+
+

क्रिप्टो कारोबारीसँग ५० लाख असुली, हवल्दारमाथि छानबिन

‘प्रहरी प्रयोग भएको देखिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १९:२५

२३ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा काम गर्ने प्रहरी सहायक हवल्दार गणेश खड्का अहिले आफ्नै कार्यालयको हिरासतमा छन् ।

अघिपछि विभिन्न कसुरमा पक्राउ परेकाहरुलाई मुद्दा चलाएका खड्कालाई हिरासतमै राखेर परिसरको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी सहायक निरीक्षक (असई) को लिखित परीक्षामा नाम निकालेर अन्तर्वार्ताको पखाईमा रहेका उनीविरुद्ध मान्छे पक्राउ गरेर छाडेको र ५० लाख रुपैयाँ लिएको आरोपसमेत छ ।

खड्कामाथि लागेको आरोपबारे परिसरले प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार तेज तामाङ नाम गरेका व्यक्तिले हवल्दार खड्कालाई क्रिप्टोकरेन्सी कारोबारीबारे गोप्य सूचना छ भन्दै दिन्छन् । तामाङ र हवल्दार खड्काबीच करिब दुई वर्ष पहिले चिनजान भएको खुलेको छ ।

सूचना दिने बताएपछि तामाङले भनेअनुसार खड्काले काम गरेको देखिएको प्रहरी स्रोत बताउँछ । तामाङको सूचनापछि क्रिप्टो कारोबारमा संलग्न रहेको भनिएका आशिष आचार्य नाम गरेका युवकलाई १४ भदौमा पक्राउ गरेर परिसरमा ल्याइन्छ ।

ती युवक पक्राउ परेपछि तामाङले उनका आफन्तसँग सम्पर्क गर्दै घटनाबारे बताउँछन् । उनलाई छुटाउने भए प्रहरीलाई ५० लाख दिनुपर्ने बताएपछि उनको परिवार सहमत भएको देखिएको प्रहरी स्रोत बताउँछ ।

त्यसपछि आचार्यका दिदीले तामाङलाई ५० लाख रुपैयाँ बुझाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङले ५० लाख बुझेपछि १४ गते शुक्रबार पक्राउ परेका आचार्य १६ गते रिहा हुन्छन् । प्रहरी हिरासतबाट छुटेर ती युवक क्यानडा उडिसकेपछि उनकी दिदीले घटनाबारे जानकारी गराउँदै परिसरमै निवेदन दिएपछि घटनाको रहस्य बाहिर आएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले एसपी प्रजित केसीको नेतृत्वमा छानबिन समिति बनाएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका व्यक्तिलाई किन छाडियो ?

प्रहरी स्रोतका अनुसार क्रिप्टो कारोबार गर्ने आचार्य र प्रहरीलाई सूचना दिने तामाङ दुबै जना क्यानडामा बस्दै आएका व्यक्तिहरु हुन् । उनीहरु दुबै जना एकअर्काका राम्रो परिचित व्यक्ति रहेको पाइएको छ ।

दुबै जना साथी भएकाले सँगै उनीहरु काठमाडौं आएका थिए । नजिकको साथी भएकाले आचार्यको क्रिप्टो कारोबारबारे तामाङलाई राम्रो जानकारी थियो ।

नेपालमा क्रिप्टो अवैधानिक रहेको थाहा पाएपछि तामाङले नै सूचना दिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्ति किन छाडियो भन्नेबारे एक अनुसन्धान अधिकृत भन्छन्, ‘क्रिप्टो नेपालमा अवैधानिक हो । तर पक्राउ परेका आचार्य नेपालमा बसेर क्रिप्टोको कारोबार गरेका व्यक्ति होइनन् । उनी क्यानडामा बसेर क्रिप्टोमा लगानी गरेको पाइएको थियो । नेपालमा कुनै सम्बन्ध नभएपछि उनीमाथि कसुर आकर्षित हुने देखिएन । जसकारण प्रारम्भिक अनुसन्धानपछि म्याद थप नगरी उनलाई छाडिएको हो ।’

घटनाबारे अनुसन्धान भइरहेकाले अहिले सबै कुरा बताउन नमिल्ने छानबिन समितिका संयोजक अधिकारी बताउँछन् । ‘हामीले छानबिन सुरु गरेका छौं । केही नयाँ कुराहरु खुलेका छन् । अहिले अनुसन्धानकै क्रममा रहेकाले बताउन मिल्न भएन’, एसपी अधिकारीले भने ।

‘हवल्दार प्रयोग भएको देखिन्छ, कारबाही हुन्छ’

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तामाङ क्रिप्टो नेपालमा अवैध रहेको भन्नेबारे जानकार थिए र उनकै योजनामा पक्राउ परेर ५० लाख असुल्नेसम्मको काम भएको प्रहरीको भनाइ छ । तामाङको योजनामा हवल्दार खड्का प्रयोग भएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

‘यता प्रहरीलाई पक्राउ गर्न लगाउने र आफन्तसँग सम्पर्क गरेर ५० लाख बुझने काम तामाङले गरेका छन् । तामाङकै योजनाअनुसार हवल्दार खड्काले काम गरेको देखियो’, ती अधिकृतले भने ।

ती अधिकृतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट भने हवल्दार खड्काले रकम बुझेको भने भेटिएको छैन । तामाङलाई रकम बुझाउने महिलासँग च्याटमार्फत कुराकानी गरेको विवरण समेत प्रहरीले फेला पारेको छ ।

उक्त विवरणमा तामाङले आफूले रकम बुझेको स्वीकार्दै फिर्ता गर्ने बताएका छन् । त्यसका लागि बैंक खाता समेत माग गरेको भेटिएको छ । तर पैसा फिर्ता नभएपछि पीडित महिला प्रहरीकहाँ पुगेकी थिइन् ।

तामाङ समेत क्यानडा पुगिसकेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?