+
+

बालुवाटारमा एमाले र कांग्रेस शीर्ष नेताको बैठक, सत्तारुढ दलको बैठक बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते २०:१२

२३ भदौ, काठमाडौं । प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेताहरुका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए । एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए ।

स्रोतका अनुसार भेटमा कांग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्री ओली पनि सहमत छन् ।

‘बजेट आइसकेपछि सरकार बनेका कारण सत्तारुढ दलहरुबीच कुनै गाइडलाइन बनेको थिएन’ स्रोत भन्छ, ‘आइतबार भएको छलफलमा अब बनाउने सहमति भएको छ ।’

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी दलहरुको बैठक बोलाउने छन् । एक नेता भन्छन्, ‘हामी अरु दललाई छलफलमा बोलाउने निर्णयमा पुगेका छौं, समय प्रधानमन्त्रीले तय गर्नुहुन्छ ।’

कांग्रेस र एमालेबीच १७ असारमा सातबुुँदे सहमति भएको थियो । त्यही सहमति अनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भए । दुई दलको बहुमत भए पनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ ।

तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?