+

जुनियरलाई निर्देशक बनाएपछि संगीनाले दिइन् राजीनामा

२०८१ भदौ  २३ गते १९:३५ २०८१ भदौ २३ गते १९:३५
जुनियरलाई निर्देशक बनाएपछि संगीनाले दिइन् राजीनामा

२३ भदौ, काठमाडौं । ओलम्पियन संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पदबाट राजीनामा दिएकी छिन् ।

सोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनाएकोमा असन्तुष्टि जनाउँदै संगीनाले आइतबार दिउँसो सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । आफ्नो कार्यमूल्याङ्कन राम्रोसँग नभएको र जुनियरलाई पदको पगरी दिँदा आफ्नो आत्मसम्मानमा चोट पुगेको उनले बताइन् ।

तालिम तथा प्रशिक्षण विभागको निर्देशक प्रचण्ड शर्माले भदौ १८ अवकाश पाएका थिए ।

रिक्त निर्देशक पदमा २ वर्षभन्दा बढी उपनिर्देशक रहेकी संगीना पनि दाबेदार थिइन् । ओलम्पियन संगीनाले २०५२ भदौ ३० मा राखेपको स्थायी नियुक्ति लिएकी थिइन् । करातेका प्रशिक्षक प्रसाईँ भने २०५२ असोजमा नियुक्त भएका थिए । अर्का ओलम्पियन विष्णुबहादुर सिंह पनि उपनिर्देशक नै छन् ।

तर सोभितराजलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ ।

यो निर्णयले आफूमाथि अन्याय भएको संगीनाले बताइन् । ‘प्रणालीभन्दा बाहिर गएर बढुवा भयो’, उनले भनिन्, ‘आफ्नो लागिभन्दा पनि सिस्टमका लागि आफूँ त्यहाँ बसिरहनु उपयुक्त मानिन, त्यसैले मैले राजीनामा दिएको हुँ ।’

वैद्य २००४ मा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । उनले एथेन्स ओलम्पिक खेलेकी थिइन् । साथै एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर कीर्तिमान बनाएकी वैद्यले साग गेम्समा २ स्वर्ण पनि जितेकी छिन् । २०५२ साल भदौ ३० गते राखेपको स्थायी प्रशिक्षक हुँदै राखेपमा आएकी संगीनाले २०६३ पुस २१ गते बढुवा पाएकी थिइन् ।

प्रसाईं भने २०६४ साल पुस २७ गते कराँतेको वरिष्ठ प्रशिक्षकको रुपमा बढुवा भएका थिए । उनलाई निर्देशक बनाउने निर्णयले आफ्नो कामको उचित मूल्याङ्कन नभएको र आफ्नो महत्व हराएको अनुभुति भएको संगीनाले बताइन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने करारमा जागिर सुरु गर्दा संगीना भन्दा प्रसार्इं सिनियर भएको दाबी गरे । उनले भने ‘संगीनाजीभन्दा प्रसाईजी करारमा जागिर खाँदा सिनियर भएको बुझिएको छ । त्यसैले निर्देशकमा नियुक्ति दिइएको हो ।’

जबकी राखेपको नियुक्तिमा करार वा स्वयंसेवक रहँदा को सिनियर थियो भन्ने हेरिने गरिएको छैन । स्थायी नियुक्तिको आधरमा नै सिनियारिटी हेर्ने गरिएको छ ।

‘स्वयंसेवक, भोलेन्टियरको रुपमा २०४५/४६ सालबाट काम गरिरहनु भएको पदाधिकारी पनि हुनुहुन्छ । स्थायी नियुक्ति हेर्ने हो भने म उहाँ (प्रसाई) भन्दा १ महिना अगाडि आएँ, एक वर्ष अगाडि बढुवा भएँ’, संगीनाले भनिन्, ‘आफ्नो आत्मसम्मानलाई चोट पुर्‍याउनुभन्दा निस्किएको राम्रो भनेर राजीनामा दिएकी हुँ ।’

राष्ट्रिय खेलकुद परिषद संगीना वैद्य
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय