+
+

४० वर्षदेखि सारङ्गी रेटिरहेका लालबहादुर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ६:५१

२४ भदौ, देउखुरी (दाङ) । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिंड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।

‘सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,’ उनी भन्छन्,’ ।

सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौं लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उनले सुनाए ।

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिकेका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाए । ‘हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,’ उनले भने ।

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उनको भनाइ छ । उनले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसकेका छन् । दुई छोरी तुलसीपुर-१७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् ।

आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उनले बताए । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्छन् ।  समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उनी बताउँछन् ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबैभन्दा राम्रो लागेको स्मरण गरे । रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताए ।

सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उनलाई छ । ‘मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,’ उनले भने ।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उनको अनुभव छ । उनी गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्छन् ।

पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?