर्न सकेकोमा म आफ्नो कलाप्रति सम्मान गर्छु ।

(काठमाडौंमा जारी काठमाडौं कलिङ महोत्सवमा अभिनेता राजेश हमालले दिएको अभिव्यक्तिको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?