+
+

हुण्डी कारोबार गरेको आरोपमा सिंगापुर प्रहरीका पाँच नेपालीलाई जेल सजाय

अवकाश पाएर नेपाल फर्किएका एक जना फरार सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:०९

२४ भदौ, काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ ।

उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा दिकबहादुर गुरुङ (३२), गंगाप्रसाद राई (४३), अशोककुमार थापा मगर (३९), मिङ्मार शर्पा (४४) र सीताराम तामाङ (४०) छन् ।

उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ ।गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ ।

अशोककुमारमाथि १ लाख ३ हजार र मिङ्मारमाथि ४ लाख ७२ हजार रुपैयाँ अवैध रुपमा पठाएको आरोप छ । अशोकलाई चार हप्ता र मिङ्मारलाई ७ हप्ता जेल सजाय भएको छ ।

सीताराममाथि २८ लाख ६० हजार रुपैयाँ रुपैयाँ पठाएको आरोप छ । उनीहरुलाई सिंगापुरको भुक्तानी सेवा ऐन (पीएसए) अनुसार दोषी ठहर गर्दै ५ सेप्टेम्बरमा जेल सजाय भएको द स्ट्रेट्स टाइम्सले लेखेको छ ।

पत्रिकाका अनुसार, सिंगापुर प्रहरीले पाँच जनामाथि अवैध कारोबारको आरोप लागेलगत्तै फ्रन्टलाइन ड्यूटीबाट हटाएको थियो । जेल सजाय भएलगत्तै आन्तरिक कारबाही पनि सुरु हुने सिंगापुर प्रहरी फोर्सका प्रवक्ताले बताएका छन् ।

द स्ट्रेट्स टाइम्सका अनुसार, प्रतीक थापा (४१) माथि पनि यस्तै किमिसको आरोपमा अनुसन्धान भइरहेको छ । तर, उनी हालसम्म फरार छन् । उनी सन् २००४ मा सिंगापुर प्रहरीमा जोडिएका थिए भने फेब्रुअरी २०२२ मा अवकाश पाएर नेपाल फर्किएका थिए ।

अभियोजक ब्रिएन तानले अदालतमा बताएअनुसार, प्रतीकले गोर्खा रेजिमेन्टका अधिकारीहरुका लागि सन् २०२१ जुनको आसपासबाट अवैध रकम ट्रान्सफर सेवा क्याम्पबाटै सुरु गरेका थिए ।

अदालतमा प्रस्तुत विवरणअनुसार, पछि उनले गंगा र दिकलाई आफ्नो काममा सामेल गराएका थिए । उनीहरुले रकम संकलन गर्न सीतरामलाई पनि प्रयोग गरेका थिए ।

‘सिंगापुरमा पैसा लिएपछि प्रतीकसँग मोबाइलमा सम्पर्क हुने रहेछ, त्यसपछि उनले नेपालमा त्यही बराबरको रुपैयाँ रकम पठाउने व्यक्तिको परिवारलाई दिने गरेका थिए’, अभियोजनकर्ताहरुले भनेका छन् । सिंगापुर प्रहरीले मार्च २०२३ मा गोर्खा रेजिमेन्ट क्याम्पमा छापा मारेर उनीहरुमाथि छानबिन थालेको थियो ।

नेपाली नागरिकहरु भारत, बेलायती सेनासँगै सिंगापुर प्रहरीमा पनि भर्ती भएर काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?