+
+

गण्डकीका मन्त्री थापाले गरे १०० दिनको उपलब्धि सार्वजनिक, स्वास्थ्य क्षेत्र सुधारिएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते २०:०१

२३ भदौ, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । १६ जेठमा मन्त्री नियुक्त भएका थापाको १८ भदौमा १०० दिन पूरा भएको हो ।

६८ बुँदामा काम सार्वजनिक गरेका उनले शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद, स्वास्थ्य र संस्कृतिका क्षेत्रमा आफूले सुधार अभियानै थालेको बताए ।

क्यान्सर उपचार सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट उपलब्ध हुने सहायता रकमका अलावा गण्डकी प्रदेश सरकारले बिरामीलाई थप १ लाख रुपैयाँ बराबरको उपचार गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको बताए ।

बेनी, पर्वत, लमजुङ, स्याङजा, दमौली, गोरखा, मुस्ताङ र मध्यविन्दु अस्पतालको ओपोडी सेवालाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बनाइएको उनको भनाइ थियो । यसअघि अधिकांश जिल्लामा ओपिडी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म थियो ।

गर्भवतीलाई स्वास्थ्य संस्थामा आउँदा वा समुदायमै महिला सामुदायिक स्वयंसेविका मार्फत विद्युतीय प्रणालीमा दर्ता गर्ने गरी पूर्ण संस्थागत सुत्केरी प्रदेश अभियान सञ्चालनमा ल्याइएको थापाले बताए ।

क्षयरोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता विभिन्न रोगको समुदायस्तरमा परीक्षण गरी समयमै निदान गर्ने गरी विशेष स्क्रिनिङ कार्यक्रम संचालनमा गरिएको उनले बताए । यो कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेर नागरिकको मुख्य यी रोगका समस्या पहिचान गरिने उनको भनाइ छ ।

गण्डकी प्रदेश मातहतका जिल्ला र प्रदेशस्तरीय गरी १४ वटा अस्प्तालमध्ये मध्यविन्दु जिल्ला अस्पतालमा मुटु रोग सम्बन्धी इको सेवाको सुरुवात गरिएको उनले बताए ।

अस्पताललाई २५ बाट ५० बेडको बनाउन मन्त्रिपरिषदबाट निर्णय गरी नेपाल सरकारलाई अनुरोधसमेत गरिएको छ । अहिले प्रदेश मातहत २५ बेडको अस्पताललाई ५० बेडको बनाउने र मनाङ, मस्ताङमा १५ बाट ५० बनाउने निर्णय गरेर प्रक्रिया अगाडि बढेको मन्त्री थापाले बताए ।

मन्त्री थापा आइसकेपछि प्रदेश सरकार मातहतका अस्पतालहरुमा डायलायसिस सेवा लिइराखेका बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट थप गरी सेवा प्रदान गरिएको थापाले प्रमुख उपलब्धीकै रुपमा सार्वजनिक गरेका छन् ।

डायलायसिस सेवा लिने प्रतिक्षारत विरामीको संख्या बढी देखिने, दोहोरापना हुने समस्यालाई हटाउन रियल टाइम डाटा म्यानेजमेन्ट प्रविधि सुरुआत भएको थापाले बताए । यो प्रविधिबाट गण्डकी प्रदेशभरिका निजी तथा सरकारी अस्पतालमा डायलायसिस गरेका विरामीको एकिन तथ्यांकलाईसमेत देखाउने मन्त्रालयले जनाएको छ ।

मन्त्री थापाले जनताले प्रत्यक्ष महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रलाई सुधारको अभियानै सुरु गरिएको र स्वास्थ्य क्षेत्रलाईमात्रै व्यवस्थित गर्न सकियो भने प्रदेशको औचित्य पनि पुष्टि गर्न सकिने मन्त्री थापाको भनाइ थियो ।

अहिले थापाले सम्हालिरहेको मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालय एमालेका कृष्ण पाठकलाई जिम्मेवारी दिइएको छ । मन्त्री थापाले एउटै क्याबिनेटमा भएकाले भोलि पनि यो क्षेत्र सुधारका लागि आफूले मन्त्री पाठकसँग समन्वय गर्ने बताए ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई पेशागत तालिम उपलब्ध गराइएको पनि थापाले उपलब्धीका रुपमा सार्वजनिक गरे । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने काम भएको उनले बताए । व्यवसाय गर्न चाहेका व्यक्तिहरुलाई नयाँ सीपमूलक क्षेत्रको पहिचान गरि स्वरोजगार बनाउन कार्यक्रम तय गरिएको बताए ।

गण्डकी प्रदेशमा खेलकुदको गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण काम भएको पनि थापाको दाबी छ । खेलाडी कल्याण कोषको स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि बनाई अगाडि बढेको थापाले बताए ।

औद्योगिक क्षेत्रका पेशागत जनशक्तिलाई अबदेखि गण्डकी प्रदेशले सीप परीक्षणका नयाँ क्षेत्र पहिचान गर्दै प्रमाणीकरण गर्ने भएको छ ।

त्यसका लागि ४ वटा क्षेत्रको पहिचानसमेत गरिसकेको छ । सत्कार तथा आतिथ्यता, अटोमोबाइल, निर्माण तथा इन्जिनियरिङ र कृषि क्षेत्रका जनशक्तिलाई प्रमाणीकरण गरी रोजगारीमा सहजता प्रदान गर्ने कामको थालनी भएको थापाले एक नम्बर उपलब्धिमै सार्वजनिक गरेका छन् ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा स्याङ्जा फेदीखोलामा गण्डकी प्राविधिक शिक्षालय निर्माण गर्न १ सय ४० करोडको सम्झौता तयारी भएको छ । त्यसको लागि प्रशासनिक र कर्मचारी आवास निर्माण तथा सञ्चालन सहयोगका लागि आह्वान भइसकेको उनले बताए ।

सामाजिक सेवा, कृषि, नवप्रवर्तन, नेतृत्व विकास लगायतका क्षेत्रमा योगदान गरेका युवालाई क्रियाशील बनाउन काम गरिएको उनले बताए । मन्त्री थापाले सय दिनको उपलब्धी सार्वजनिक गर्दै थापाले सामाजिक मन्त्रालय जनताका जीवनसँग प्रत्यक्ष जोडिने मन्त्रालय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?