+
+

घर फर्किन लाग्दा मलेसियाको एयरपोर्टमै ढले रुपलाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते २०:०१

२३ भदौ, काठामाडौं। दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए ।

साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु देखाए ।

उनले दिदी, भिनाजु र आफन्तलाई पनि फोन गरे । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे । मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए ।

‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका (रुपालाल) को म्यासेज आउन छोड्यो ।’ .

सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुल्यो ।

भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।

शोकमा परिवार

भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने तयारीमा थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे ।

चाडबाडको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ । आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’

सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका झण्डै एक हजार नेपालीले ज्यान गुमाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?