+
+

नेपाली सेनाको कमाण्ड आजदेखि सिग्देलले सम्हाल्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते ९:२७

२४ भदौ, काठमाडौं । नेपाली सेनाको कमाण्ड आजदेखि औपचारिक रुपमा अशोकराज सिग्देलले सम्हाल्दै छन् । उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्ने छन् । त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् ।

सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले सेनाको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् । राष्ट्रपति पौडेलले १२ भदौमा सिग्देललाई २४ भदौदेखि लागु हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए ।

नेपाली सेनामा चार दशक बिताएका शर्मा २४ साउनदेखि बिदामा बसेका थिए । जंगी अड्डाले आजै बेलुका उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको छ ।

को हुन् सिग्देल ?

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो ।

उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेरसमेत काम गरेका थिए ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । सिग्देलको जन्ममितिमा पनि विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?