+

पल्सर स्पोर्टस् अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ५ जना

२०८१ भदौ  २४ गते १३:५४ २०८१ भदौ २४ गते १३:५४
पल्सर स्पोर्टस् अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ५ जना

२४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च  (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मनोनयन गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

चारवटै विधामा उत्कृष्ट पाँच/पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

मनोनयनमा क्रिकेटको वर्चस्व जस्तै छ ।

वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराँते) र सुवास तामाङ (गल्फ) परेका छन्।

यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन् ।

मनोनयनमा परेका पाँच जना मध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ ।

गत वर्ष पुरुषतर्फ एथ्लेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथ्लेटिक्सकी राजपुरा पछाई, युवातर्फ क्रिकेटका देव खनाल र प्रशिक्षकतर्फ एथ्लेटिक्सका चन्द्र गुरुङ अवार्ड जितेका थिए ।

स्पोर्टस् अवार्ड यही भदौ २८ गते शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा आयोजना हुँदैछ ।

यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दैछ । एनएसजेएफ एआईपीएस एसियाको सदस्य हो ।

पिपुल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुल्सन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

इ-सेवाबाट भोटिङ र नेपाल खेलकुद पत्रकार मञ्चको NSJF Pulsar Sports Award तथा मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेज Pulsar Nepal बाट भोटिङ जारी छ ।

स्पोर्टस् अवार्डका अन्य विधा पारा एथलेट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा भवनमा हुनेछ ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ ।

यस्तै पिपुल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्रदान गरिनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च नेपाली क्रिकेट पल्सर स्पोर्टस अवार्ड पल्सर स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय