+
+
अन्तर्वार्ता :

बीवाईडीको प्राथमिकतामा पर्छ नेपाली बजार

नेपाली ईभी उपभोक्तालाई सकेसम्म सरल मूल्यमा सहजै विभिन्न मोडेलका ईभी उपलब्ध गराउने हाम्रो सधैंको उद्देश्य हो ।

सुशील भट्टराई सुशील भट्टराई
२०८१ भदौ २३ गते १९:२६

चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बीवाईडी) ले पछिल्लो ६ वर्षदेखि नेपाली बजारमा उल्लेख्य उपस्थिति जनाइरहेको छ । नेपाली ईभी बजारमा बीवाईडीको ‘क्रेज’ व्यापक रहेको देख्न सकिन्छ । हालै सम्पन्न अटो मेला ‘नाडा अटो शो–२०२४’ मा बीवाईडीको स्टलमा देखिएको भीडभाडले पनि यसको क्रेज कति छ भन्ने देखिएको थियो । नाडा अटो शोमा बीवाईडीले आफ्नो पछिल्लो उत्पादन ‘सिलायन ०७’ सार्वजनिक गरेको थियो ।

यहीबीच बीवाईडीका एसिया प्रशान्त क्षेत्र हेर्ने महाप्रबन्धक लिउ जुएलियाङ नेपाल आएका छन् । काठमाडौं विश्वविद्यालयसँग एउटा परियोजनामा सम्झौता गर्न तथा बीवाईडीको नेपालस्थित आधिकारिक विक्रेता साइमेम्स इंकले स्थापना गर्ने ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’ (सीबीसीएफ) उद्घाटन गर्न लिउ यहाँ आएका हुन् ।

यही मेसोमा बीवाईडीको पछिल्लो व्यापार अवस्था, सफलताका रणनीति, नेपालमा बीवाईडीको व्यापार लगायत विषयमा केन्द्रित रहेर अनलाइनखबरका लागि लिउसँग सुशील भट्टराईले गरेको कुराकानी :

उत्पादन क्षमता, बिक्री, निर्यात परिमाण र व्यापार तथ्यांक हेर्दा बीवाईडी अहिले संसारकै सबैभन्दा ठूलो ईभी कम्पनी बन्न सफल भएको छ । बीवाईडीको पछिल्लो व्यापार परिदृश्य कस्तो छ ?

बीवाईड एक बहुराष्ट्रिय ईभी उत्पादक कम्पनी हो । हामीले उत्पादन गरेका ईभी अहिले संसारका ९४ देशमा कुदिरहेका छन् । यो मानेमा हामी आफूहरूलाई भाग्यमानी ठान्छौं । हामीले गत वर्ष संसारभरि ३० लाखभन्दा धेरै युनिट गाडी बेचेर नयाँ रेकर्ड कायम गरेका थियौं । यो भनेको बिक्रीका हिसाबले संसारका १० ठूला कार विक्रेता कम्पनीको सूचीमा सूचीकृत हुनु हो । चीनको कुरा गर्ने हो भने कार बिक्री र ब्रान्डका हिसाबले बीवाईडी सबैभन्दा उत्कृष्ट उत्पादक कम्पनी हो ।

संसारका अन्य धेरै ईभी कम्पनीलाई पहिला हामी पछ्याउँथ्यौं, तर अहिले उनीहरूले बीवाईडीलाई पछ्याइरहेका छन् । यो हामी र संसारभरिका हाम्रा सन्तुष्ट ग्राहकका लागि पनि खुसी र गर्वको कुरा हो ।

बीवाईडीले अपनाउने अत्याधुनिक प्रविधिका कारण स्वदेशीदेखि अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थिति बलियो देखिएको हो । अहिले ६ वटै महादेशमा बीवाईडीका गाडी कुदिरहेका छन् । बीवाईडीको उन्नत प्रविधि र विश्वभरिका उपभोक्तालाई अझै बढी पर्यावरण मैत्री र योग्य परिवहन समाधान उपलब्ध गराउने प्रतिबद्धता सदैव कायम रहने छ । हाम्रो कम्पनीको पछिल्लो व्यापार अवस्थाबाट हामी खुसी छौं र यसलाई अझै बढाउँदै लैजान हामी लागिपरेका छौं ।

विश्व ईभी बजारमा बीवाईडीले एउटा भिन्नै तरंग ल्याएको छ । पछिल्लो पटक बीवाईडीले संसारकै चर्चित अमेरिकी ईभी कम्पनी टेस्लालाई उछिनेको छ । यो कसरी सम्भव भयो ?

पहिलो कुरा, बीवाईडी एउटा यस्तो कम्पनी हो जुन उन्नत प्रविधिमा सधैं विश्वास गर्छ । बीवाईडीले संसारकै एकमात्र यस्तो कम्पनी हो जसले प्रविधिमा आधारित रहेर ब्याट्री उत्पादन हुँदै ईभी उत्पादन थालेको थियो । सन् १९९५ मा रिचार्जेबल ब्याट्री कम्पनीका रूपमा बीवाईडी स्थापना भएको थियो । त्यसको आठ वर्षपछि मात्रै हामी ईभी उत्पादनमा फड्को मारेका थियौं । हाम्रो व्यापार, उत्पादन क्षमता, पर्यावरण मैत्री उत्पादन, उन्नत प्रविधि जस्ता कारण बीवाईडी संसारकै अब्बल ईभी निर्माता बन्न सफल भएको हो । संसारका अन्य धेरै ईभी कम्पनीलाई पहिला हामी पछ्याउँथ्यौं, तर अहिले उनीहरूले बीवाईडीलाई पछ्याइरहेका छन् । यो हामी र संसारभरिका हाम्रा सन्तुष्ट ग्राहकका लागि पनि खुसी र गर्वको कुरा हो ।

बीवाईडीले सन् २०२३ मा कति युनिट गाडी बिक्री गरेको थियो र नेपालमा हालसम्म कति युनिट बिक्री गरेको छ ?

हामीले सन् २०२३ मा ३० लाख २४ हजार ४ सय १७ हजार युनिट ईभी बिक्री गरेका थियौं । यो हाम्रो लक्ष्यभन्दा धेरै नै राम्रो परिमाण हो र यो बिक्रीतर्फको हाम्रो कीर्तिमान हो । यो भनेको संसारकै सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीमा दरिनु हो । यो सफलता लगातार दोस्रो वर्षको हो । यो वर्ष २०२४ नसकिँदै हामी संसारका उत्कृष्ट १० ईभी निर्माता कम्पनीमा सूचीकृत भइसकेका छौं । सन् २०२३ डिसेम्बरमा मात्रै ३ लाख ४१ हजार ४३ युनिट बेचेका थियौं । यो भनेको ४५ प्रतिशतले बढी हो । यो २०२२ को दाँजोमा ६२ प्रतिशतको बढोत्तरी हो ।

नेपालको ईभी बजारमा अझै हिस्सा बढाउँदै जाने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा बीवाईडीको ईभी निर्यात ३ सय ३४ प्रतिशतले बढेर २ लाख ४२ हजार ७ सय ६५ युनिट पुगेको छ । यो सफलता प्राप्त गर्न विश्वभरि छरिएर रहेका हाम्रा साझेदार, बीवाईडीलाई मन पराउने सन्तुष्ट ग्राहक सबैको अमूल्य योगदान छ ।

अब नेपालको व्यापारबारे कुरा गर्दा बीवाईडीले नेपाली बजार प्रवेश गरेयता हालसम्म ५ हजार ४ सय युनिट बेचिसकेको छ । नेपाल हाम्रो प्राथमिकतामा पर्ने ईभी बजार हो ।

नेपालस्थित हाम्रो साझेदार साइमेक्स इंकको मिहिनेत र लगावबाट हामी औधी खुसी छौं । नेपालको ईभी बजारमा अझै हिस्सा बढाउँदै जाने लक्ष्य छ ।

आकार र व्यापारका हिसाबमा भन्नुपर्दा नेपालको ईभी बजार केही सानो छ, तर बीवाईडी सहित संसारका धेरै ईभी कम्पनीका उत्पादन नेपालमा उपलब्ध छन् । यो सन्दर्भमा नेपालको ईभी बजारको सम्भावनालाई कसरी हेर्नुभएको छ ?

नेपालको ईभी बजारबाट हामी एकदमै प्रभावित छौं । सन् २०१८ मा हामी नेपाल प्रवेश गरेका थियौं । त्यसयता हामीले बिस्तारै नेपाली बजारमा हाम्रो उपस्थिति बढाउँदै लगेका छौं । नेपालमा पर्यावरण मैत्री ईभी बेच्दै लाने हाम्रो लक्ष्य हो । नेपाली बजार ईभीका लागि पूर्णरूपमा तयार भइसकेको हाम्रो अनुभवले देखाएको छ ।

नेपाली बजार प्रवेश गरेको ६ वर्षमै हामीले ५ हजार ४ सय युनिट बेचेका छौं । यो भनेको त्यति नै संख्या र तिनका परिवारका सदस्य सन्तुष्ट उपभोक्ता हुन् भन्ने हाम्रो बुझाइ हो । नेपालमा हामीलाई स्थानीय साझेदारबाट एकदमै सहयोग मिलेको छ । यो मानेमा हामी औधी खुसी छौं ।

बीवाईडीले पछिल्लो पटक नेपालमा धेरै नै राम्रो व्यापार गरेको देखिन्छ । नेपालमा थप व्यापार विस्तार गर्ने कुनै विशेष योजना बनाउनुभएको छ ?

साइमेक्स इंक नेपालको हाम्रो स्थानीय साझेदार हो भने अन्य धेरै सबडिलर नेपालभरि छरिएर रहेका छन् । ती सबैसँग हामी नजिकमा रहेका सहकार्य गरिरहेका छौं ।

प्रविधि, नवीनता, मोडेल र मूल्य र उपयोगिताका हिसाबले नेपालमा बीवाईडी नै छनोट गर्नुपर्ने देखिन्छ भन्ने हाम्रो दाबी हो ।

बीवाईडीका सबै पछिल्ला उत्पादन र भविष्यमा आउने ईभी सबै नेपाली बजारमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । नेपाली ईभी उपभोक्तालाई सकेसम्म सरल मूल्यमा सहजै विभिन्न मोडेलका ईभी उपलब्ध गराउने हाम्रो सधैंको उद्देश्य हो ।

नेपालमा धेरै ब्रान्डका चिनियाँ ईभी खरिद गर्न पाइने विकल्प उपलब्ध छ । नेपालमा वीवाईडी नै छनोट गर्नुपर्ने कुनै कारण छ ?

पहिलो कुरा, बीवाईडी संसारकै नम्बर वान न्यु इनर्जी भेहिकल निर्माता कम्पनी हो । त्यसबाहेक बीवाईडी संसारकै पहिलो यस्तो कम्पनी हो जसले एक वर्षमा ८० लाख युनिट विभिन्न मोडेलका ईभी उत्पादन गरेको छ । अत्याधुनिक र नवीन प्रविधिमा आधारित रहेर पर्यावरणमैत्री ईभी उत्पादन हाम्रो प्रमुख लक्ष्य हो ।

बीवाईडीले उत्पादन गर्ने दर्जनौं ईभी ब्रान्ड नेपालीमा बजारमा हामी सरल मूल्यमा सहजै उपलब्ध गराउँछौं । यसले गर्दा नेपाली उपभोक्तालाई पनि छनोटका लागि धेरै नै विकल्प उपलब्ध रहेको छ । प्रविधि, नवीनता, मोडेल र मूल्य र उपयोगिताका हिसाबले नेपालमा बीवाईडी नै छनोट गर्नुपर्ने देखिन्छ भन्ने हाम्रो दाबी हो ।

नेपालमा बीवाईडीको प्रतिस्पर्धी ईभी ब्रान्ड कुन हो जस्तो लाग्छ ?

प्रविधि, मोडेल, नवीनता लगायत सबै कारण हेर्दा नेपालमा बीवाईडीको प्रतिस्पर्धी ईभी ब्रान्ड छ जस्तो लाग्दैन…(हाँसो) । बीवाईडीका उत्पादन बढिभन्दा बढी नेपाली उपभोक्तामाझ पुर्‍याउने हाम्रो लक्ष्य र उद्देश्यमा स्थानीय साझेदारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हाम्रो नेपाल साझेदार साइमेक्स इंकले हामीलाई सफल गराउन कुनै कसर बाँकी राख्दैन भन्ने हाम्रो विश्वास छ ।

ईभी बजारमा जारी प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

प्रतिस्पर्धा भनेको जुनसुकै क्षेत्रमा हुन्छ । ईभी बजारमा रहेको प्रतिस्पर्धालाई हामीले सहज लिएका छौं । विश्वबजारमा मात्र होइन, नेपालको ईभी बजार जहाँ पनि उस्तै हो । विशेषगरी नेपालको प्रतिस्पर्धी ईभी बजारको कुरा गर्दा यहाँ चीनका मात्र होइन, संसारका धेरै देशका ईभी ब्रान्ड उपलब्ध छन् । त्यो हिसाबले नेपालमा प्रतिस्पर्धा त कडा खालको छ, तर पनि हामी प्रतिस्पर्धामा खरो उत्रिन तयार छौं ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?